पोखराको रोडमा बस तेर्साउने हैन, बसपार्कबाट यात्रु चढाउने सहमति भो तर व्यवसायीले नै लत्याए

पोखराको रोडमा बस तेर्साउने हैन, बसपार्कबाट यात्रु चढाउने सहमति भो तर व्यवसायीले नै लत्याए

Prithvichowk

पोखरा, १३ पौष / पृथ्वीचोकस्थित बसपार्क भित्रबाट मात्रै यात्रु चढाउने र ओराल्ने सहमति पृथ्वी राजमार्ग बस सञ्चालक समितिले नमान्ने भएको छ । पोखराको यातायातलाई व्यवस्थित बनाउन भदौ ६, भदौ २९ र कात्तिक १५ गते भएको सरोकारवालाको बैठकमा भएको उक्त सहमति अनुसार बसपार्क बाहिर गाडी तेस्र्याएर यात्रु चढाउन र ओराल्न पाइँदैन ।

प्रशासन, प्रहरी र पोखरा महानगरले गर्नु पर्ने काम नगर्ने उल्टै ट्राफिक प्रहरीले पृथ्वी समितिका गाडीलाई तारो बनाएर कारवाही गर्न थालेकाले आफूहरु वाध्य भएर आन्दोलनमा उत्रनु परेको समितिका महासचिव योगेन्द्र केसीले बताए । उनले भने, ‘बसपार्कबाटै यात्रु चढाउने र झराल्ने सम्झौता भएकोमा त्यो नियम हामीलाई मात्र मान्न वाध्य पारिएको छ, यो हामीलाई मान्य छैन ।’  समाधान दैनिकका लागि गोविन्द सुवेदीको न्युज छ ।

उनका अनुसार पोखरा बागलुङवाहेक अन्त सबैतिर समितले बुधबारबाट आफ्नो सेवा बन्द गर्ने भएको छ । ट्राफिकको चेपुवामा परेर सेवा दिन नै नसक्ने अवस्था नआएपछि यो निर्णयमा पुगेको उनले बताए । बागलुङ बसपार्कमा समस्या नरहेकाले त्यहाँबाट बागलुङ तिरका गाडी भने नियमित हुने उनको भनाइ थियो ।

बसपार्कमा पूर्वाधार तयार गरेर नियम कार्यान्वयन गर्ने भनिएकामा बिना पूर्वाधार सेवा नै दिन नसक्नेगरी निसानामा परिएको उनको आरोप छ । माइक्रो बस, ट्याक्सी लगायत साना गाडी बसपार्क भित्र लैजाने र यात्रु ओसार्ने सहमति भएपनि यात्रुलाई बसपार्क छिर्ने वातारण नै नरहेपछि वाहिरै रोक्नुको विकल्प नरहेको समितिको दाबी छ । केसीले भने, ‘ट्वाइलेटको व्यवस्था गर्ने भनिएको थियो, माइक्रो, ट्याक्सी र सबै खाले गाडी भित्रबाटै सञ्चालन गर्ने भनियो,न अरु गाडी भित्र पस्छन्, न ट्वाइलेटको व्यवस्था छ, न त्यहाँ यात्रु नै पस्छन्, यस्तो अवस्थामा जसरी पनि हामीलाई नियम पालना गर भन्नु सेवा नै रोक भनेको हामीले बुझ्यौं ।’

केसीले अरु समितिका गाडीलाई भने यो नियम वाध्यकारी नबनाइएको आरोप लगाए । उनले बुधबार गाडी रोक्ने र त्यसपछि आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने बताए । ‘अरुलाई नियम नलगाउने, हामीलाई मात्र पेलानमा पार्ने काम भएको छ,’ उनले भने, ‘पोखराको ट्राफिक समस्या हाम्रा कारणले मात्रै आएको हो भने हामीले सेवा बन्द गरिदिन्छौं भनेर बन्द गर्ने निर्णय गरेका हौं ।’

‘पोखरा महानगरका मेयर मानबहादुर जिसी र जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी खड्गबहादुर खत्रीसँग भने पटक–पटक बस्दा समेत निकास ननिस्केकाले हामीहरु सेवा बन्द गर्ने निर्णयमा पुगेका हौं’
योगेन्द्र केसी, महासचिव
पृथ्वी राजमार्ग बस सञ्चालक समिति

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख इन्स्पेक्टर ऐनबहादुर मल्लले आफूहरुले पहिला भएको सम्झौता बमोजिम नियमको पालना गराएको बताए । जिल्ला प्रशासन कार्यालय, महानगरपालिका, जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालय सबैको उपस्थितिमा सम्झौता भएको र निर्देशन बमोजिम आफूहरुले नियम पालना गराएको उनको दाबी छ ।

अरु व्यवसायीलाई छुट दिने पृथ्वीका सवारीलाई मात्र नियम लगाउने नगरिएको उनले भनाइ थियो । व्यवसायीहरु सम्झौता गर्ने बेला गर्ने तर पछि आएर कार्यान्वयनमा जान नमान्ने गरेको उनले गुनासो गरे । लेखनाथ बस व्यवसायी समितिले पनि यस्तै गुनासो गरेको उनले सुनाए । उनका अनुसार लेखनाथ समितिलिे आफ्ना गाडीलाई पोखराको मुख्य बजार पस्न नदिएको आरोप लगाएको छ ।

ट्राफिक प्रमुख मल्लले महानगर र प्रशासन कार्यालयले बाहिरबाट नै यात्रु चढाउन ओराल्न दिए आफूले त्यसै अनुसार गर्ने नत्र यो नियम परिवर्तन नहुने र नियमको पालना गराइछाड्ने बताए । ‘हामीले निर्देशन पालना गर्ने हो, ट्राफिक व्यवस्थापन गर्ने हाम्रो जिम्मा हो, उनले भने, ‘हामीले रोक्यो भन्नुभन्दा पनि उहाँहरु महानगर र प्रशासनसँग कुरा गरे हुन्छ ।’

मल्लले बसपार्क भित्र यात्रुको सुविधाको लागि ट्याक्सीहरु जान थालेका बताए । माइक्रोहरुलाई भने त्यहाँका बसको व्यवस्थापन गर्न समय लागेकाले विस्तारै भित्र लगिने उनको भनाई छ । ‘बैठक बस्दा सहमति गर्ने अनि पछि मान्दिन भन्नुनै गलत हो,’ उनले भने, ‘पूर्वाधारनभएको उहाँहरुलाई थाहा थियो, यही अवस्थामा भित्रैवाट सेवा दिन उहाँहरु सहमति हुनुभएको हो, विस्तारै पूर्वाधार बनाउने सहमतिमा छ ।’

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अशोक सिंहले सेवा बन्द गरेर यात्रुलाई मर्कामा पार्न नहुने बताए । समस्या भएको भए बसेर निकास निकाल्नु पर्ने उनको भनाइ थियो । ट्राफिकले कसैलाई काखा र पाखा नगर्ने भन्दै उनले ट्राफिकसँग गुनासो हो भने त्यही बहानामा बन्द गर्नेकाम सहि नभएको उल्लेख गरे । ‘ट्राफिकले निर्देशन पालना गर्ने हो,’ उनले भने, ‘उसलाई दोष दिनुभन्दा प्रशासन, महानगर र प्रहरी कार्यालयसँग समेत छलफल गरेको भए हुन्थ्यो हामीसँग छलफल भएन ।’

समितिले मसँग समस्या लिएर आएको छैन, सेवा नै बन्द गर्ने बारे मलाई केही भनिएको पनि छैन, यात्रा गर्न पाउने यात्रुको अधिकारलाई हनन् गर्न पाइँदैन । म बुझेर उहाँहरुसँग कुरा गर्छु ।
तारानाथ अधिकारी, सिडिओ
कास्की

अञ्चल यातायात समन्वय समितिका अध्यक्ष समेत रहेका कास्कीका प्रमुख जिल्ला अधिकारीतारानाथ अधिकारीले पृथ्वी राजमार्ग बस व्यवसायी समितिले आफूकहाँ समस्या नल्याएको जानकारी दिए । ‘सेवा नै बन्द गर्ने बारे मलाई केही भनिएको छैन,’ उनले भने, ‘यात्रा गर्न पाउने यात्रुको अधिकारलाई हनन् गर्न हुँदैन, म बुझेर उहाँहरुसँगकुरा गर्छु ।’

पृथ्वी राजमार्ग बस सञ्चालक समितिका सचिव केसीले मूख्य ट्राफिकले नै आफूहरुलाई नियतवश अवरोध र जरिवाना नै लगाएकाले माथिल्लो निकायमा नपुगेको बताउँछन् । यद्यपि पोखरा महानगरका मेयर मानबहादुर जिसी र जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी खड्गबहादुर खत्रीसँग भने पटक पटक बस्दा समेत निकास ननिस्केकाले आफूहरु बन्द गर्ने निर्णयमा पुगेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ