अर्थतन्त्र माफियाको हातमा रहेकाले मुलुक कमजोरः गृहमन्त्री थापा

अर्थतन्त्र माफियाको हातमा रहेकाले मुलुक कमजोरः गृहमन्त्री थापा

Ram bahadur thapa

पोखरा । गृहमन्त्री रामबहादुर थापाले देशको अर्थतन्त्र तस्करको हातमा रहेकाले मुलुक कमजोर बनेको बताएका छन् । माफिया, ठेकेदार, तस्कर र एकाधिकार (सिन्डीकेट) वालाको हातमा अर्थतन्त्र पुग्दा अनियमितता, कर÷राजस्व नउठेकाले मुलुक कमजोर भएको उनको भनाई छ ।

प्रेस सेन्टर कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले सुशासन, विकास, समृद्धि र शान्ति सुरक्षा कमजोर हुन नदिन यस्ता प्रवृत्तिको अन्त्य हुन अपरिहार्य रहेको बताए । उनले सरकारले आवश्यक कदम चालेको दाबी गर्दै देशको आवश्यकता र जनताको जनादेश अनुसार नै विकास र समृद्धि गर्न विकासविरोधी तत्वहरूको नियन्त्रण र निस्तेज गरेर सरकार अगाडि बढ्ने बताए ।

गृहमन्त्री थापाले सुशासन कायम गर्न भ्रष्टाचार, सिन्डीकेट सहितका विकास विरोधी तत्वहरूको निर्मुल गरेर सरकार अगाडि बढ्ने जानकारी दिए । ‘समृद्धिको बाधक भनेको एकाधिकार प्रणाली हो, राजस्व छलि गर्नेको हातमा देशको अर्थतन्त्र छ । सडक मात्र होइन, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा पनि सिन्डिकेट छ, यसलाई जरैदेखि अन्त्य गर्नुपर्छ।’ मन्त्री थापाले भने– ‘हिजोको प्रदेशस्तरीय सुरक्षा गोष्ठीले पनि तस्करीहरूको हैकम अन्त्य गर्ने निष्कर्ष निकालेको छ । लागू औषध, भ्रष्टाचार, एकाधिकार, गुन्डागर्दी, राजनीतिक आवरणमा उच्छृंखल क्रियाकलाप गर्ने समूह अहिलेको मुख्य चुनौति रहेकोबारे छलफल भयो ।’

खारेज गरिसकेको यातायातमा सिन्डीकेटवाला संस्थाको खातामा रहेको पैसा अवैध भएकाले त्यो सरकारको हुने उनले बताए । यसकालागि एउटा कार्यदल बनेको र त्यसको सिफारीश अनुसार उक्त रकम प्रयोग गर्ने उनको भनाई थियो ।

उनले दरिद्रता र पछौटेपनले गर्दा नेपालमा विकास हुन नसकेको उल्लेख गर्दै युवा जनशक्ति पलायन हुँदा पनि कठिनाई भएको बताए । आफ्नो अवको काम विभिन्न प्रकारका सामाजिक हिंसा रोक्नु रहेको उनको भनाई छ । महिला हिंसा, बलात्कारदेखि, गुन्डागर्दी गर्ने सबैलाई सूची बनाएर कारवाही गरिने उनले बताए ।

हिंसा भड्काउने कसैलाई पनि नछोडिने उनले बताए। ‘विभिन्न आवरणमा क्षेत्रीय तथा साम्प्रादायिक नारा दिएर हिंसा भड्काउने दुष्प्रयास भइरहेको छ’ उनले भने ‘संविधान विरोधी काम गर्ने र देश र विखन्डन गर्ने कसैलाई छुट छैन, सरकारले त्यस्ता तत्वलाई समाप्त पार्नेछ।’ देशमा गुन्डाराजको अन्त्यका लागि गुन्डाको ब्ल्याक लिस्ट तयार भएको भन्दै गुन्डाको ‘सफाया’ गरिने बताए ।

यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भारतीय जनता पार्टीका सांसद कृति आजादको विखण्डनकारी टिप्पणी झुटो भन्दै सरकारले आपत्ति जनाएको उनले बताए । मिथिला भारतमा फर्काउनुपर्ने भन्दै आजादले टुईट गरेका थिए ।

मोदीको जनकपुर भ्रमणको क्रममा आजादले जनकपुरलाई भारतमा गाभ्नुपर्ने अभिव्यक्ति दिएका थिए । गृहमन्त्री थापाले भने सरकारले कडा आपत्ति जनाएको प्रतिक्रिया दिए।

मोदीको नेपाल भ्रमणले दुई देश बीचका असमझदारी हट्ने र विकास निर्माणको ढोका खुल्ने उनले बताए। यस्तै, अर्को छिमेकी देश चीनसँग पनि सम्बन्ध सुधार गरेर अगाडि बढिने उनले जानकारी दिए । चीनसँग थप सम्बन्ध विस्तार गर्न प्रधानमन्त्री केपी शर्मा ओली चीन जाने र चिनियाँ राष्ट्रपतिले पनि नेपाल भ्रमणमा बोलाउने उनले जानकारी दिए।

फरक, प्रसंगमा गृहमन्त्री बादलले बाम एकताको सबै आधार तय भएको र छिट्टै नै मिति तोकिने जानकारी दिए। विकासको लागि स्थायित्व र स्थायित्वका लागि पार्टी एकता अहिलेको अपरिहार्यता रहेकाले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुन लागेको उनले बताए । ‘

‘पार्टी एकताको पूर्वाधार तथा वैचारिक, राजनीतिक र संगठनात्मक आधार तय भईसकेको छ, हामी छिटै नै दुई पार्टी (एमाले र माओवादी केन्द्र) एकताको मिति घोषणा गर्नेछौँ।’ उनले भने, ‘यस एकताले मुलुककै ठूलो जनादेश प्राप्त ठूलो पार्टी निर्माण हुनेछ र मुलुकको विकास र समृद्धिलाई अगाडि बढाउनेछ।’

देशको आवस्यकता र जनताको जनादेश बिकास र समृद्धि रहेको उनले बताए । सुशासन अभावमा देश पछि परेको उनको टिप्पणी थियो । आगामी बजेटबाट विकासको योजना ल्याउने तयारी भइरहेको उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds