पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी हस्पिटल) को फार्मेसीबाट डेढ करोड आम्दानी

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी हस्पिटल) को फार्मेसीबाट डेढ करोड आम्दानी

Gandaki Hospital

एन एच पौडेल, पोखरा । गत वर्षदेखि आफ्नै फार्मेसी सञ्चालन गरेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले डेढ करोड भन्दा बढी आम्दानी गरेको छ । सस्तो मूल्यमा बिरामीलाई औषधि बिक्री गरेर अस्पतालले उल्लेख्य आम्दनी गरेको हो । फार्मेसी सञ्चालनबाट अस्पतालले १ वर्षमा करिब १ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको छ ।

टेण्डर प्रक्रियाबाट फार्मेसी भाडामा लगाउदै आएको अस्पताललाई गतवर्ष सर्वोच्च अदालतले अनिवार्य फार्मेसी सञ्चालन गर्न निर्देशन दिएपछि फार्मेसी सञ्चालनमा ल्याएको थियो । अस्पतालले बिरामीको सुविधालाई मध्येनजर गर्दै टेण्डर प्रक्रियाबाट आफूले खरिद गरेको औषधिको मूल्य र औषधिमा उल्लेख गरिएको बजार बिक्री मूल्यको बिचको मूल्यमा कन्भर्टगरी बिक्री गर्दै आएको छ । खरिद र बिक्री मूल्यको बिचलाई आधार बनाएर औषधि बिक्री गर्दा बिरामीलाई ठुलो आर्थिक सुविधा पुगेको अस्पतालले दाबी गरेको छ ।

यसअघि अस्पतालले निजी फार्मेसीलाई मासिक २५ लाख रुपैयाँमा सटर भाडामा दिएको थियो । अस्पतालले नै फार्मेसी सञ्चालन गरेपछि एभरेजमा मासिक करिब १४ लाख रुपैयाँ आम्दानी भएको फार्मेसी सुपरभाईजर तारा बहादुर राईले बताए ।

‘हामीलाई नाफा भन्दापनि बिरामीलाई सस्तो र सर्वसुलभ रूपमा औषधि उपलब्ध गराउने उद्देश्य हो, अस्पतालले अन्यत्र भन्दा धेरै सस्तोमा औषधि बिक्री गरेका छ’, उनले भने, ‘अस्पतालले सेवामूलक काम गर्दा पनि आम्दानी बढेको छ ।’अस्पतालले गतवर्षको असार महिनाबाट आफै फार्मेसी सञ्चालन गरेको थियो ।

सार्वजनिक खरिद ऐन अनुसार औषधि खरिद गरिएको छ । टेन्डरबाट औषधि खरिद गर्दा डब्लुजेएमपीबाट सर्टिफाई भएको कम्पनीको करिब १२ सय ब्राण्डका औषधिहरु खरिद गरिएको अस्पतालले जनाएको छ । अस्पतालको फार्मेसीमा औषधि किन्नेको भीड लाग्ने गरेको छ । सेवाग्राहीको आवश्यकत्तालाई मध्येनजर गर्दै प्रशासनले फार्मेर्सीको काउन्टरहरु थपेको जनाएको छ । इमर्जेनसी वार्ड, अप्रेशन वार्ड लगायतको ठाउँहरूमा औषधिका थप काउन्टर राखिएको छ ।

सरकारले निःशुल्क वितरण गर्ने भनी सूचीकृत गरेका ७० प्रकारका औषधिहरुपनि टेण्डर प्रक्रियाबाट खरिद गरिएका औषधि नै निःशुल्क वितरण गर्दै आएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका डाईरेक्टर अर्जुन आचार्यले बताए । ‘सरकारले निःशुल्क वितरण गर्ने सूचीमा रहेका औषधी कतैबाट उपलब्ध भएका छैन, हामीले खरिद गरेकै औषधि निःशुल्क वितरण गरेका छौँ’ उनले भने । ‘औषधि टेण्डर प्रक्रियाबाट खरिद गर्दापनि समयमै उपलब्ध नहुँदा समस्या झेल्दै आएका छौ, औषधिको लागि पटक, पटक ताकेता गर्नुपरेको छ ।’

फार्मेसी नाफाघाटाको लागि भन्दा पनि सेवाग्राहीहरुको सेवा र सुविधाकोलागि चलाएको बताउँदै आचार्यले सहजरुपमा सेवा सञ्चाल गरेको दाबी गरे । ‘हामीले सहजरुपमा जनतालाई विशेष छुटमा सेवा दिएका छौँ’ उनले भने । ‘सरकारी नीति र जनताको सुविधाका लागि आफैँले फार्मेसी चलाएका हौँ ।’

डाईरेक्टर आचार्यले विगत एकवर्षदेखि विग्रीएको सिटीस्केन मेसिन मर्मत गर्नकोलागि पटक, पटक स्वास्थ्य मन्त्रालय र विभाग धाएको सुनाए । नेपालमा बायोमेडिकल टेक्नीसियन (सिटीस्केन मर्मत गर्ने ब्याक्ती) सहज उपलब्ध नभएकाले विदेशबाट झिकाउनु पर्ने भएका कारण धेरैपटक विभाग धाउदा समेत सुनाई नभएको गुनासो गरे । ‘सानो तिनो रकममा मर्मत हुने भए हामी आफै मर्मत गर्थ्याै, ठुलो रकम र निश्चित प्रक्रिया अवलम्बन गर्नु पर्ने भएकोले विभागमा पुगेका हौँ’उनले भने । ‘सरकारी काम, निश्चित प्रक्रियाका कारण सिटीस्क्यान मर्मतको काम रोकिएको छ ।’

फार्मेसी सञ्चालन गरेपछि २४ जनाले प्रत्यक्ष रोजगार पाएका छन् । त्यसमध्ये तीन कार्यालय सहयोगी र अन्य प्राविधिकहरु रहेका छन् ।

मकालु खबरबाट साभार

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds