११ करोडमा पोखरामै पहिलो वाटर फन पार्क ‘बिग स्प्लाश’ [भिडियो/फोटो]

११ करोडमा पोखरामै पहिलो वाटर फन पार्क ‘बिग स्प्लाश’ [भिडियो/फोटो]

Cover news final

गण्डक न्युज पोखरा, ३० चैत / ताल नगरीमा बस्ने पोखरेली पानीसँग रम्न भने वञ्चित नै छन् । यहाँका ताल र खोलामा असुरक्षा, पर्याप्त स्विमिङ पुलको अभाव झेलेका पोखराबासीले वाटर फन पार्क चाहेका थिए । अब नयाँ वर्ष २०७५ सँगै पानी पारखीलाई खुशीको खबर छ । वैशाख १ गतेदेखि नै पोखरा कुँडहरमा ११ करोड लगानीमा बनेको वाटर फन पार्क ‘बिग स्प्लाश’ सञ्चालनमा आउँदैछ ।

अन्तर्राष्ट्रिय शहर उन्मुख पोखरा प्रदेशको निर्विकल्प राजधानी हो तर यहाँ वाटर फनपार्क समेत थिएन । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै युवा व्यवसायी अमितराज मुल्मीले वाटर फन पार्क संचालनमा ल्याउन लागेका हुन् । आर्य दि रिसोर्ट एण्ड फन प्रालिले करिब १७ महिनामा निर्माण सम्पन्न गरेको हो ।

भिडियो

वाटर पार्कमा आवश्यक पानी प्रालिले आफै बोरिङ गरी निकालेको छ । अन्तर्राष्ट्रिय गुणस्तरको उच्च प्रविधिमा प्रशोधन गरि प्रयोगमा ल्याइएको प्रबन्ध निर्देशक अमितराज मुल्मीले बताए । १३ रोपनी क्षेत्रफलभित्र एकान्त र रमणिय वातावरमा मज्जा लिन सकिनेछ ।

बच्चादेखि वयस्कसम्म पानीमा मनोरञ्जनका लागि विभिन्न स्लाइड र फाउन्टेनहरु रहेका छन् । ३० फिटको उचाइमा रहेको ओपन फ्लोट स्लाइडबाट ३१० फिट लामो रोमाञ्चक स्लाइडिङ गरी स्प्लास पुलमा उत्रिँदै पानीको मज्जा लिन सकिने मुल्मीले बताए ।

त्यसैगरी, ३० फिटको उचाईमा रहेको ओपन फ्लोट स्लाइडबाट ३ सय १० फिट लामो फ्ल्यास पुलमा उत्रन मिल्ने, ३० फिट उचाइमा १ सय २० फिट लामो र १५ फिट उचाइमा ६० फिट लामो छुट्टाछुट्टै स्टे«ट स्लाइड र वेभ स्लाइडबाट अर्को पुलमा उत्रने मिल्ने गरि वाटर पार्क निर्माण गरिएको बताए ।

पार्कमा मनोरञ्जनका लागि अन्य आकर्षक फाउण्टेन्सहरु पनि निर्माण गरिएको उनले बताए । शुभारम्भको अवसरमा २ फिट ६ इन्च भन्दा साना बालबालिकालाई प्रवेश निःशुल्क गरेको पार्क व्यवस्थापनले उचाईको आधारमा चार फिट भन्दा कम उचाइकालाई प्रवेश शुल्क ४ सय ३५ र ४ फिट बढी उचाईका व्यक्तिलाई ४ सय ९५ रुपैयाँ निर्धारण गरेको छ । प्रवेश गरेपछि मन लागुन्जेल मनोरञ्जन लिन सक्ने आर्य दि रिसोर्ट फन प्रालिका अध्यक्ष आनन्दराज मुल्मीले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका मुल्मीले वाटर पार्क पोखरा आउने पर्यटकका लागि नयाँ गन्तब्य हुने बताए । ‘पोखरा पर्यटकीय शहर हो । अन्तर्राष्ट्रिय शहर उन्मुख छ । अब यस्ता पूर्वाधारहरु बन्नुपर्छ । यो स्थान पर्यटकीय गन्तव्य बन्नेछ ।’ मुल्मीले भने ।

वाटर पार्कमा बिभिन्न खानाका परिकार सहित रेष्टुरेण्ट समेत संचालनमा छ । भुकम्प प्रतिरोधात्मक डिजाइनमा भवन, टावर लगायतका संरचना निर्माण गरिएको प्रालिले जनाएको छ । दोस्रो चरणमा स्वीमिङ पुल निर्माण गर्ने र अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि नजिकै रहेको सो फन पार्कमा सुविधा सम्पन्न रिसोर्ट बनाउने लक्ष्य समेत प्रालिको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ