पोखराको ‘बालमन्दिर’ प्रदेशकै उत्कृष्ट विद्यालय, पायो १ लाख (के कारणले पायो ? हेर्नुहोस्)

पोखराको ‘बालमन्दिर’ प्रदेशकै उत्कृष्ट विद्यालय, पायो १ लाख (के कारणले पायो ? हेर्नुहोस्)

Balmandir

पोखरा — यहाँको बालमन्दिर माध्यमिक विद्यालय यो वर्ष प्रदेशकै उत्कृष्ट ठहरिएको छ । त्यसबापत सरकारले ३८ औं राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा १ लाख रुपैयाँ दिएको छ ।

चार नम्बर प्रदेशमा नै उत्कृष्ट भएर उक्त विद्यालयले सामुदायिक विद्यालयको गरिमा बढाउने काम गरेको जिल्ला शिक्षा अधिकारी नरेन्द्रराज पौडेलले बताए । शिक्षकहरूको परिश्रम, विद्यार्थीको मेहनत र अभिभावकको चासोले गर्दा उक्त विद्यालयले शैक्षिक गुणस्तर बढाउन सकेको उनले बताए । ‘उक्त विद्यालयको व्यवस्थापन निकै प्रभावकारी छ,’ उनले भने, ‘हामीले पनि अन्य विद्यालयलाई बालमन्दिरजस्तो बन्नुपर्छ भन्दै आएका छौं ।’

उक्त विद्यालय २०७० सालमा पनि पश्चिमाञ्चलमै उत्कृष्ट भई उति नै राशिको पुरस्कार पाएको थियो । विद्यार्थीलाई एसएलसीमा सहभागी गराएको पहिलो वर्ष २०६२ मा नै शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको यो विद्यालयको पठनपाठन गुणस्तरीय मानिएको हो । विद्यालयले २०७३ सालमा कक्षा १० को परीक्षामा चार नम्बर प्रदेशमा नै सामुदायिकतर्फ उत्कृष्ट नतिजाल्याएको थियो ।

विद्यालयमा शिशुदेखि १० कक्षासम्म ५ सय ४७ छात्रा र ५ सय ३१ छात्र गरी १ हजार ७८ विद्यार्थी अध्ययनरत भएको शिक्षकहरूले बताए । ११ र १२ कक्षामा पढाइ हुने शिक्षा र व्यवस्थापन संकायमा १ सय १८ छात्रा र १ सय ५१ छात्र छन । विद्यालयमा ८ स्थायी, ११ करार र ३९ निजी स्रोतका शिक्षक छन् । प्रधानाध्यापक सुशील बस्नेतले अध्ययनरत मध्ये २ सय हाराहारी टुहुरा विद्यार्थी रहेको बताए ।

विपन्न विद्यार्थी पढाउन अग्रसर भए पनि आफूहरूले माग गरेअनुसारको दरबन्दी र भवन निर्माणका लागि पर्याप्त बजेट प्राप्त गर्न नसकेको बस्नेतले जानकारी दिए । विद्यालयले एसएलसी र एसईई परीक्षामा राम्रो नतिजा ल्याउनुमा शिक्षक, विद्यार्थीको मेहनत र विद्यालय व्यवस्थापन समितिको रेखदेख र सल्लाह सुझाव मुख्य रहेको उनले सुनाए । ‘पढाइलाई कसरी प्रभावकारी बनाउने भन्ने नै हाम्रो ध्येय हो,’ उनले भने, ‘सबैको मेहनतले गर्दा राम्रो नतिजा हात पार्न सकेका हौं ।’

अंग्रेजीमा पढाइ हुने विद्यालयका विद्यार्थीले पढाइ शुल्कबापत पैसा तिर्नु पर्दैन । एकपटक भर्ना हुन ५ सय रुपैयाँ तिरेपछि पुग्छ । विपन्न र अभिभावकविहीन विद्यार्थीको पढाइमा सहयोग पुर्‍याउन आफूहरूले जोड दिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवेन्द्रकिशोर बास्तोलाले बताए । ‘विद्यालयलाई कसरी विपन्न विद्यार्थीमैत्री बनाउन सकिन्छ भन्ने हाम्रो ध्यान छ,’ उनले भने, ‘त्यसैले अभिभावक गुमाएर विपन्न विद्यार्थी हाम्रो पहिलो प्राथमिकतामा पर्छन् ।’

विद्यालयभित्र जंकफुड निषेध

विद्यालयभित्र १० बजे पुगी सक्नुपर्छ । खाजा किन्न बाहिर निस्कन पाइँदैन । प्रत्येक विद्यार्थीलाई विद्यालयभित्र नै खाजा खुवाइन्छ । खाजा खुवाएबापत प्रत्येक विद्यार्थीले ६ सयदेखि साढे ८ सय रुपैंयाँ तिर्नुपर्छ । विद्यार्थीलाई तीन चरणमा खाना खुवाइन्छ । तरकारी, पाउरोटी, चिया, जाउलो, मकै भट्टमास, बिस्कुट खाजामा दिइन्छ । विद्यालयभित्र चटपट, चाउचाउ लगायतका जंकफुड लैजान पाइँदैन ।

खाना पकाउन र सरसफाइका लागि ६ कर्मचारी खट्छन् । विद्यालय स्थापनादेखि नै खाजा खुवाउने चलन रहेको विद्यालयले जनायो । ‘मिलेर खाने बानीको विकास गर्ने भएकाले आफूहरूले विद्यालयमा नै सामूहिक खाजा खाने चलनलाई निरन्तरता दिएको विद्यालयका सहायक प्रधानाध्यापक भीष्ममणि लामिछानेले बताए । ‘सामूहिक खाजा खाने बानीले समानताको सन्देश जाने रहेछ,’ उनले भने, ‘अन्तरघुलनले विद्यार्थीमा आत्मीयता पनि बढेको पायौं ।’ विद्यालयका विद्यार्थीलाई तीन चरणमा खाजा खुवाइन्छ । विद्यालयभित्र जंकफुड खान हुँदैन भन्ने सन्देश प्रवाह गरेको उनले बताए ।

तत्कालीन रानी रत्नराज्य लक्ष्मीदेवी शाह भारत भ्रमणबाट फर्किएपछि २०२१ साल भदौ ४ गते सबै जिल्लामा बालसंगठन स्थापना गरी टुहुरा र अनाथ बालबालिकालाई शिक्षामा पहुँच पुर्‍याउन बालमन्दिर स्थापना गरेकी थिइन् ।

निरन्तर अब्बल

२०६२ सालदेखि एसएलसीमा सहभागी विद्यालयले निरन्तर अब्बल नतिजा प्राप्त गरेको छ । सुरुको वर्षमा नै शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको थियो । त्यसपछि २०६४ मा र २०७० मा पनि विद्यालयले शतप्रतिशत नतिजा प्राप्त गरेको विद्यालयले जनाएको छ । अन्य वर्षहरूमा पनि ९० प्रतिशत बढी रिजल्ट प्राप्त गरेको प्रअ बस्नेतले बताए । विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले पढाइबारे निरन्तर चासो राख्ने र गुणस्तर सुधारका लागि छलफल गरिरहने भएकाले पनि राम्रो नतिजा ल्याउन सकिएको उनकोभनाइ छ ।

विद्यालयमा पढाइ राम्रो भएपछि नयाँ शैक्षिक सत्रमा भर्ना हुन आउने विद्यार्थीका संख्या बढ्दै गएको उनले बताए । १२/१५ सिट क्षमतामा ७ कक्षादेखि ९ कक्षासम्ममा प्रत्येक कक्षामा १ सय हाराहारी नयाँ विद्यार्थीले भर्ना हुन प्रवेश परीक्षा दिने गरेको विद्यालयले जनाएको छ । ‘न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा पाइने भएपछि अधिकांशको आकर्षणमा विद्यालय परेको छ,’ उनले भने, उनले भने, ‘तर भौतिक पूर्वाधारले गर्दा भनेजस्तो विद्यार्थी भर्ना गर्नसकिएको छैन ।’

विद्यार्थीलाई प्रोत्साहन

विद्यालयमा अध्ययनरत विपन्न र जेहेन्दार विद्यार्थीले वार्षिक ३ हजार रुपैयाँदेखि ५ हजार रुपैंयाँसम्म छात्रवृत्ति पाउँदै आएका छन् । यसरी छात्रवृत्ति पाउने प्रत्येक आर्थिक वर्षमा २ सय हाराहारी विद्यार्थी हुने विद्यालयले जनाएको छ । छात्रवृत्ति कोष स्थापनाको लागि ११ जना स्थानीय मनकारीबाट अक्षयकोष स्थापना गरिएको छ । वार्षिक करिब ५/६ लाख रुपैयाँ छात्रवृत्ति वितरण गरिने विद्यालयका प्रधानाध्यापक बस्नेतले बताए ।

ग्रिस नागरिक मिटे लनवेयरसोको अगुवाइमा माउन्टेन ट्रस्ट नेपालमार्फत विद्यालयमा हालसम्म पटक–पटक गरी करिब १५ रुपैयाँ छात्रवृत्ति प्रदान गरिसकिएको उनले जानकारी दिए । यस वर्ष पनि ४० देखि ६० युरोका दरले ४४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम रहेको उनले बताए । आफूले पनि स्वर्गीय आमा भुलमाया कार्कीको स्मृतिमा विपन्न र जेहेन्दार विद्यार्थीलाई राहत पुगोस् भनेर १ लाख ११ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको विद्यालयका सल्लाहकार कृष्ण कार्कीले बताए ।

भवन निर्माण अभाव

विद्यालयले ४५ वर्ष पुरानो भवनबाट कक्षा सञ्चालन गर्दै आएको छ । २०२४ सालमा निर्माण गरिएको भवनमा शिशु कक्षा र कार्यालय भवन सञ्चालन गरिएको छ ।

आफूहरूले १०/१२ कोठाको सुविधा सम्पन्न भवन बनाउने योजना बनाए पनि दाता प्राप्त गर्न नसकेको विद्यालयले जनाएकोछ । शिक्षा कार्यालयकाबाट प्राप्त हुने ब्लक कोठा अपर्याप्त हुने प्रअ बस्नेतले बताए ।

कान्तिपुरमा प्रकाशित पूर्ण बिकेको न्युज

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds