कास्की प्रहरीमा एकै दिन ३ साइबर केश

कास्की प्रहरीमा एकै दिन ३ साइबर केश

cyber

गण्डक न्यूज, पोखरा, ८ असार । सामाजिक सञ्जालमार्फत् ब्ल्याकमेलिङ, धाकधम्की, गाली बेइज्जती भएको उजुरी नौलो होइन । कास्की प्रहरीका अनुसार पछिल्लो समय यस्ता विषयमा धेरै नै उजुरी पर्न थालेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ता सचेत बन्दै गएकाले कानुनी उपचार खोज्न सुरु गरेका छन् ।

कास्की प्रहरीमा विहीबार परेका तीन उजुरी मध्ये दुई उजुरीमा रवि लामिछानेबाट प्रभावित व्यक्तिहरु मुछिएका छन् ।

घटना १

पत्रकार रञ्जन अधिकारीले आफू रवि लामिछानेको समर्थनमा रहेको तर विधिको शासनमा सबै रहनुपर्ने भन्दै सुझाव दिइएको पोस्ट मुन्तिर अश्लिल शब्दका साथ ज्यान लिने धम्की आयो ।

प्रनुशा अफिसियलमा फोटो खिच्ने काम गर्ने पोखरा १ विन्ध्यवासिनीका निशद् श्रेष्ठले अत्यन्त आपत्तिजनक शब्दका साथ कमेन्ट गरिरहे ।

नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका सचिव, गण्डक न्युज डटकमका सम्पादक समेत रहेका पत्रकार अधिकारीले अपाच्य कमेन्ट आउने क्रम नरोकिएपछि उजुरी गरे । तत्काल प्रहरीकहाँ बोलाइयो ।

कास्की प्रहरी प्रमुख ओमबहादुर राना समक्ष आफूले गल्ती गरेको र अब नगर्ने भन्दै श्रेष्ठले माफी मागे ।

बाबुको याचनापछि अब यस्ता कार्य नगर्ने शर्तमा मुद्धा अघि नबढ्ने गरी पत्रकार अधिकारीले क्षमा दिए ।

घटना २

व्यंग्यात्मक पेज ‘ट्रोल पोखरा’ मार्फत पर्वतका सिडिओ गुरुदत्त ढकाललाई भातमारा भनेर फोटो सहित ट्रोल पोस्ट भयो । तर, पेजका एडमिनले फोटो भने ढकालको सट्टा कास्कीका सहायक सिडिओ गंगाबहादुर क्षेत्रीको राख्यो ।

पछिल्लो समय सिडिओ ढकाल दलितलाई दुव्र्यवहार गरेको आरोपमा आलोचित छन् । सिडिओ ढकालले आफ्नो सुरक्षार्थ खटिएका सुरक्षाकर्मी कामी भएकै कारण हटाएको भन्दै उनको आलोचना भईरहेको छ । रवि लामिछानेको सिधा कुरा जनतासँगमा यो विषय उठान भएपछि एडमिनले ट्रोल बनाए ।

तस्विरवाला कास्कीका सहायक सिडिओ क्षेत्रीले मानहानी महसुस गरे । गृहमन्त्रालयबाट नै यसमा ध्यानाकर्षण भएको जनाउँदै कास्की प्रहरी समक्ष यसमा संलग्नलाई कारबाही गर्न सर्कुलर भयो ।

ट्रोल पोखरा सञ्चालक टीम नै कारबाहीमा ल्याउने तयारी गरियो । फेसबुकबाट नै ट्रोल पोखराका एक एडमिन आशिष पुरीलाई प्रहरीले बोलायो । उनले सुमन नेपालीको नाम मुछेपछि नेपालीलाई बोलाईयो ।

सुमनले सिधा कुरा जनतासँग हेरेपछि ट्रोल बनाएको, मैले कुनै पनि शब्द प्रयोग गरेको छैन भनेर एसपी ओमबहादुर राना समक्ष बयान दिए । त्यसपछि माथिको आदेश भन्दै अब साइबर क्राइम आकर्षित हुने भन्दै थुनामा पठाईदिए ।

तस्विर फरक यसरी हुन पुग्यो:

दलित भएकै कारण सुरक्षाकर्मी हटाएको भन्ने सिधा कुरा जनतासँगमा हेरेपछि एडमिन सुमन नेपालीको पारो तात्यो । उनी आफ्नै समुदायलाई हेय गरेका कारण दुःखित भए । र आफ्नो प्लेटफर्म युज गरे । उनले गुरुदत्त ढकालको नाम गुगल सर्च गर्न थाले । सुरुमै देखिएको तस्विर प्रयोग गरे ।

पर्वतको रेडियो शालिग्रामले आफ्नो अफिसियल वेबसाइट www.radiosaligram.com.np मा पर्वतको प्रजिअमा गुरुदत्त ढकाल आउँदै शीर्षकको समाचार गंगाबहादुर क्षेत्रीको तस्विर प्रयोग गरेको देखियो । सुमनले गुगलबाट सर्च गरेको फोटो सोहि साइटबाट तानेका रहेछन् । त्यसैले मानहानीको उजुरी गंगाबहादुर क्षेत्रीले समेत दिन मिल्ने भयो ।

घटना 

प्रेस चौतारी नेपालका उपमहासचिव हीरामान लामालाई फेसबुकमा ज्यान मार्ने धम्की दिएपछि बुधबार कास्कीको मादी गाउँपालिकास्थित सिक्लेसका २८ वर्षीय टौप्रसाद गुरुङ ‘पावेल गुरुङ’ पक्राउ परे ।

पावेल २ दिन कास्की प्रहरीको थुनामा जाक्किए । आफूले आवेगमा गल्ती गरेको र अब कहिल्यैं त्यस्तो गल्ती नगर्ने गरी लिखित रुपमा माफी मागेपछि शुक्रबार छुटेका छन् । प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालको सक्रियतामा यो मुद्धाको टुंगो लाग्यो । सांसद मनबहादुर गुरुङ, पावेलका दाजु तीर्थ र बरालको उपस्थितिमा पावेलले लिखित माफी मागेपछि प्रहरीले सांसद मनबहादुरको जिम्मा लगाएर छाडेको हो ।

कास्कीका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले कुनै पनि व्यक्तिको जीवनमा असहज बनाउने काम कोहि कसैले गर्न नहुने भन्दै सामाजिक सञ्जाल दुरुपयोग गरेको पाईए कडा कारबाही गरिने बताए । प्रहरी इन्स्पेक्टर जगदिश रेग्मीले पछिल्लो समयमा सामाजिक सञ्जालमा दुरुपयोग सम्बन्धमा उजुरी बढ्दो मात्रामा रहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds