देवचुली डाँडा: पदयात्रीको गतिलो गन्तव्य

देवचुली डाँडा: पदयात्रीको गतिलो गन्तव्य

Devchuli Danda

कावासोती । नवलपुरमा रहेको सबैभन्दा अग्लो चुचुरो देवचुली डाँडा पदयात्राका लागि गतिलो गन्तव्य बनेको छ । तिनकन्या माइको मन्दिर, गोलपोखरी शान्ति पार्क र यहाँको मगर संस्कृतिले पदयात्रीलाई आकर्षित गर्न थालेको छ ।

नवलपुरको थारु संस्कृति र मध्यवर्ती जङ्गलमा पाइने बाघ, हात्ती, गैँडा हेर्न आउने पर्यटक बढी मात्रामा यो क्षेत्रको पदयात्रामा आउने गरेका छन् ।

देवचुलीको धार्मिक र ऐतिहासिक पुरातात्विक विषयमा प्रचारप्रसार गरी सिङ्गो पर्यटन क्षेत्रको विकास गर्ने गरी पूर्वाधार निर्माणको काम भएपछि यहाँ आउने पर्यटक बढेको छ । नवलपरासीमा पनि पदयात्राका लागि उपयुक्त ठाउँ छ भन्ने चिनाउन सफल भएको भन्दै स्थानीय खुशी छन् ।

देवचुलीबाट पोखराको शिरमा रहेका हिमशृङ्खलासमेत देख्न पाइने, मगरको कौरा, झ्याउरेलगायत सांस्कृतिक कार्यक्रमबाट स्वागत हुने भएकाले पर्यटकले भरपुर मनोरञ्जन लिन सक्ने हुँदा पदयात्रा आनन्ददायी हुने गरेको पदयात्री बताउँछन् ।

देवचुली पर्यटकीय क्षेत्रको पूर्वाधार विकासका लागि समितिले १९३६ मिटर अग्लो डाँडामा २३ फिट अग्लो भ्यूटावरको निर्माण पूजालाई व्यवस्थित गराउन तीन कन्या माईको मन्दिर निर्माण, खानेपानी व्यवस्थाका लागि फेदीमा खानेपानीको व्यवस्था २ वर्ष अघि नै गरिएको छ ।

देवचुली भ्रमणमा आउने पाहुनाका लागि स्थानीय खाना ढिँडो, लोकल कुखुराको मासुसहित स्थानीय घरमा राखिने गरिएको छ । पूर्वपश्चिम राजमार्गको नारायणगढदेखि करिब २३ किमी दलदले बजारबाट उत्तरतर्फ रहेको देवचुलीमा विगत तीन वर्षदेखि पर्यटकीय विकासका पूर्वाधारहरु बन्न थालेपछि शैक्षिक भ्रमणका लागि आउने पिकनिकका लागि आउने, तीनकन्या माईको पूजा गर्न आउनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको देवचुली डाँडा संरक्षण तथा पर्यटकीय निर्माण समितिले जनाएको छ ।

थारु समुदायले भने कुमारवर्ती माईका रुपमा यहाँ पूजा गर्दै आएका छन् । पर्यटकका लागि नवलपुरमा बस्नका लागि नारायणी नदी किनारमा होटल बन्न थालेका छन् । चितवन निकुञ्जमा जङ्गल घुम्न आउनेहरु देवचुलीमा प्राकृतिक सांस्कृतिक र मनोरम दृश्यको दृश्यावलोकन गर्न पाइने भएकाले तीनदिनदेखि पाँचदिनसम्म यहाँ बस्ने गरेका छन् । रासस

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ