कलिलैमा ‘भागीबिहे’ गर्ने बढे, ‘हातमा मोबाइल आयो नि । मोबाइलले छोरीचेली बिगार्‍यो हजुर ।’

कलिलैमा ‘भागीबिहे’ गर्ने बढे, ‘हातमा मोबाइल आयो नि । मोबाइलले छोरीचेली बिगार्‍यो हजुर ।’

kalilo

तनहुँ / गाउँ पुगेका पाहुनाले सबैलाई स्कुलको प्रांगणमा भेला गराए । बालबालिकालाई कापी, पेन्सिल र ब्याग दिएपछि सुत्केरीको पालो आयो ।

पोखराबाट पुगेकी सामाजिक कार्यकर्ता सरस्वती गुरुङले सोधिन् ‘तपाईंहरू सुत्केरी कतिजना हुनुहन्छ । एक लाइनमा उभिदिनुस् ।’ आधा दर्जन महिला नानी बोकेर उभिए । पालैपालो सोधियो ‘पहिलो बच्चा जन्माउँदा तपाईंको उमेर कति थियो ?’ उत्तर आयो – १३, १४, १५, १६ । त्यसपछि छक्क पर्दै सुत्केरीका लागि झुल बाँडियो ।

तनहुँको बन्दीपुर ५ र आँबुखैरेनी १ मा पर्ने आँधीमूलमा ६२ घर भुजेल छन् । ‘हामी भुजेलकै धेरै घर भएकाले यो भुजेल गाउँ भनेर चिनिएको हो । हिजोआज एउटा समस्या छ यो गाउँमा ।’ ७२ वर्षीय लोकबहादुर भुजेल भने, ‘४/५ कक्षा पढ्दापढ्दै छाडेर १३/१४ वर्षकै उमेरदेखि भागेर विवाह गर्ने चलन बढेको छ ।’ ‘पहिले यस्तो नभएको र तीन/चार वर्षदेखि यस्तो भएको उनले सुनाए । उनले भने, ‘हातमा मोबाइल आयो नि । मोबाइलले छोरीचेली बिगार्‍यो हजुर ।’ बस्तीका अधिकांश घरमा नयाँ पुस्ताले भागेरै बिहे गरेको अवस्था रहेको उनले बताए ।

कार्यक्रमका पाहुनाले सोध्न उभ्याएको लहरमा ४७ वर्षीया राममाया भुजेल थिइनन् । तर, घर छेउकै आँधीवाराही प्राविमा जारी कार्यक्रम हेर्न र नौ वर्षे कान्छो छोरालाई लिन आएकी उनले भनिन्, ‘मलाई त सोध्दै सोधेनन् । मैले १३ वटा जन्माएको हो ।’ जन्माएमध्येका नौ जना सकुशल नै रहेको उनले बताइन् । ‘१३ वर्षमै बिहे भएको थियो । एक वर्षमै जन्माएका जेठा छोराका पनि अहिले पाँच बच्चा छन्,’ उनले भनिन्, ‘उसको जेठो छोरा ११ वर्षको छ, मेरो कान्छो ९ वर्षको ।’

अशिक्षाका कारण पहिले–पहिले छिटो बिहेको चलन भए पनि पछि विस्तारै घटेको अवस्थामा केही वर्षयता फेरि कलिलो उमेरमा भागेर बिहे गर्ने चलन बढेको उनले बताइन् । ३५ वर्षकी मीना भुजेलका सात सन्तान छन् । सात महिनाकी छोरी च्यापेर गाउँमा आएका नौला मान्छे हेर्न आइपुगेकी उनले भनिन्, ‘सबै घरमै जन्मिए, अस्पताल जानै परेन ।’ पहिलो सन्तान जन्माउँदा आफ्नो उमेर १५ वर्ष रहेको उनले बताइन् ।

आँबुखैरेनी ८ को घ्याङलिङबाट १८ महिनाअघि सरुवा भएर आँधीवाराही प्राविमा आइपुगेका शिक्षक देवकुमार श्रेष्ठ पनि भुजेल गाउँको किशोरावस्थामै प्रेमविवाह गर्ने लहर देखेर चकित छन् । ‘यो खासमा शिक्षाको कमीले भएको पनि कसरी भन्नुहोला,’ उनले भने, ‘स्कुल आउँदाआउँदै छाड्छन् । बाउआमासँग नाङ्लो बुन्न सघाउँछन्, मेलापात नाचगान अनि भागेर बिहे गरे भन्ने सुन्नुपर्छ ।’

विद्यालयले विद्यार्थी आकर्षित गर्न दिउँसोको खाजा कार्यक्रम सञ्चालन गरेको १० वर्ष बित्दा पनि अपेक्षितरूपमा छात्रालाई कक्षामा टिकाउन सकेको छैन । कमजोर आर्थिक अवस्थाको उपज यस्तो समस्या भएको उनले बताए । पहाडी भूगागमा अवस्थित भुजेल गाउँ यतिबेला सडक सञ्जालमा जोडिएको छ । पृथ्वी राजमार्गमा पर्ने सत्रसय फाँटबाट ५ किमि उकालो घुमाउरो बाटो यात्रा गरेपछि पुगिने गाउँमा ‘बिहेबारी २० वर्ष पारि’ को चेतना पुगेकै छैन ।

स्थानीय वृद्ध शंखबहादुर भुजेलको बुझाइमा केही वर्षयता नयाँ पुस्ताले बिहेबारीका लागि अभिभावकको सल्लाह लिन छाडेका छन् । ‘मन मिलेपछि ल्याइहाल्छन्,’ उनले भने, ‘हाम्रा गाउँका धेरै चेलीबेटी ड्राइभरसँग गएका छन् ।’ गाउँभरिका १५ वर्ष नाघेर पनि बिहे नगरी बसेका र पढ्दै गरेका छोरीचेली नभेटिने उनले बताए । ‘संस्कारमा विचलन आएको छ, हामीले गम्भीर हुनुपर्ने अवस्था छ,’

भुजेल सेवा समाजका केन्द्रीय अध्यक्ष लोकबहादुर भुजेलले भने, ‘म ५५/५६ सालतिर आउँदाको गाउँ र अहिलेको गाउँ धेरै फरक छ । छोरी जोगाउनुपर्ने अवस्था आएको रहेछ ।’ सानो उमेरमा बिहेबारीले महिलालाई धेरै समस्या आउने तथ्य बुझाउने चेतनाका कार्यक्रम आवश्यक देखिएको उनले बताए ।

कान्तिपुरमा भीम घिमिरे, प्रताप रानामगरले लेखेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ