स्थानीय, समाजदेखि सरकारसम्म ‘फिर्के खोला’ माथि गिद्धे आँखा

स्थानीय, समाजदेखि सरकारसम्म ‘फिर्के खोला’ माथि गिद्धे आँखा

firke

पोखरा, १२ बैशाख / वडा नम्बर ६ का रुद्रनाथ गौतमको घर फिर्केखोलाको मापदण्डविपरीत ठडिएको छ । पोखरा–८ मा पोखरा इन्जिनियरिङ कलेजको आधा भाग फिर्के मिचिएरै बनेको छ । वडा नम्बर १७ मा पश्चिमाञ्चल प्रहरी गणको घरसमेत फिर्के खोलाकै दोहन गरे बनेको छ । समाधान दैनिकका लागि अमृत सुवेदीको न्युज छ ।

नेपाल पुन मगर समाजको पुरै घर पोखराको मध्यभागबाट बगेको फिर्केखोलाको मापदण्ड मिचेर बनेको छ । वडा नम्बर २ मै शंकर अधिकारीको घर फिर्के मापदण्डविपरीत नै छ । वडा नम्बर ५ मा सूर्य शाहीले फिर्के खोलाकै मापदण्डभित्र आरसिसी घर बनाएका छन् ।

यी त केही उदाहरणमात्रै हुन् फिर्केखोलाको मापदण्डविपरीत झन्डै २ सय संरचना बनेको देखिएको छ । यसमा कतिपय संचना महानगरपालिकाको अनुमति लिएरै ठडिएका छन् । पोखराको बजार क्षेत्रबाट बगेको फिर्के खोला वषौंदेखि यसरी मानवीय चपेटामा पर्दै आएको छ । सशत्र प्रहरी कार्यालय प्रदेश ४ भवनबाट सेप्टिक ट्यांक, चर्पी, भान्छा कोठाबाट फोहोर सिधैं फिर्के खोलामा मिसिन्छ ।

फिर्केखोला मिचेर कतिपय संरचना बनिसकेका छन् भने कतिपय बनिरहेका छन् । वडा नम्बर १८ को अँधेरीकुनादेखि वडा नम्बर १७ र ६ को संगम गौरीघाटमा पुगेर फिर्केखोला फेवातालमा मिसिन्छ । ८ किलोमिटर लम्बाई रहेको फिर्केको बढीमा १५ मिटरदेखि ५ मिटरसम्मको फरकफरक चौडाइ छ । मानवीय अतिक्रमणबाट खुम्चिएर फिर्केखोला साँघुरो बनेको छ भने चर्पिदेखि ढलसम्म मिसिएर डम्पिङ साइट बनेको छ ।

मानवीय अतिक्रमणको असर फिर्केखोलादेखि फेवातालसम्म परेको छ । फिर्के दोहन र त्यहीँबाट बग्दै गएको फोहोरले फेवाताल पुरिँदै र प्रदूषित हुँदै गएकोमा धेरैको चिन्ता छ । अँधेरी कुनादेखि फेवातलसम्मै फिर्के खोलाको मापदण्ड मिचिएर संरचना बनेका छन् ।
बनेका कतिपय संरचना अनुमति लिएरै बनेका छन् भने कतिपयले बिना अनुमति । फिर्के बचाउनुपर्ने नागरिकको खबरदारी र गुनासोपछि पोखरा महानगरपालिकाले थालेको फिर्के खोला रेखांकनको काम सकेर प्रतिवेदन तयार गरेको छ ।

प्रतिवेदनमा फिर्केको मापदण्ड मिच्नेमा सामाजिक व्यक्ति, संस्थादेखि सुकुम्बासी, शैक्षिक संस्थासम्म देखिएका छन् । फिर्केको मापदण्ड मिचेर ठूलाठूला आरसिसी संरचनादेखि साना टहरासम्म खडा भएका छन् । फिर्के मिच्नेमा विभिन्न समाजघर, मठमन्दिर र सरकारी कार्यालयसम्म देखिएका छन् ।

फिर्के खोलाको १० मिटर आसपासमा कुनै पनि संरचना बनाउन नपाउने मापदण्ड छ । यहाँ खोलामै जग हालेरसमेत संरचना बनेका छन् । १० मिटर मापदण्डलाई नै कायम गर्ने गरी बनिसकेका संरचनाको रेखांकन गर्दा धेरै क्षति हुने देखेपछि महानगरपालिकाले ५ मिटर राइट अफ वे मानेर रेखांकन गरेको हो । रेखांकनका क्रममा १ सय ९२ भन्दा बढी संरचना फर्के खोलाको मापदण्ड विपरीत बनेको देखिएको छ ।

महानगरको अनुमति लिएर कतिपय व्यक्तिले संरचना खडा गरेका छन् भने आमा समूह, लायन्स क्लब, समाज घर, लिटिलस्पेट मावि, मठमन्दिर, सरकारी कार्यालयसम्मले भवन बनाएका छन् ।

पोखरा महानगरपालिकाले चैत २ गतेदेखि फिर्के खोलाको रेखांकन गरेको छ । महानगरका इन्जिनियर महेन्द्र गोदारको संयोजकत्वमा बनेको समितिले रेखांकनपछि बुझाएको प्रतिवेदनमाथि छलफल भएको छ । पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला नापी, मालपोत कार्यालय र जिल्ला प्रहरी कार्यालयको उपस्थितिमा भएको छलफलले प्रतिवेदनमाथि अबको बाटो तय गरेको छ ।

कानुनी रुपमै बनाएका संरचना कति भत्काउने र त्यसको क्षतिपूर्ती कति दिने भन्ने विषयमा ‘डिटेल ड्यामेज स्टमेट’ तयार पारिने भएको छ । जिल्ला नापी कार्यालय, मालपोत कार्यालय र पोखरा महानगरपालिकाले स्टमेट तयार पारी १५ दिनभित्र महानगरपालिकामा प्रतिवेदन पेस गर्ने छ ।

‘१५ दिनभित्र स्टमेटसहितको प्रतिवेदन आएसँगै फिर्के खोलाको मापदण्डविपरीत बनेका संरचना भत्काउने काम सुरु हुन्छ,’ महानगरपालिकाका मेयर मानबहादुर जिसीले भने, ‘महानगरपालिकाले भत्काउनु पहिले नै आफैं मापदण्डविपरीत बनेका संरचना भत्काउनेलाई प्रोत्साहन गरिने छ ।’

फिर्केको मापदण्डभित्र बनेका संरचनामा महानगरले रेखांकन गर्दा चिनो लगाएर छाडेको छ । खोलाको ५ मिटर राइट अफ वेभित्र पनि कतिपयका निजी पैत्रिक सम्पत्ति छन् भने ५ मिटर बाहिर पनि कतिपय सार्वजनिक जग्गामा पनि छन् । त्यसको अध्ययन गरी खास अवस्था के हो भन्ने तयार पारिने मेयर जिसीले जानकारी दिए ।

‘फिर्केको विषय पटकपटक बल्झाई रहनुभन्दा अब दीर्घकालीन रुपमा सुल्झाएर जाने योजनामा हामी छौं,’ मेयर जिसीले भने, ‘रेखांकन र लगतसहितको प्रतिवेदनपछि कसरी कार्यान्वयन गर्न सकिन्छ भनेर अध्ययनकै लागि नापी, मालपोतसँगको समन्वयमा १५ दिनभित्र प्रदेवेदन तयार गर्ने भनेका छौं ।’

महानगरपालिकाको अभियानलाई जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । ‘नियम मिचेर बनेका र नियमअनुसारै बनेका संरचनाको अवस्था के हो त भन्ने थाहा भए पनि फिर्के बचाउन एक खालको मिसन तयार गर्न सकिन्छ,’ कास्कीका सिडिओ तारानाथ अधिकारीले भने, ‘गल्ती गर्नेलाई दण्डित गर्ने, क्षतिपूर्ति पाउनेलाई ससम्मान हटाउने र नयाँ संरचना मापदण्डविपरीत बन्न नदिने गर्ने हो ।’

पाँच वर्षअघि पनि तत्कालीन पोखरा उपमहागरपालिका, जिल्ला प्रशासन कार्यालय र पोखरा उपत्यका नगर विकास समितिको पहलमा खोला अतिक्रण गरी बनाइएका संरचना हटाउने अभियान थालेको थियो तर त्यसले पूर्णता भने पाउन सकेन ।
‘यसको विस्तृत अध्ययनपछि आगामी बजेटमा यसलाई प्राथमिकताका साथ राखेर केही योजना तयार पार्नेछौं,’ महानगरका मेयर जिसीले भने, ‘अब पटकपटक यो विषय उठिरहने र काम गरेजस्तोमात्रै गर्ने पक्षमा हामी छैनौं ।’

महानगरपालिकाले फिर्केको राइट अफ वेमा फुट ट्याक बनाउने योजना बनाएको छ । फुट ट्याकसँगै साइकल ट्याकसमेत बनाउने महानगरपालिकाको दिर्घकालीन योजना छ । खोलाको दायाँबायाँ हिँडडुल गर्ने उद्देश्यले खोला संरक्षण गरी खोला वरपर हरियाली फुटपाथ बनाउने योजनामा रहेको मेयरका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले बताए ।

फिर्के खोला मापदण्डमा परेका संरचना
समाजघर/ संघसंस्था ११
आरसिसी पक्की निजी घर ७२
कच्ची घर टहरा ८६
विद्यालय तथा कलेज ३
सरकारी भवन ७
मठमन्दिर २

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ