के फेसबुक बन्द हुन्छ ? अमेरिकी सांसदको ६ सयभन्दा बढी प्रश्न, मार्क जुकरबर्गको उत्तर

के फेसबुक बन्द हुन्छ ? अमेरिकी सांसदको ६ सयभन्दा बढी प्रश्न, मार्क जुकरबर्गको उत्तर

juck

आठ करोड ७० लाख प्रयोगकर्ताका डाटा चोरिएको विषयलाई लिएर अमेरिकी कंग्रेसले फेसबुकका संस्थापक तथा प्रमुख मार्क जुकरबर्गलाई गत सोमबार र मंगलबार गरी दुई दिन प्रश्न सोध्यो ।

उनलाई १० घन्टासम्म सिनेट र कंग्रेसमा राखेर प्रश्न सोधिएको थियो । जुकरबर्गलाई सिनेटरहरूले ६ सयभन्दा बढी प्रश्न सोधेका थिए । ती फेसबुक प्रयोगकर्ताका प्रोफाइल विवरण लिएर तेस्रो पक्षले क्याम्ब्रिज एनालिटिका नामक राजनीतिक कन्सल्टेन्सीलाई उपलब्ध गराइएको खुलासा केही समयअघि भएको थियो । यसले गर्दा उक्त डाटाको प्रयोग गरी सन् २०१६ को चुनाव नतिजा बदल्ने काम भएको कुराले अमेरिकाको राजनीतिक वातावरण तातेको छ ।

यसैगरी, फेसबुकको प्रयोगबाट रुसले उक्त अमेरिकी चुनावमा हस्तक्षेप गरेको अपजस पनि फेसबुकमाथि लागेको छ । उक्त घटनाका कारण फेसबुक प्रयोगकर्ताको गोपनीयतामाथि नै ठूलो प्रश्चचिह्न खडा भएको छ । अमेरिकी कंग्रेसका विभिन्न सिनेटरहरूले जुकरबर्गलाई सोधेका केही प्रश्न यहाँ प्रस्तुत गरेका छौँ :

सिनेटर नेल्सनः प्रयोगकर्ताका डाटा चोरी भएको काण्ड अत्यन्तै निराशाजनक हो । यो आठ करोड ७० लाख प्रयोगकर्ताका डाटा चोरिएको विषय मात्र नभएर फेसबुकको लापरबाही हो । क्याम्ब्रिज एनालिटिकाले यति ठूलो संख्यामा प्रयोगकर्ताको डाटा जम्मा गरेको थाहा पाइसकेपछि पनि सम्बन्धित प्रयोगकर्तालाई डाटा चोरीबारे किन जानकारी गराइएन ?

जुकरबर्गः सन् २०१५ मा क्याम्ब्रिज एनालिटिकाले कुनै तेस्रो पक्षको एपबाट हाम्रा प्रयोगकर्ताको डाटा प्रयोग गरेको थाहा पाएपछि हामीले त्यसविरुद्ध कदम चलायौँ । उक्त तेस्रो पक्षको एपलाई तत्कालै हटायौँ । एप निर्माता र क्याम्ब्रिज एनालिटिकालाई जम्मा गरेका डाटा डिलिट गर्न भन्यौँ । प्रत्युत्तरमा आफूहरूले डाटा डिलिट गरेको जानकारी उनीहरूले दिए । तर, उनीहरूलाई विश्वास गर्नु नै हाम्रो गल्ती भयो । धोका दिए । हामीले आफ्नो तर्फबाट अनुसन्धान गर्नुपथ्र्याे । अब भविष्यमा फेरि यस्तो गल्ती हुन दिनेछैनौँ ।

सिनेटर नेल्सनः उक्त घटनाप्रति तपार्इंले माफी त माग्नुभयो, तर डाटा चोरी भएको विषयमा प्रयोगकर्तालाई जानकारी गराउनुभएन । जानकारी गराउने नैतिक जिम्मेवारी तपार्इंको हो कि होइन?

जुकरबर्गः सिनेटर महोदय, क्याम्ब्रिज एनालिटिकाले प्रयोगकर्ताका डाटा हटाइसकेको र आफूले प्रयोग नगरेको जानकारी हामीलाई दिएपछि उक्त विषय टुंगिएको महसुस हामीले गर्‍यौँ । त्यही हाम्रो गल्ती भयो । उनीहरूलाई पत्याउनु हुँदैनथ्यो । अहिले हाम्रो नीतिमा परिवर्तन गरेका छौँ । यस्तो गल्ती फेरि नदोहोरियोस् भन्नका लागि हामी प्रतिबद्ध छौँ ।

सिनेटर ट्युनः फेसबुकले गोपनीयतासँग जोडिएका गम्भीर प्रश्नको सामना गरेको यो पहिलो घटना पक्कै होइन । वायड म्यागेजिनका अनुसार आफ्नो कमजोरीका कारण प्रयोगकर्ताको गोपनीयता भंग भएसँगै फेसबुकले विगत १४ वर्षदेखि माफी माग्दै आएको छ । यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता जनाएको पनि एक दशकभन्दा बढी भइसक्यो । यस्तोमा तपार्इंले यसपटक मागेको माफी अगाडिभन्दा कसरी भिन्न छ ? फेसबुकले प्रयोगकर्ताको गोपनीयताको रक्षा गर्छ भनेर कसरी विश्वास गर्ने ?

जुकरबर्गः धन्यवाद अध्यक्ष महोदय । फेसबुक कम्पनी चलाइरहँदा हामीले धेरै गल्ती गरेका छौँ । मेरो विचारमा आफ्नो सानो कोठाबाट सुरु गरेको कम्पनी आजको स्थितिमा केही गल्ती नगरी आइपुग्न वास्तवमा असम्भव थियो । मानिसलाई एक–अर्काप्रति नेटवर्कका माध्यमबाट जोडिन सहयोग गर्ने सेवा हामीले सुरु गरेका हौँ । बारम्बार उही गल्ती नदोहोर्‍याउने कोसिस हामीले गरेकै हौँ । तर, हाम्रो सेवाको जुन प्रकृति छ त्यसले गर्दा व्यवस्थापन गर्न हामीलाई कठिन भएको हो । गोपनीयताका अलावा पनि झुटो समाचार र चुनावमा विदेशी हस्तक्षेप भएका घटानाहरूबाट निकै ठूलो भूमिका खेल्नुपर्ने महसुस गरेका छौँ । फराकिलो दायराबाट हाम्रो जिम्मेवारीलाई हेर्नुपर्ने हुन्छ । यी घटनापश्चात् भविष्यमा साँच्चै प्रयोगकर्ताले फरक महसुस गर्ने गरी समस्याको समाधान गर्न म प्रतिबद्ध छु ।

–हाम्रो जिम्मेवारी यति ठूलो होला भनेर सोचेनौँ । हामीबाट ठूलो गल्ती भयो । यो मेरो गल्ती
थियो । मैले नै फेसबुकको सुरुवात गरेकाले अहिलेसम्म जे भयो सबैको जिम्मा म लिन्छु । आगामी दिनमा गल्ती दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्दछु ।

-घृणा फैलाउने सामग्रीलाई फैलिनबाट रोक्न कृत्रिम बौद्धिकताको प्रयोग गर्दै आएका छौँ । तर, अंग्रेजीबाहेक पनि प्रयोगकर्ताले आफ्नो परिवेशअनुरूपको फरक–फरक भाषाको प्रयोग गर्ने अवस्थामा आपत्तिजनक सामग्रीको पहिचान गर्न अत्यन्तै कठिन छ ।

-सन् २०१५ मा क्याम्ब्रिज एनालिटिकाले कुनै तेस्रो पक्षको एपबाट हाम्रा प्रयोगकर्ताको डाटा प्रयोग गरेको थाहा पायौँ । त्यसलगत्तै एप निर्माता र क्याब्रिज एनालिटिकालाई जम्मा गरेका डाटा डिलिट गर्न भन्यौँ । उनीहरूले डाटा डिलिट गरेको जानकारी दिए । तर, गरेनछन् । धोका दिए ।

सिनेटर ट्युनः वैधानिक राजनीतिक बहस र कसैप्रति घृणा फैलाउने अपशब्दलाई कसरी छुट्याउने भन्ने पनि चासोको विषय बनेको छ । कृत्रिम बौद्धिकता र अन्य केही प्रविधिमा मात्र फेसबुक आधारित भइरहेको सन्दर्भमा कसैप्रति लक्षित घृणा फैलाउने लेख तथा भनाइ प्रयोग भएको हो–होइन कसरी छुट्याउनुहुन्छ ?

जुकरबर्गः अध्यक्ष महोदय, यसको समाधानार्थ हालको कन्टेन्ट नीतिमा हामी व्यापक परिवर्तन गर्नेछौँ । घृणा फैलाउने सामग्रीलाई फैलिनबाट रोक्न कृत्रिम बौद्धिकताको प्रयोग गर्दै आएका छौँ । प्रयोगकर्ताले आपत्तिजनक तथा द्वेष फैलाउने शब्द प्रयोग भएको रिपोर्ट गरेमा तत्कालै त्यस्तो सामग्री हटाउँछौँ । निश्चित तहसम्मका आपत्तिजनक सामग्रीको पहिचान गर्न सक्ने कृत्रिम बौद्धिकताको विकासमा हामी लागेका छौँ । यसका साथै, सुरक्षा तथा कन्टेन्ट पुनरावलोकन गर्न यो वर्षको अन्त्यसम्म २० हजार मानिस खटाउने योजनामा छौँ । तर, अंग्रेजीबाहेक पनि प्रयोगकर्ताले आफ्नो परिवेशअनुरूपको फरक–फरक भाषाको प्रयोग गर्ने अवस्थामा आपत्तिजनक सामग्रीको पहिचान गर्न अत्यन्तै कठिन छ । आउँदो पाँचदेखि १० वर्षभित्र यस्तो समस्याको समाधान गर्न धेरै हदसम्म सफल हुनेमा म आशावादी छु ।

सिनेटर फेइन्सटेइनः गलत सूचना प्रवाहका लागि स्वचालित इन्टरनेट सफ्टवेयरको प्रयोग भएको छ । फेसबुकको दुरुपयोग गर्नेलाई कारबाही गर्न के काम गर्दै हुनुहुन्छ ?

जुकरबर्गः फेसबुकमा झुटो अकाउन्ट खोल्ने अनुमति छैन । यसका बाबजुद झुटो अकाउन्टको पहिचानका लागि हामीले प्राविधिक साधन विकास गरेका छौँ । झुटा रुसी अकाउन्टलाई हटाउने कार्यमा यस्ता साधनको प्रयोग भएका छन् । विश्वभर आउँदा दिनमा हुने चुनावमा झुटो अकाउन्ट प्रयोग हुन नदिनु हाम्रो प्रमुख प्राथमिकता हो ।

सिनेटर क्यान्टवेलः सन् २०१६ को राष्ट्रपति चुनाव दौरान क्याम्ब्रिज एनालिटिकाले ट्रम्पलाई सहयोग गरेको भन्नेमा तपार्इंको के धारणा छ ? त्यस प्रकारको सूचना प्रवाह गर्न फेसबुक कर्मचारीको प्रयोग भएको हो ?

जुकरबर्गः सिनेटर महोदय, विज्ञापनदाताले वा कुनै अभियानकर्ताले हाम्रो सेवा मागेको खण्डमा हामी सेवा दिन्छौँ । यस हिसाबले हेर्दा निर्वाचन अभियानमा हामीले ट्रम्पलाई सहयोग गर्‍यौँ ।

सिनेटर क्यान्टवेलः यसको मतलब ट्रम्प पक्षलाई चुनावमा सहयोग गरेको कुरा तपार्इंले स्वीकार गर्नुभयो ?

जुकरबर्गः सिनेटर महोदय, उक्त प्रश्नलाई पुनः दोहोर्‍याउनुहुन्थ्यो कि ? तपाईंले सोधेको प्रश्नको आशय बुझ्न चाहन्छु ।

सिनेटर क्यान्टवेलः सन् २०१६ को राष्ट्रपति चुनावमा ट्रम्प अभियानको रणनीति बनाउन क्याम्ब्रिज एनालिटिकाले काम गरेको थियो र यस कार्यमा फेसबुकका कुनै कर्मचारीको संलग्नता भएको हो कि होइन ?

जुकरबर्गः सिनेटर महोदय, क्याम्ब्रिज एनालिटिकासँग हाम्रा कर्मचारीको संलग्नता भए–नभएको मलाई थाहा छैन । तर, व्यापारिक हिसाबमा अन्य कम्पनीलाई सहयोग गरेझैँ ट्रम्प अभियानमा सहयोग भने गरेका हौँ ।

सिनेटर क्यान्टवेलः त्यसो हो भने सो समयमा तपाईंका कर्मचारी फेसबुक कम्पनीमा काम गर्नुका साथै ट्रम्प अभियानमा पनि सहभागी भएको हुन सक्छ, होइन ?

जुकरबर्गः सिनेटर महोदय, अहिले नै मलाई केही थाहा छैन । यसबारे जाँचबुझ गरेर मात्र यहाँसामु केही बताउन सक्छु ।

सिनेटर लिहीः फेसबुकमा अझै पनि झुटा तथा भ्रामक पेजहरू छन् । सन् २०१६ को चुनाव बिथोल्न रुसी एजेन्टले प्रयोग गरेका फेसबुक पेजझैँ देखिन्छन् । यस्ता ग्रुप रुसी पक्षले प्रयोग गरेका हुन् कि होइनन् भन्ने यकिन गर्न सक्नुहुन्छ ?

जुकरबर्गः सिनेटर महोदय, गत साता हाम्रो विज्ञापन नीतिमा प्रमुख परिवर्तन गरेका छौँ । यसबाट हामीलाई विज्ञापन गर्ने हरेक विज्ञापनदाताको पहिचान गर्न सक्नेछौँ ।

सिनेटर हिलीः खास रुसी एजेन्टसँग सम्बन्धित पेजबारे मैले सोधेको हुँ । ती रुस सम्बन्धित पेज हुन् कि होइनन् ?

जुकरबर्गः त्यस्तो सामग्रीबारे म ठ्याक्कै जानकार छैन ।

सिनेटर लिहीः तर, तपार्इंले आफ्नो विज्ञापन नीति परिवर्तन गर्नुभएको छ । अब त पेजमा रुसी एजेन्टको संलग्नता भए–नभएको पत्ता लगाउन सक्नुहुन्छ नि ?

जुकरबर्गः त्यसका लागि हामी काम गरिरहेका छौँ । राजनीतिक विषयमा हामीलाई विज्ञापन दिने दाताहरूको पहिचान गर्ने कार्यमा लागिपरेका छौँ । अनेस्ट एड एक्टको मर्मअनुसार हामी काम गर्दै छौँ ।

सिनेटर लिहीः तर, मैले सोधेको प्रश्नको खास उत्तर दिन किन सक्नुभएन ?

जुकरबर्गः म..म त्यो खास विषयमा जानकार छैन ।

सिनेटर लिहीः ठीक छ । त्यसो हो भने यसको उत्तर खोजेर मसमक्ष ल्याउनुहुन्छ ?

जुकरबर्गः उत्तरसहित मेरो समूह तपाईंसमक्ष आउनेछ ।

सिनेटर विकरः फेसबुकले एन्ड्रोइड फोन प्रयोगकर्ताको कल तथा टेक्स्ट हिस्ट्री जम्मा गर्छ भन्ने कुरा बाहिर आएको छ, के यो साँचो हो ?

जुकरबर्गः सिनेटर महोदय, प्रयोगकर्ताका फेसबुक साथीहरूलाई मेसेज पठाउन हामीसँग मेसेन्जर नामक एप्लिकेसन छ । यो एपले प्रयोगकर्ताका टेक्स्ट मेसेजलाई सिंक्रोनाइज गर्ने अप्सन दिएको छ । यसरी सम्बन्धित साथीको मेसेज एउटै एपमा मोबाइल र मेसेन्जरको टेक्स्ट एकै ठाउँमा हेर्न सकियोस् भन्नका लागि गरिएको हो ।

सिनेटर विकरः दुवै मेसेज एकै ठाउँ राख्न सकिने अप्सन मात्र हो कि यो अप्सन प्रयोग नगर्न पनि सकिन्छ ?

जुकरबर्गः प्रयोगकर्ताले मोबाइल टेक्स्ट र मेसेन्जर एपलाई सिंक्रोनाइज गरेपछि मात्र मोबाइल टेक्स्टमा हाम्रो पहुँच हुन्छ ।

सिनेटर विकरः यसको अर्थ सो विकल्प नरोजेसम्म फेसबुकले प्रयोगकर्ताका कल तथा टेक्स्ट हिस्ट्री जम्मा गर्दैन, होइन त ?

जुकरबर्गः हो, ठीक भन्नुभयो ।

सिनेटर विकरः प्रयोगकर्ताले फेसबुक लग आउट गरिसकेपछि पनि फेसबुकले प्रयोगकर्ताको इन्टरनेट ब्राउजिङ एक्टिभिटी हेर्न सक्छ भन्ने रिपोर्ट पनि बाहिर आएका छन् । के यो साँचो हो ?

जुकरबर्गः सिनेटर महोदय, म..म यस विषयमा ठ्याक्कै भन्न सक्दिनँ । मेरो समूहसँगको छलफलपछि पक्कै केही भन्न सक्छु ।

सिनेटर विकरः तपार्इंलाई थाहा छैन ?

जुकरबर्गः फेसबुक प्रयोग गरिरहँदा मानिसले इन्टरनेटमा कुकिजको प्रयोग गर्छन् भन्ने मलाई थाहा छ । तर, तपार्इंले भनेको प्रश्नको उत्तरमा पहिले निश्चित हुन चाहन्छु ।

सिनेटर विकरः यसको उत्तर कहिले दिनुहुन्छ ?

जुकरबर्गः महोदय, यसका लागि फलोअप गर्नेछु ।

सिनेटर ग्राहमः इन्टरनेट उद्योगलाई नियमन गर्न आवश्यक नियम बनाउन हामीलाई सहयोग गर्नुहुन्छ ?

जुकरबर्गः पक्का गर्नेछु ।

सिनेटर ग्राहमः ठीक छ । त्यसो भए हामीलाई केही सम्भावित नियम पठाउनुहुन्छ ?

जुकरबर्गः हजुर । मेरो समूह तपार्इंहरूलाई सहयोग गर्न तयार छ । यसका लागि विभिन्न इन्टरनेट क्याटेगोरीसँग बसेर हामी बहस गर्न सक्छौँ । विभिन्न इन्टरनेट कम्पनीबीच बहसको आवश्यकता छ ।

सिनेटर ग्राहमः हामी प्रतीक्षामा छौँ ।

जुकरबर्गः हाम्रो जिम्मेवारी यति ठूलो होला भनेर सोचेनौँ । हामीबाट ठूलो गल्ती भयो । यो मेरो गल्ती थियो । मैले नै फेसबुकको सुरुवात गरेकाले अहिलेसम्म जे भयो, सबैको जिम्मा म लिन्छु । आगामी दिनमा गल्ती दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्दछु ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds