पुल डिजाइनमै २२ महिना बित्यो

पुल डिजाइनमै २२ महिना बित्यो

bridge

अश्विन दानी, गोरखा । गोरखाको १० किलोमा जिल्ला प्राविधिक कार्यालय गोरखाले बनाउन लागेकोे दरौँदी नदी माथिको मोटरवेल पुल डिजाईन गर्दा नै २२ महिना बितेको छ

दुई बर्ष भित्र निर्माण गरिसक्नु पर्ने भएपनि २२ महिनामा डिजाईन मात्रै सम्पन्न भएको सो कार्यालयले जनाएको छ । उक्त पुलको काम २०७३ असार महिनामा सम्झौता भएको थियो । कार्यालयको सो योजना २०७५ असार मसान्तसम्म सम्पन्न गर्ने गरी पुलको एलाईट एडभेन्चर धनथन जेभि कम्पनी भरतपुरले सम्झौता गरेको प्राविधिक कार्यालय गोरखाका सिनियर जिल्ला ईन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए ।

पुरानो डिजाईन अनुसार कम्पनीले काम गर्न नसकेकाले डिजाईन परिवर्तन गर्न समय लागेको श्रेष्ठले बताए । ‘पहिलो डिजाईन अनुसार कम्पनीले काम गर्न सकेन’ श्रेष्ठले भने ‘पुलको नक्सा डिजाईन पुन गर्नुपर्ने भएकाले पुलको काम ढिलो भएको हो । अहिले दोस्रो पटकको नक्सा डिजाईन भईसक्यो अब तुरुन्तै काम सुरु हुन्छ ।’ पुल निर्माणका लागि चार करोड छ लाख ६५ हजार सात सय ६३ रुपैँया बजेट विनियोजन भएको श्रेष्ठले बताए ।

दुई बर्ष भित्र पुल बनिसक्नु पर्ने भएपनि अहिलेसम्म नक्सा बनाउने काममै सम्बन्धित निकायका कर्मचारीहरु व्यस्त भएको देखिन्छ । प्राविधिक कार्यालय गोरखाले पहिलो डिजाईन अनुसार ठेकेदारले काम गर्न नसकेको बताए पनि ठेक्का लिएको कम्पनीले भने पहिलो नक्सा पुल बनाउने ठाउँ अनुसार अनुकुल नभएको बताउँछन् ।

‘पुल बन्ने ठाउाँ अनुकुल पहिलेको नक्सा थिएन’ ठेकेदार रामराज पौडेल भन्छन् ‘डिजाईनिङ गलत भएकाले पुनः डिजाईन गरिएकोे छ । नक्सा हात पर्ने बित्तिकै काम सुरु गरिहाल्छौ ।’ डिजाईनका लागि लामो समय खर्च भएकाले निर्धारित समयभित्र काम गर्न नसकिएको पौडेलले जनाए ।

‘पुलको काम अब छिटै नै सुरु हुने प्रक्रियामा छ’ श्रेष्ठ भन्छन् ‘ठेकेदारको कारण काममा ढिलाई भएको रहेछ भने उसले कानुन अनुसारको हर्जना तिर्नु पर्छ । यदि प्राविधिक कारणले काममा ढिलाई भएको रहेछ भने कामको म्याद थप गरिन्छ ।’ कुनैपनि योजनाको स्टमेट संकलन गर्दा खटिने कर्मचारीका कारण स्टेटमेन्ट गलत भएमा उनीहरुलाई कारवाही गर्ने प्रावधान छ ।

पुलको डिजाईन बिग्रिएर पुनः डिजाईन गर्न थालेको सुनेपनि सम्बन्धित कागजात आफुले नहेरेको जिल्ला समन्वय अधिकारी नारायण आचार्यले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ