श्रेष्ठ र घिमिरे मिटर ब्याजी साहुले ३ गुणा असुल्दा आफ्नो यो हालत भएको सुसाइड नोट भेटियो

श्रेष्ठ र घिमिरे मिटर ब्याजी साहुले ३ गुणा असुल्दा आफ्नो यो हालत भएको सुसाइड नोट भेटियो

pharindra

रञ्जन अधिकारी । पोखरा सभागृह गेट नजिकै इभा ट्रेडर्स सञ्चालन गर्दै आएका फरिन्द्र ढुंगानाले मिटर ब्याजी साहुका कारण जिवन असहज भएको भन्दै साहुहरुकै नाम किटेर सुसाइड नोट छाडेका छन् । उनले पत्रमा सुरुमा श्रीमती अनिताका लागि, त्यसपछि ससुराली दाजुभाइका लागि र अन्तिममा आफूले यो कदम उठाउनुपरेको कारण खोतलेका छन् ।

ट्रेडर्सका संचालक ३५ वर्षीय ढुंगाना शनिबार बेलुकीदेखि सम्पर्कविहीन छन् । कास्की धिताल घर भएका ढुंगानाका श्रीमती, छोरी र एक महिनाको छोरो छ । उनले लिएर गएको स्कुटर पोखराको चोरसाँघु नजिकै एसओएस स्कुल अगाडि भेटियो । चाबी त्यहाँ नभेटिएपछि सालो भाइले घरमा आएर चाबी लगेर खोल्दा त्यहाँ सुसाइड नोट भेटियो । स्थानीयहरुले पनि राति साढे ८ बजेतिर पुरुष व्यक्ति आएको र एकैछिनमा केहि लडेको आवाज सुनेको भनेपछि घटनास्थल पुग्दा झाडी माडिएको अवस्था भएको कारण उनले त्यहीं आत्महत्या गरेको सम्भावना नकार्न नसकिने कास्की प्रहरीले जनाएको छ ।

उनले परिवारका लागि लेखेको सुसाइड नोटमा बाहिरी मानिसको व्यवसायिक टर्चरले घर छोडेर हिँड्न बाध्य भएको उल्लेख गरेका छन् । उनले मिटर ब्याजी साहुका कारण ज्यान फालेको स्पष्ट पनिपारेका छन् । आर्थिक समस्यामा परेको लेख्दै उनले माधवलाल श्रेष्ठ, बालकृष्ण घिमिरे जस्ता मिटर ब्याजी साहुका कारण आफूजस्ता धेरेको जिवन असहज बन्दै गइरहेको सुसाइड नोटको अन्तिम वाक्यमा लेखेका छन् ।

उनले लेखेका छन्ः ‘म आर्थिक समस्यामा परेको छु । माधवलाल श्रेष्ठ, बालकृष्ण घिमिरे जस्ता अझ धेरै साहुहरुसँग कारोबार गर्नाले । १०० कडा ५०, ६०, ८० प्रतिशत सम्म ब्याज असुली गर्दै आएका थिए । यिनीहरु जस्ताले गर्दा मेरो यो हालत भयो । कोहि कसैले चेक देखाएर धम्काउन मिल्दैन । किनकी यी सबैले मबाट डबल त्रिबल गरी असुल उपर गरिसकेका छन् । दुई तीन गुण असुली गर्नेहरुले गर्दा नै समाजमा म जस्ता धेरैको जिवन असहज बन्दै गईरहेको छ ।’

मिटरब्याजीका कारण कोहि मालामाल भएको, कसैले धान्न नसकेर यसरी जीवन नै फाल्नुपर्ने जस्तो कदम उठाउन बाध्य भएको कुराहरु आइरहँदा यस घटनाले थप गम्भिर बनाएको छ । कास्की प्रहरी प्रमुख एसपी ओमबहादुर रानालाई हामीले सोध्यौंः ‘मिटर ब्याजी चलाउनेहरु विरुद्ध अब कसरी लाग्ने ?’ रानाले भने– ‘यो घटनाको अनुसन्धानसँगै हामी यस विषयलाई गम्भिरताका साथ लागिपर्दछौं ।’

श्रीमती, छोरी र एक महिने छोरो हेर्न ससुराली दाजुभाइलाई आग्रह

यसैबीच, पत्रको सुरुमै ढुंगानाले श्रीमती अनिता कुमारी बाँस्तोलालाई प्यारी श्रीमती भन्दै दुई वाक्य लेखेका छन् । मैले त संघर्ष गर्न सकिनँ तर तिमीमा त्यो क्षमता देखेको छु । अब बाकी जिवन छोरा र छोरीको जिम्मेवारी सम्हाल्दै र मैले गरेका गल्ती प्रति असहजताको समय गुजार्दै जानुपर्ने हुनाले त्यसप्रति माफी चाहन्छु माफ गरिदेउ । मैले तिमीलाई कहिल्यै सुख दिन सकिनँ, त्यसप्रति क्षमा माग्दछु । सानु छोरा र छोरीलाई तिम्रो जिम्मामा छाडेको छु । उही तिमीलाई दुःखी बनाउने फरिन्द्र ढुंगाना, अलबिदा लेखेका छन् ।

साथै, दाइ सुदर्शन पोख्रेललाई हजुरलाई ठूलो जिम्मा लगाएको छु, बहिनी भाञ्जा भाञ्जीको आँखामा आँशु कहिल्यै पनि नखसाओस् भनेका छन् । सालो भाइहरु सागर र शुशिललाई दिदी र भाञ्जा भाञ्जीको कहिल्यै पनि साथ नछाडी, जस्तोसुकै परिस्थितिमा पनि दिदीको संरक्षण र हेरचाह गर्न भनेका छन् । हर व्यक्तिहरु कुटुम्ब एक हुँदैनन्, त्यसकारण सबै परिस्थितिमा साथ नछाड्नुहोला भनेका छन् ।

व्यवहार बिग्रेपछि देश छाड्न गरिएकाे नाटक ?

यद्यपी, ढुंगानासँग निकट केहीले भने एक महिनाकाे छाेराे छाडेर देहत्याग गर्नेमा शंका गरेका छन् । उनले स्कुटी डिलमा राखेर ढुंगा पल्टाएर त्यसपछि नेपाल छाडेर भारत पसेकाे हुनसक्ने पनि शंका गरिएकाे छ ।

(पीडित परिवारलाई पर्न सक्ने मानसिक असरलाई मध्यनजर गर्दै उनको हस्तलिखित पत्र सार्वजनिक नगरिएकोः गण्डकन्युज सं.)

यो पनि पढ्नुहोस्

http://gandaknews.com/dhungana-bepatta/

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ


This will close in 2 seconds