जो डुंगासँगै पारि तरे [फेवातालका माझी ९०% सिन्धुलीका, कसरी पोखरा आए? लेकसाइडमा घर जोडे?]

जो डुंगासँगै पारि तरे [फेवातालका माझी ९०% सिन्धुलीका, कसरी पोखरा आए? लेकसाइडमा घर जोडे?]

fewa lake

पोखरा — फेवातालमा आजकाल स्थानीयले डुंगा चलाउँदैनन् । बाराही मन्दिर घुम्दै गर्दा डुंगा चालकको घर सोधियो भने उत्तर आउँछ, ‘सिन्धुली ।’ तालको छालसँगै घोत्लिँदा मनमा उब्जने प्रश्न हो, ‘सिन्धुलीबाट पाहुना माझी कसरी आइपुगे फेवाताल ?’ यसको जवाफ भेट्न २५ वर्षअघि पुग्नुपर्छ । सुन्दर विश्वकर्मा त्यस्ता अभियन्ता हुन् जसले सिन्धुलीवासीको पसिनाबाट फेवाताल भरिभराउँ बनाए । कान्तिपुर दैनिकका लागि दीपक परियारले लेखेका छन् ।

०२५ सालमा जन्मिएका उनले फेवातालमा बहना फिट्न थालेको पच्चिसैं वर्ष भयो । सिन्धुलीको सोल्पाठानाबाट १४ वर्षको उमेरमा घर छोडा उनीसँग फुट्टी कौडी थिएन । अहिले लेकसाइडमा आºनै घर छ । दुई सन्तानलाई शिक्षादीक्षा दिएका छन् । २५ वर्षको छँदा साहुको डुंगा चलाउँथे । अहिले आºनै डुंगा आधा दर्जन पुर्‍याएका छन् । बुबा आमालाई यतै बोलाएका छन् । माइला भाइ रामबहादुर र कान्छा धनबहादुर उनीसँगै डुंगा खियाउँछन् । कान्छा भाइले पनि लेकसाइडमै घर जोडेका छन् । उनकै कारण फेवातालको पानीमा सिन्धुलीवासीको पसिना परेको छ ।

फेवातालमा डुंगा खियाउँदै सिन्धुलीका सुन्दर विश्वकर्मा ।

फेवातालमा डुंगा खियाउने ९० प्रतिशत सिन्धुलीवासी छन् । सुन्दरको गाउँका मात्रै आठजना पुगिसके । पोखराबाट गाउँ फर्किएपछि उनीसँगै छिमेकका दाजुभाइ पोखरा आए । तिनले अरूलाई भने । अर्को गाउँका आफन्तले थाहा पाए । अहिले सिन्धुलीका डुंगा चालकको भरोसा बनेका छन् उनी ।

सुन्दरका सुरुवाती दिन त्यति सुन्दर छैनन् । गरिब परिवारमा जन्म । लेखपढ गर्न पाउनु उस्तै हो । बर्खामा खेतबारीमा काम गर्‍यो । हिउँदमा गाइभैंसी चरायो । पैसाको मूख देख्नु त्यस्तै हो । गाउँमा पैसा कमाउनलाई काम थिएन । एकोहोरो दैनिकीले उनलाई झोंक चलायो । तिनताका गाउँमा काठमाडौंमा काम गर्ने छिटपुट हुन्थें । गाउँ पुगेर राजधानीको बखान सुनाउथे । उनलाई पनि काठमाडौं मोहले तान्यो । थाहा पाउने गरी हिडे जान नदिने डरले आधा रातमै घर छोडे । सुको पैसो नलिई दुई दिन हिडेर सर्लाहीको मिर्चैया पुगे । काठमाडौं जाने भाडा थिएन । आफन्तले उखु पेल्ने ठाउँमा काम लगाइदिए ।

एक सिजन उखु पेलेरै बसे । रात दिन काम गरेको २० रुपैयाँ पाउँथे । काठमाडौंको सपना देख्न उनले छाडेका थिएनन् । बाटो खर्चको जोहो गरे । काम छोडेर रात्रिबसमा काठमाडौं हान्निए । ‘सोझोसिधालाई भित्र सिट पाइन्थेन,’ उनले सम्झिए, ‘एकसरो लुगामा लगलग काँप्दै हुडमा बसें ।’ भोलिपल्ट विहान ५ बजे काठमाडौं ओर्लिए । नयाँ ठाउँ, नयाँ मान्छे, कहाँ जाने, के गर्ने केही मेसोमेलो थिएन । काठमाडौं अहिलेजस्तो भिडभाड थिएन । बेलुका ५ बजे उनले एकजना ब्राह्मण भेटे । ति ब्राह्मणले नाम सोधे । उनले जवाफ दिए, ‘सुन्दर भुजेल ।’ ब्राह्मणले फेरि सोधे, ‘घाँस काट्ने, गोबर सोहोर्ने, दाउरा चिर्ने, धान कुट्ने काम गर्छौं ?’ उनले जानेकै त्यहीं थियो । सिधैं ‘गर्छु’ भने । महिनामा ४ सय दिने सर्तमा उनी ति ब्राह्मणको घरमा काम गर्न बसे ।

घरकी नातीनी एकदिन बिरामी परिन् । धामीकहाँ लाने सल्लाह भयो । धामीले ब्राह्मणलाई ‘तिम्रो घरमा सानो जातको बास रहेछ, त्यसैले कुलपितृ बिगारेर नातीनी बिरामी भएको’ भन्छ कि भन्ने ठूलो चिन्ता रहेछ । ‘कसो धामीले त्यसो भनेनन्,’ फेवाताल छेउमा उनले भने, ‘त्यतिबेला यो धामीझाँक्री पनि अन्धविश्वास रहेछ भन्ने थाहा भयो ।’ उनले आºनै बुद्धिले भने जात ढाँटेका होइन रहेछन् । काठमाडौं आएपछि बाटोमा हिर्ड गर्दा एकजनाले रोटी, नुन र पानी खान दिएछन् । तिनले नाम सोध्दा उनले सुन्दर विश्वकर्मा भनेछन् । त्यसपछि ति व्यक्तिले अर्ति दिएछन्, ‘यस्तो नाम भन्यौं भने काठमाडौंमा चिसोले मर्छौं । सानो जातले बास पाउँदैनन् ।’ त्यसपछि उनी सुन्दर विश्वकर्माबाट ‘सुन्दर भुजेल’ बनेका रहेछन् ।

महिनाको चार सय रुपैयाँ पाउने आशामा बसेका उनलाई साहुले चार महिनाको पो चार सय दिए । घर जान्छु भनेर काम चटक्कै छोडे । साहुले टिकट काटिदिएर बस चढाउन आए । उनलाई के मुड चल्यो कुन्नी साहु गएपछि टिकटसिकट फालेर बसबाट ओर्लिए । साथमा अलिअलि दाम थियो । केही दिनपछि गाउँकै गोरे विकलाई भेटे । तिनले नाला खन्ने काममा लगाइदिए । दिनको २५ रुपैयाँ पाउँथे । तिनैले उनलाई पोखरा जाने प्रस्ताव राखे । उनीसँगै पाँचजना पोखरा आए । पोखरामा त्यतिखेर नालामुखका कान्छा शाही भन्ने नाम चलेका ठेकेदार थिए । घर बनाउने ठेक्का लिन्थे । उनी पनि ज्यामी काम गर्न तम्सिए ।

चिप्लेढुंगामा बेलायती सेनाका कप्तान मिनबहादुर गुरुङको घरको ठेक्का कान्छा शाहीले पाए । सुन्दरको समूह त्यहीं काम गर्‍यो । काम सकियो । मिनबहादुरले सुन्दरलाई खोज्दै आए । ‘अरु चारजना अलि उरन्ठेउला थिए,’ उनले भने, ‘म अलि सोझो र भनेको मान्ने भएर मेरो काम मन पराएछन् ।’ मिनबहादुरको पुरानो घर बगरमा थियो । चिप्लेढुंगाको घर कुर्न सुन्दरलाई राखे । ज्यामी काम गर्दै उनी त्यहाँ तीन वर्ष बसे ।

लेकसाइडमा मिनबहादुरको छोरीज्वाइँको घर थियो । छोरीज्वाइँ हङकङ थिए । एकजना पूर्वतिरका राईलाई घर कुर्न राखेका थिए । राई थरका ति मान्छेले घर छोडेर भागेपछि मिनबहादुरले उनलाई बसाले । लेकसाइडमा त्यतिखेर अहिलेजस्तो ठुल्ठूला होटल रेस्टुरेन्ट थिएनन् । खर र टिनले छाएका, माटोको गारो भएका दुई पाखे घर, ढुंगाको बान्नो, बासको तगारो हुन्थें । त्यहाँ उनले ज्यामी काम गरेरै सात वर्ष बिताए । एकदिन मिनबहादुर छोरीज्वाइँको पुगे । सिमन्टीले खाएका हातखुट्टा देखेरे उनलाई माया लाग्यो । रक्सी पार्दा तताएको पानीले सर्लक्क नुहाउँन लगाए । उपाए सिकाए, डुंगा चलाउने । आºना सम्धी रनबहादुर गुरुङलाई दुई डुंगा किनिदिन भन्न लगाए । सुन्दरले उसैगरी भने । दुई डुंगा चलाउने, आधा कमाइ आफू राख्ने आधा साहुलाई बुझाउँने । रनबहादुर प्रस्ताव स्विकारे । त्यहीं दिन सुन्दरको ‘टर्निङ प्वाइन्ट’ बन्यो । सान दिन लगाएर डम्बर नेपालीले २० हजार रुपैयाँमा दुईवटा डुंगा बनाइदिए । तीन वर्षमा उनले तीनै हजार रुपैयाँ जोडे । आºनै डुंगा खरिदे ।

रनबहादुरले उनलाई गाउँ गएर नागरिकता बनाउने, बिहे गर्ने, घडेरी जोड्ने सल्लाह दिए । घर छोडेको १४ वर्षपछि उनी गाउँ फर्किए । एक दिदी, दुई भाइ र दुई बहिनी सबैको बिहे भइसकेको रहेछ । ‘गाउँमा त मलाई मरिसक्यो भन्ने सोचेका रहेछन्,’ उनले ति दिन सम्झिए, ‘म गएपछि सबै खुसी भए ।’ फर्किएर आएर अर्को वर्ष फेरि गए । यसपटक फर्किदा उनी एक्लै थिएनन् । बिहे गरेर श्रीमती पनि साथै ल्याए । केही वर्षपछि रनबहादुरले नै सापटी दिएर लेकसाइडमा घरजग्गा जोडे । डुंगा चलाएरै दुई वर्षमा ऋण चुक्ता गरे ।

सुरुसुरुमा डुंगा चलाउँदा उनले कम्ता हण्डर खेप्नु परेन । ‘कहाँ हो कहाँ सिन्धुलीको मान्छे आएर डुंगा चलायो भनेर यहाँकाले रिसइबि गर्थे,’ उनले भने, ‘त्यहीं इखले म आज यहींको भएको छु ।’ स्थानीय डुंगा चालकले दिनु दु:ख दिएको उनलाई सम्झना छ । शिरको टोपी मिल्क्याइदिने, इस्टकोट फाल्दिने, हात माथि उठाउन लगाएर खल्तीबाट पैसा झिक्दिने गर्थे । ‘अहिले त्यसरी दु:ख दिनेहरू कोही छैनन्,’ उनी भन्छन्, ‘आºनो सुरले काम गर्न पाइएको छ ।’ मनिराम परियार, टेकबहादुर भुजेलले भने सहयोग नै गरे ।

उनले आºनो डुंगामा नेता, मन्त्रीदेखि अरुपनि ठुल्ठूला मान्छे बोके । कसैको नाम कण्ठ छैन । राजा वीरेन्द्रकी छोरी श्रुतिको नाम भने उनले कहिल्यै बिर्सन सक्दैनन् । श्रुति भारतमा पढ्ने बेला स्कुलले विद्यार्थीलाई पोखरा भ्रमणमा ल्याउँदा उनी पनि रहिछन् । सुन्दरले विद्यार्थी बोकेर डुंगा चलाउँदै थिए । सेना चढेको डुंगा उनको पछि लाग्यो । ‘अलि राम्रोसँग चलाउनु, राजाको छोरी होइबक्सन्छ,’ भनेपछि मात्रै उनले पत्तो पाए । ‘नत्र त मैले कहाँ चिन्नु † सबै सराबर थिए,’ उनले भने ।

आफूले डुंगा चलाउन थालेदेखि २ सय ५० ले ज्यान फालिसकेको उनको अनुमान छ । कोही छाल काट्न नजानेर पल्टेका छन् । कोही हाम फालेका छन् । कोही फोटो खिच्दाखिच्दै तालमा खसेका छन् । उनको डुंगा अहिलेसम्म दुर्घटनामा परेको छैन । लाइफ ज्याकेट अनिवार्य भएकोले अहिले दुर्घटना कम भएको उनको अनुभव छ । कहिलेकाहीं उनको डुंगा राखेको ठाउँबाट गायब हुन्छ । त्यो रात उनले सपनामा डुंगा डुबेको ठाउँ देख्छन् । भन्छन्, ‘भोलिपल्ट गएर हेर्दा डुंगा त्यहीं ठाउँमा हुन्छ ।’

राम्रो काम गरेकोले डुंगा व्यवसायी समितिले उनलाई पोहोर सम्मान पनि गर्‍यो । घर छोडेर पोखरा आएकोमा उनलाई कुनै गुनासो छैन । सधैं हसिलो मुद्रामा भेटिने उनी आºनो कर्मदेखि खुसी छन् । जुनिभरि डुंगा तार्ने माझी आफू भने वारी नै रहन्छ भनिन्छ । उनलाई भने आफू पनि पारी तर्न सकेजस्तो लाग्छ । ‘खाइ नखाइ बास जोडेको छु, छोराछोरी पढाएको छु,’ अलि भावुक हुँदै उनले भने, ‘बाउले केही गरिदिएन भनेर छोराछोरीले सराप्न पर्दैन ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ