भोलि २०७५ श्रावण ११ गते खग्रास चन्द्रग्रहण लाग्दै

भोलि २०७५ श्रावण ११ गते खग्रास चन्द्रग्रहण लाग्दै

lunareclipse

यसवर्ष लामो खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । २०७५ श्रावण ११ गते (तदनुसार २७ /२८ जुलाई २०१८) शुक्रबार खग्रास चन्द्रग्रहण लाग्ने छन् । खग्रास चन्द्रग्रहणमा चन्द्रमाको पूरा भाग ग्रसित अथवा कालो हुने गर्दछ । यस्तो अवस्थामा सूर्य पृथ्वी र चन्द्रमा एउटै सरल रेखमा पर्ने गर्दछन् । पृथ्वीको छायाँमा चन्द्रमा प्रवेश गरी चन्द्रमाको शुक्लत्व छेकिएको अवस्थामा चन्द्रग्रहण हुने गर्दछ ।

श्रावण ११ गते शुक्रबार राति १२।९ बजे पूर्व दिशामा स्पर्श हुन्छ । यसैगरी रातिको १।१५ बजे सम्मिलन हुन्छ भने २।८ मिनेटमा ग्रहणको मध्य अवस्था हुनेछ । राति २।५९मा उन्मीलन हुन्छ भने विहानका राति ४।६ बजे ग्रहण मोक्ष अर्थात् सकिनेछ । यसरी समग्रमा ३ घण्टा ५७ मिनेटको लामो चन्द्रग्रहण रहने छ ।

यस्तो समय दान पुण्यका लागि अति उत्तम मानिएको छ । स्मृति, पुराणले पनि जप र दानका लागि ग्रहणको समय उत्तम हो भन्ने चर्चा गरेका छन् । स्नान, जप, दानका लागि ग्रहण उत्तम समय हो भन्दै भास्कराचार्यले पनि स्मृति पुराणको वचनलाई यसरी स्मरण गरेका छन् :

बहुफलं जपदान हुतादिके स्मृतिपुराणविदः प्रवदन्ति हि । 
सदुपयोगि जने सचमत्कृति ग्रहणमिन्द्विनयोः कथयाम्यतः ।। (सिद्धान्तशिरोमणि, चन्द्रग्रहणधिकार, श्लो १)

अर्थात् जप, दान,यज्ञाहुति आदि गर्नका लागि उत्तम समय ग्रहणको अवसर हो । ग्रहणको समयलाई सदुपयोग गर्नु नै उचित हुन्छ । यो आकाशमा देखिने एक चमत्कृति नै हो ।

ग्रहणको सुतक र वार्नु पर्ने कार्य

ग्रहण लागेको समयमा भोजन गर्न, सुत्न, मैथुनादि समागम, शरीरमा तेल घस्न, शृंगार, शौच, बध, अरुलाई कष्टहुने कार्य बर्जित रहन्छन् ।
निद्रायां जायते व्याधिर्मूत्रे दारिद्र्यमाप्नुयात् । पुरीषे कृमियोनिश्च मैथुने ग्रामसुकरः । 
आभ्यञ्जने भवेत् कुष्टिर्भोजने स्यादधोगतिः । बन्धने च भवेत् सर्पो बधे च नरकं व्रजेत् ।।
अर्थात् ग्रहण लागेका अवस्थामा सुते रोगल लाग्न सक्छ, शौचादि कार्य गर्नाले दारिद्र्य हुन्छ । दिशा वस्नाले कृमियोनि प्राप्त हुन्छ, मैथुनादि संगम गर्नाले अर्को जन्ममा सुगुरको योनि प्राप्त हुन्छ, शरीरमा तेल लगाउनाले वा शृंगार गर्नाले कुष्टरोग लाग्न सक्छ, भोजन गर्नाले अवनति हुन्छ । कसैलाई बन्धनमा राख्नाले सर्पको योनि प्राप्त हुन्छ भने काटमार आदि बध गर्दा नरकको यातना भोग गर्नुपर्छ भनी उल्लेख गरिएको छ ।

कस्ता कार्य ग्रहणमा गर्नु शुभ हुन्छ ?

ग्रहण लागेको समयका जप, दान, मन्त्रसिद्धि जस्ता कार्य गर्नु विशेष शुभ मानिएको छ । विद्यार्थीले अध्ययनको कार्यलाई निरन्तरता दिनु नै उचित हुन्छ । विद्या साधनाका निम्ति पनि यो उत्कृष्ट समय हो । दान लिनु भन्दा पनि दान दिनु उचित हुन्छ भनी शास्त्रमा उल्लेख पाइन्छ । यो समयमा गरिएको दानले अक्षय पुण्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । यसैगरी ग्रहणमा स्नान पनि विशेष शुभकरी मानिन्छ । ग्रहण स्नान गर्नाले रोगव्याधि हटेर जान्छन् भनिएको छ । ग्रहण लागेको समयमा सबै कुरा अपवित्र हुन्छन् । त्यसैले कुश साथमा राख्नाले अथवा कुश पानीले स्नान गर्नाले ग्रहणजन्य दोषबाट निवृत्त हुन सकिन्छ ।

ग्रहणफल

मेषः सुख ।  वृषः माननाश ।  मिथुनः कष्ट ।

कर्कटः स्त्रीपीडा ।  सिंहः सुख ।  कन्याः चिन्ता ।

तुलाः व्यथा । वृश्चिकः श्रीप्राप्ति ।  धनुः क्षति ।

मकरः घात ।   कुम्भः व्यय अर्थात् खर्च बढ्ने हुन्छ ।  मीनः राशिलाई लाभ हुने छ ।

ग्रहण सामान्य खगोलीय प्रक्रिया हो । विशेषतः पृथ्वीको छायामा चन्द्रमा प्रवेश गरी आफ्नो प्रकाशलाई अवरुद्ध गराएको अवस्था नै चनद्र ग्रहण हो । यो अवस्था पूर्णिमाको दिन मात्र सम्भव हुन्छ । सूर्य, पृथ्वी र चन्द्रमा एउटै सरल रेखामा परेका बेला मात्र चन्द्र ग्रहण लाग्ने गर्दछ । यस्तो अवस्था सबै पूर्णिमामा नहुने भएकाले प्रत्येक पूर्णिमामा चन्द्र ग्रहण नलागेको हो । शास्त्रले ग्रहणलाई विकारका रूपमा व्याख्या गरेको छ । विशेषतः ग्रहण लागेको समयमा पृथ्वीमा विकार उत्पन्न हुने भएकाले स्नान, जपादि कर्म गर्नु भनी शास्त्रले निर्देश गरेको छ । यसैगरी व्यक्तिको प्रकृति अनुसार ग्रहणको दर्शन पनि शुभाशुभ रहने भएकाले कुनै राशिलाई ग्रहण हेर्नु शुभ मानिन्छ त कुनैलाई अशुभ

मानिएको छ । प्रकृतिको अनुपम लीलाको सुन्दर अनुभूति हुने ग्रहण आफूमै एक रमणीय पक्ष हो । वेदले पनि ग्रहणको चर्चा गरेको छ । ग्रहण पूर्वीय ज्ञानको उपज हो । यसको सही अर्थ र रहस्य हजारौ वर्ष पहिले नै हाम्रा ऋषिमुनिहरूले पत्ता लगाइसकेका थिए । त्यसैले यस्ता गूढतम रहस्यका विषयलाई थप पुष्टि थर्दै पूर्वीय ज्ञानको धरोहरलाई फैलाउनु आवश्यक देखिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ