बाग्लुङ बलेवामा २६ वर्षपछि प्लेन, ९ गतेबाट व्यवसायिक उडान

बाग्लुङ बलेवामा २६ वर्षपछि प्लेन, ९ गतेबाट व्यवसायिक उडान

img0037-1932018101350

पोखरा, ५ चैत । व्यवसायिक उडान गर्ने लक्ष्यसहित २६ वर्षपछि बागलुङको बलेवा विमानस्थलमा जहाज अवतरण हुँदा स्थानीयदेखि जनप्रतिनिधिसम्म दंग छन् ।

पोखरा-बागलुङ सडक मार्ग बनेपछि २०४८ सालमा बन्द भएको बलेवा विमानस्थलबाट फेरि व्यवसायिक उडान सुरु हुने भएपछि बागलुङवासीमा खुसी छाएको हो ।

तारा एयरलाइन्सको १९ सिटको जहाजले सोमबार उडान परीक्षण गरेको छ । उडानको परीक्षण गर्न तीन जना पाइलट, एयर होस्टेज, इन्जिनियरसहित १४ जना प्राविधिक टोलीसँगै नागरिक उडड्यन प्राधिकरणका प्रतिनिधि बलेवा विमानस्थल पुगेका थिए ।

तारा इयरलाइन्सका ३ जना पाइलटले तीन पटक नै परीक्षण गरेपछि, ‘नियमित उडान भर्न सकिने बताएका छन् ।’

१/२ महिनाअघि नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक इन्दुराज अधिकारीको नेतृत्वमा नागरिक उड्डयन प्राधिकरण पोखराका इन्जिनियर इन्द्रराज ओझा र सञ्चार तथा उड्डयन सहायक विभागका इन्जिनियर ताराकान्त शाह बुधबार स्थलगत निरीक्षणमा पुगेर केही मर्मत गर्ने हो भने नियमित उडान भर्न सकिने सुझाव दिएका थिए ।

त्यसैअनुरुप सोमबार प्राविधिक टोलीसहित बलेवा विमानस्थलबाट उडान परीक्षण गरिएको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले बताए ।

‘विमानस्थलको तीनै दिशाबाट पोखरा-बलेवा उडान परीक्षण भयो,’ मेयर पौडेलले भने, ‘९ गतेबाट बलेवा-काठमाडौं व्यावसायिक उडान हुने भएको छ ।’

तारा, नेपाल एयरलाइन्सहित नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि तीनै पक्षले परीक्षणबाट ९ गतेबाट उडान भर्ने जनाएका छन् । ‘तारा एयरलाइन्सले १ दिन र नेपाल एयरलाइन्सले एक दिन गरी अहिलेलाई हप्ताको दुई दिन बलेवादेखि पोखरासम्म उडान हुनेछ,’ मेयर पौडेलले भने, ‘विमानस्थल पुरानो भएकाले धावनमार्गसहित लेबल मिलाउने र केही रुप अझै काट्नुपर्ने सुझाव आएको छ ।’

बागलुङ नगरपालिकाकै पहलमा बलेवा-काठमाडौं उडान हुने भएको हो । बागलुङ नगरपालिकाका मेयर र वडाध्यक्ष लगायत जनप्रतिनिधि, बागलुङका प्रतिनिधि सभा सदस्य डा. सूर्य पाठक र स्थानीयले बलेवा विमानस्थलमा अवतरण भएको जहाजका टिम र प्राविधिक टोलीलाई स्वागत गरे ।

प्रतिनिधि सभा सदस्य डा. पाठकले बलेवा विमानस्थलमा व्यावसायिक उडान निरन्तर चल्ने र यसले बागलुङका पर्यटकीय क्षेत्र तथा मुस्ताङसम्म पुग्न सहयोग प्रदान गर्ने बताए ।

बन्द विमानस्थल सञ्चालन गर्न थुप्रै पटक पहल भए पनि बलेवाको मैदानमा जहाज उड्न सकेको थिएन । अहिले स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि फेरि विमानस्थलमा जहाज उड्ने भएपछि स्थानीय खुसी भएका छन् ।

बागलुङ नगरपालिकाका मेयर जनकराजले विमानस्थल सञ्चालनमा चासोमात्रै दिएनन् नागरिक उड्डयन प्राधिकरणमा पुगेर विमास्थल सञ्चालनमा ल्याउने सहमति नै गराएका थिए । त्यसैअनुरुप माघ ११ गते विमानस्थल निरीक्षण गर्न पुगेको प्राविधिक टोलीले सामान्य मर्मत, आसपासका रुख र उडड्यन उपकरणहरु नयाँ राख्ने हो भने १/२ महिनामै बलेवा जिमानस्थल सञ्चालन गर्न सकिने बताएका थिए ।

बलेवा विमानस्थल पहाडी उडानका लागि महत्वपूर्ण गन्तव्य मानिएको छ । यही विमानस्थल हुँदै बागलुङ कालिका, ढोरपाटन, म्याग्दी, मुस्ताङ र पश्चिमका रोल्पा रुकुम, प्यूठान, गुल्मीसमेत पुग्न सकिने भएकाले आन्तरिक तथा बाहृय पर्यटकलाई सहयोगी बन्ने मेयर जनकको भनाइ छ ।

बलेवा विमानस्थलबाट पोखरा, भैरहवा, काठमाडौं र जोमसोम लगायतका सहरमा जहाजले उडान भर्थे । जहाडले उडान बन्द गरेपछि युवाको खेलमैदान र गौचरण बन्दै आएको थियो, बलेवा विमानस्थल ।

जहाज त उड्छउड्छ : मेयर जनकराज

नगरपालिकाले आर्थिक भार व्यहोरेर भए पनि जहाज उडाएरै छाड्ने मेयर जनकराजले बताएका छन् ।

बलेवा विमानस्थलबाट जहाज उडाउन यात्रुको सुनिश्चित नै गर्नु परे थप आर्थिक व्ययभार व्यहोर्न पनि तयार रहेको सहमति पत्रमा नगरपालिकाले हस्ताक्षर नै गरेको उनले बताए ।

नागरिक उड्डयन प्राधिकरणको पहलमा वायु सेवा निगम, निजी जहाज कम्पनी, बागलुङ नगरपालिका र पूर्व सांसदको संयुक्त वैठकमा ४ बुँदे सहमति भएको मेयर जनकराज पौडेलले बताए ।

‘पुसको २१ गते बसेको नगरपालिकाको कार्यपालिका वैठकले थप आर्थिक व्यवभार व्यहोर्नु पर्ने अवस्था आए पनि नगरपालिकाले थप व्यहोर्ने निर्णय नै गरेका छौं,’ मेयर जनकराजले भने, ‘जहाज कम्पनीले यात्रु हुँदैनन् कि भन्ने शंका गरेकाले निर्णय नै गरेका हौं ।’

हप्ताको २ जहाज उडान गर्न १९ सिटे जहाजका लागि १२ सिटको ग्यारेन्टी नगरपालिकाले गरेकेा मेयरले सुनाए । ‘विमानस्थल चल्छ भन्ने कुरामा हामी विश्वस्त छौं,’ उनले भने, ‘यो विमानस्थल बागलुङको प्रतिष्ठासँग पनि जोडिएको छ । आम नागरिकको चाहाना पनि हो ।’

यो विमानस्थल हुँदै चीन र भारत जोड्ने कालिगण्डकी कोरिडोर गएको छ । मुस्ताङ र पोखराको आपतकालिन विकल्पसमेत बलेवा विमानस्थल बन्ने सक्ने मयरको दाबी छ । केही समयका लागि जहाजका यात्रुलाई बागलुङ बजारदेखि विमानस्थलसम्म पुर्‍याउने निःशुल्क सुविधासमेत नगरपालिकाले गर्ने उनले बताए ।

अहिले विमानस्थलसम्म पुग्ने सडक पनि स्तरोन्नति गर्ने, अशक्त, अपांग तथा सुत्केरी र विरामीका लागि अत्यावश्यक तथा अहिले बागलुङको चाहाना पनि भएकाले बलेवा विमानस्थलको विकल्प नरहेको पौडेलले बताए ।

चैते दशैं मेलालाई लक्षित गर्दै व्यावसायिक उडान

प्रशिद्ध बागलुङ कालिका मन्दिर रहेको बागलुङमा ४ सय वर्षभन्दा पहिलेदेखि चैते दशैं मेला मनाउन थालिएको किम्बदन्ती स्थानीय सुनाउँछन् ।

यही चैते दशैं मेलालाई नै लक्षित गरी यो विमानस्थल सञ्चालनमा ल्याउन पहल गरिएको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले बताए ।

बागलुङ नगरपालिका-१४ स्थित बलेवा विमानस्थलबाट बागलुङ कालिका र त्यहाँ लाग्ने ऐतिहासिक चैते दशैंमम्म दर्शक र दर्शनार्थी पुर्‍याउने गरी ९ गतेबाट व्यावसायिक उडान सुरु गर्न लागिएको मेयर पौडेल बताए ।

‘ऐतिहासिक चैते दसैं मेला ११ बतेबाट सुरु हुन्छ, ९ गतेबाट व्यावसायिक उडान सुरु हुने भएको छ,’ मेयर पौडेलले भने ।

प्राधिकरणका पदाधिकारी, विमान कम्पनीका सञ्चालक, बागलुङ नगरपालिकाका प्रतिनिधि, बागलुङका पूर्वसासंदलगायत सरोकारवाला पक्षबीच पुस अन्तिममा चैत पहिलो साताभित्रै बलेवा विमानस्थल सञ्चालनमा ल्याउने सहमति नै भएको थियो ।

– अमृत सुवेदी / अनलाइन खबरबाट

तस्विर: कान्तिपुर डेलीबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds