एक सिपाहीको कथा: युद्धमा खुट्टा गुम्यो तर अवसर गुमेन

एक सिपाहीको कथा: युद्धमा खुट्टा गुम्यो तर अवसर गुमेन

Bhim kumal

अश्विन दानी, गोरखा । गोरखा नरपालिका ३ रातमाटेमा सामान्य किसान परिबारमा जन्मिएका एक युवा, जसले सानो छँदा गाउँका हुनेखाने भनेर कहलाएका परिबारका छोराहरु आर्मीमा जागिर खाएको, बेलाबेलामा छुट्टिमा गाउँघरमा आउँदा रिल हालेर घनघनी क्यासेट घन्काउँदै आएको देख्दा सोच्थे, ‘म पनि ठूलो भएपछि आर्मीमा जागिर खान्छु । साहुबाको छोराले जस्तै क्यासेट किन्छु, अनि घन्काउँदै गाउँघरका सबैलाई नचाउँछु ।’

यस्तै-यस्तै सपना बुन्दै गाउँको राष्ट्रिय माविमा कक्षा ९ सम्म पढे भीमबहादुर कुमालले । २०५९ सालमा कक्षा ९ को परीक्षा पनि दिए तर, परीक्षामा फेल भएपछि उनको पढ्ने अबसर गुम्यो । बाबुसँग खेतबारी र मेलापातमा उनको दिन बित्न थाल्यो । आर्मीमा भर्ती हुने रहर भने उनको मनबाट कहिल्यै टाढा हुन सकेन । २०६१ सालतिरको कुरा हो, लगनखेलमा सेनामा भर्ती खुलेको कुरा भीमले मेलापातमा सुने । उनी पनि भर्तीका लागि त्यहाँ पुगे । पहिलै प्रयासमा उनको सपना पूरा भयो, अर्थात उनी नेपाली सेनामा भर्ती भए ।

जब उनी जागिरे भए, वृद्ध बा आमालाई लाग्या अब दुखका दिन गए । छोराले कमाउँला र दुई छाक खानकै लागि मेलापात नगरी नहुने दिन जाला भन्ने सपना बुने । आफ्नो र वुद्ध बा आमाको सपना साकार पार्न भीम लगनखेलको तालीममा गए । उता देशमा सरकार र माओवादीको युद्ध चर्किदै थियो । यता लगनखेलमा सात महिनाको सैनिक तालिम सकिने बित्तिकै उनको गण ईटहरीमा स¥यो । देशका बिभिन्न ठाउँमा युद्धमा परी हजारौँ सैनिक मरेको खबर आउने गथ्र्यो ।

यत्तिकैमा एकदिन उनको गणमा रक्षा मन्त्रालयबाट पत्र आयो, ‘गणबाट ६९ जना जवानहरु भोजपुरको हथुवागढीमा जानुपर्ने’ ब्यहोराको ! जानुपर्नेमा उनको नाम पनि पर्छ । ‘भोजपुरमा माओबादी को बलियो किल्ला छ भन्ने सुनेका थिएँ । कतै बाआमाको सपना यत्तिकै तुहिने पो होकी भन्ने कताकता डरपनि लागेको थियो, तर नगई सुखै थिएन’ उनी सम्झन्छन् ‘देश र जनताको लागि ज्यानको बाजी लगाउनु परेपनि पछि हट्नेछैन भनेर कसम खाएकाले नगई सुखै थिएन । गएँ ।’

२०६२ कात्तिक महिनामा उनको गणबाट ६९ जना सेना र ११ जना प्रहरीको गरी ८० जनाको टोली भोजपुर पुगे । ‘भर्ती भएर तालिममा आएदेखि घर जान नपाएको, पहिलो पटक परीवारसँगै दशैँ मनाउन नपाउँदा मनमा खिन्नता त छँदै थियो । तर, पनि मनमा एउटा सानो सपना पालेको थिएँ, दशैँमा नपाएपनि तिहार घर जाउँला’ उनले बिगत सम्झँदै भने ।‘भोजपुर पुगेदेखि नै ‘यो इलाका छोडेर जाऊ, नत्र हामी कडा प्रतिवाद गर्नेछौँ’ भन्दै माओवादीले गणमा पटक पटक पत्र पठाउँथेँ । तर, सरकारले खटाएको सेना जो परे आफूखुशी गर्न कहाँ पाउँथे र ! बरु युद्धका लागि तम तयार भएर बस्न थाले ।

भीम सम्झन्छन्, ‘२०६२ साल पुस १५ गते करीब पाँच बजे, खाना खाने तरखरमा थियौँ सबै फौजी । म सुत्ने ठाउँबाट खान खान जान मात्रै लागेको थिएँ । झमक्क साँझ परेको नजिकै पुगेर बत्ति नबालेसम्म मान्छे चिन्न गाहै पर्ने बेला । एक्कासी चर्काे आवाज आयोे, ‘भटटटट, ड्याङ(ड्याङ’ ! मैले झ्यालबाट बाहिर हेरे, माओवादी सेनाले आक्रमण गरेका रहेछन् । हत्तपत्त सिरानीमा भएको एसएलआर हातमा लिएँ र फायर गर्न थालेँ भटटटट‘.. ।’

यसै अँध्यारो, झन बम बारुदले त्यहाँ अन्धकार भयो ! दोहोरो भिडन्त चर्कियो । ‘भटटटट, ड्याङ(ड्याङ’ का आवाजसँगै ‘मरे आमा, मलाई बचाउ, ऐया मरेँ नि बा’ भन्दै मान्छेको चिच्चाहट पनि सुनिन्थ्यो ।

करिब पाँच बजेदेखि लगातार बिहान करीब तीन बजेसम्म दोहोरो भिडन्त चल्यो । भिडन्त सकिएपछि २६ जना माओवादी सैनिक र दुईजना नेपाली सेनाको लास भेटियो । कुमालले भने ।

गोलीलाई जित्न नसकेको त्यो क्षण

गोलीलाई जित्न सकेनन् । २०६२ साल पुस १५ गते, त्यो दिन कुमालले पहिलो पटक युद्धको सामना गर्नु प¥यो । त्यतिखेर उनले आफ्नो फौजका दुई साथी गुमाए । कुमाल भन्छन् ‘अझै पनि मलाई रगताम्मै भएका ती जमिन, जमिनमा मुढा ढले जस्तै लडिरहेका मेरा साथीहरु, अनि ‘भटटटट, ड्याङ(ड्याङ’ को आवाज निकाल्दै पड्किएका बन्दुकले तर्साइराख्छ ।’
त्यो घटनापछि माओवादी सेनाले भोजपुरको इलाका छाडेर भागे ।

त्यो दिनको युद्धपछि उनले आफू पूर्ण सुरक्षित ठाने, आफू चोखो रुपमा बचेको ठाने । यस्तै सोच्दै भोलिपल्ट बिहान उनी र चार जना साथी मिलेर, क्याम्प सफा गर्दै थिए । साथीहरु झार पन्छाउँदै कोदालोले माटो खन्दै थिए । ‘युद्ध जितेका हामी पाँच भाईले त्यही युद्धका गोलीलाई जित्न सकेनौँ । युद्धको बेला हानिएको बम त्यही माटोमा रहेछ, सफा गर्दा गर्दै एक्कासी पड्कियो । मसँगैका चार जना साथी मरे, तर म खुट्टा गुमाएर भएपनि मचाहिँ बाँच्न सकेँ’ त्यो नमिठो क्षण सम्झँदै उनले भने ।

डाक्टरको बोलीले दिलायो बाँच्ने आश

चैत महिनामा सितल छाहारी मुनि माटोका ढिस्का मिलाउँदै क्याम्प सफा गरिरहेका पाँचजनालाई एउटै बमले आकासमा उछिट्याइदिएको १० दिनपछि उनको होस् खुल्यो । ‘होस खुल्दा मेरा आँखाभरि आँसु थिए । बा(आमाको याद आयो, अनि भक्कानो फुटेर आयो । दायाँ बायाँ हेरेँ मामाका छोरा पशुराम रहेछन् । उनले मेरा हात समाउँदै भने ‘नरो कान्छा अब केही हुँदैन् । नआत्ती सबै ठिक हुन्छ ।’

होश आएपछि बिस्तारै आफ्नो शरीरतिर हेरे । देब्रे खुट्टाको घोडा मुनि पुरै हड्डी देखिने गरी छियाछिया भएको देखे । त्यो दिन सम्झँदै उनले भने ‘म मर्छु अब, कसरी बाँचु भन्दै भक्कानिदै थिएँ, डाक्टर आएर मेरो हात समातेर भने धैर्य गर्नुस् ।

तँपाईको खुट्टा काटेपछि आनन्दले बाँच्न सक्नु हुनेछ, अरुले जस्तै हिड्न सक्नु हुनेछ, मात्रै अरुले जस्तै दौडने र भारी बोक्ने काम गर्न सक्नु हुन्न ।’ डाक्टरको आश्वासले उनको आँसु खस्न छाड्यो । आफ्ना बाआमालाई भेट्न जाने उनले पहिलो प्रस्ताब गरे । डाक्टरले सक्ने जवाफ दिएपछि मात्र उनी आफ्नो खुट्टा काट्न राजि भए ।

नेपाल आर्मीमा भर्ती भएर देश र जनताको रक्षा गर्न उनको भाग्यमा दुई बर्ष मात्रै लेखेको रहेछ । उनी भर्ती भएको दुई बर्ष नबित्दै एउटा खुट्टा गुमाउन पुगे ।

त्यसपछि अहिले उनी बैसाखीको भरमा गाउँकै पाखा पखेरा चाहार्ने गर्छन् । घरमै परिवारसँग हाँसी खुसी जीवन यापन गरिरहेका छन् ।

साथीको फोनले बने राष्ट्रिय खेलाडी

भर्ती भएको दुई बर्षमै देशको सेवा गर्ने सौभाग्य सँगै आफ्नो देब्रे खुट्टा गुमाएका कुमाल बिगत १३ बर्षदेखि आफ्नै गाउँमा रमाउँदै आएका छन् । बिगत दुई बर्षदेखि त झन उनी नेपालको पारा स्वीईमिङको राष्टिूय खेलाडी बन्न पुगेका छन् ।

‘२०७४ असारमा, पानी झ्याम्म(झ्याम्म परिरहेको थियो । फोनको रिङटोन बज्यो । नम्बर हेर्दै नहेरी फोन उठाएँ । ‘गुड मर्निङ मलाई चिन्नु भयो भन्ने आवाज आयो । नम्बर दोहो¥याएर हेरेँ । पल्टनका साथी रहेछन् अनि उत्तर दिएँ अरे दोस्त, किन नचिन्नु !’

साथी ः सुन्नुस् त ! राष्टिूय स्तरका पारा स्वीईमिङ प्रतियोगिता हुँदै छरे । तँपाईलाई पौडी खेल्न आउँछ की आउँदैन् ?
भीम ः आउँछ बरु कहाँ र कहिले हुने हो ?

साथीले खेलको बिषयमा उनलाई सम्पूर्ण जानकारी दिए । त्यही भरमा कुमाल २०७४ साल असारमा राष्टिूय पारा स्वीईमिङमा भागलिन काठमाण्डौँको जोरपाटीमा पुगे ।

‘सानैदेखि दरौँदीमा पौडी खेलेको बानी’ कुमालले भने ‘म खुट्टा गुमाएर फर्किएपछि पनि बिरक्त लाग्दा त्यही दरौँदीको पानीमा हाम्फालेर मन शान्त पार्ने मान्छे ! पौडी खेल्न मेरा लागि कुनै नौलो कुरा थिएन’ उनले भने ।

जोरपाटीमा भएको खेलमा उनले ४ जनालाई पछाडी पार्दै प्रथम स्थान हाँसिल गरे ।

अर्थात नेपालकै पारा स्वीईमिङ अन्तरगतका प्रथम खेलाडी बन्न पुगे । उनी आउँदो असोज महिनामा अन्तराष्टिय पारा स्वीमिङ खेल्नकै लागि ईन्डोनेसिया जाने तयारीमा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds