२०७५ तपाईंको लागि शुभ छ कि अशुभ ? यस्तो छ तपाईको बार्षिक राशिफल (१२ राशीको समग्रमा)

२०७५ तपाईंको लागि शुभ छ कि अशुभ ? यस्तो छ तपाईको बार्षिक राशिफल (१२ राशीको समग्रमा)

zodic-signs

यो वर्ष बृश्चिक राशिलाई अन्त्य साढेसाति, धनु राशिलाई मध्य साढेसाति र मकर राशिलाई आद्य साढेसाति शनि चलेको छ भने बृष र कन्या राशिलाई पनि अढैया शनिको प्रभाव रहनेछ। साढेसाति शनिको प्रभाव जन्मकुण्डलीमा शनि राम्रो भएमा राम्रो फल, नराम्रो भएमा नराम्रो फल मिल्नेछ। अढैया शनिले जन्मकुण्डलीमा शनि राम्रो भएमा बिगार नगर्ने, राम्रो भने कसैलाई पनि नगर्ने हुन्छ।

मेष

यो वर्ष समग्रमा धेरै अनुकुल र थोरै प्रतिकुल देखिन्छ । वर्षारम्भ गुरुदेवको अनुकुलताले पढाई लेखाई तथा अनुसन्धानका क्षेत्रमा राम्रो हुनेछ । व्यवसाय परिवर्तनको सम्भावना देखिन्छ । राहु र केतुको प्रभावले काम काजमा विलम्ब गराउनेछ तर प्रयत्न गरेमा गन्तव्यमा पुग्न सकिनेछ । आश्विनबाट गुरु प्रतिकुल हुदा पढाई लेखाईमा अवरोध आउनेछ नोकरीबाट सन्तुष्टि मिल्ने छैन । व्यवसायमा बढि लगानी र उधारो कारोवार गर्दा विचार गर्नु होला नत्र डुब्न सक्छ । परिवारजनबाट अपेक्षाकृत सहयोग कम मिल्नेछ ।

मेष राशिलाई बर्षारम्भमा शनि भाग्यभावमा, गुरु सप्तम भावमा, चतुर्थ राहु र दशममा केतु छन्। भाग्य भावमा दशमेश र एकादशेश शनि, भाग्यस गुरु सप्तम भावमा गोचर गरिरहेकाले धार्मिक र व्यवसायिक यात्राको योग बलियो छ। सुखद दाम्पत्य जीवन प्राप्त हुने, पतिपत्नीबीचको सम्बन्ध राम्रो हुने र सन्तान प्राप्तिका लागि यो शुभ अवसर पनि हो।

सन्तानहरूले छात्रबृत्ति प्राप्त गरी वैदेशिक शिक्षा आर्जन गर्ने अवसर पाउनेछन्। विदेश बसाइ सराइ गर्न खोज्नु भएको छ भने त्यो पनि असम्भव नहोला। प्रेमको यात्राले वैवाहिक मार्ग अवलम्वन गर्ने योग छ। वैदेशिक कार्यमा रुचि बढ्ने, रुचिअनुसारै लाभ प्राप्त भई खुसी पनि बढ्ने योग छ।

कूटनीतिक कार्यमा कुशलता हासिल गरी राज्यबाट सम्मान पाउनुहोला, पश्चिमी देशको यात्रा बलियो रहनेछ। फलाम र धातुको व्यवसाय राम्रो रहनेछ। निजी कम्पनीको जागिर वा आफ्नै निजी कार्यको आरम्भ गर्न समयले साथ दिनेछ। धन आर्जनका अवसरहरू प्रशस्त मात्रामा प्राप्त हुनेछन्। चतुर्थ राहु र दशममा केतुले आमाबुबाको स्वास्थ खराब भई धन नाश गराउने, सरकारी सेवामा संकट आउने, मित्रहरूबाट धोका हुने, परिवारबाट अविश्वास हुने हुँदा महत्वपूर्ण कामलाई गोप्य राख्नु नै उचित हुनेछ। असोज १९ देखि अष्टममा जाने भाग्येश गुरुका कारण स्वास्थ्य कमजोर भई स्वास्थोपचारमा धन नाश हुने र लेनदेनमा कठिनाइ आउने, शरीरमा चोटपटक लाग्ने सम्भावना रहेकाले नगद कारोवारदेखि टाढा रहनु होला। सवारी साधन चढ्दा र चलाउँदा ध्यान दिनुहोला।

फाल्गुन १० मा राहु तृतीय र फाल्गुन १९ मा गुरु भाग्यमा प्रवेश गर्ने भएकोले समय राम्रो हुनेछ। फाल्गुन महिनाको अन्त्यम १० दिन बर्षभरिकै उत्कृष्ठ रहने । आषाढ, असोज, माघ र फाल्गुन महिना राम्रो रहनेछ। वैशाख, भाद्र, कार्तिक, पौष मध्यम र अाषाढ श्रावण मार्ग तथा चैत्र महिना अनिष्ठ रहनेछन्।

बृष

समग्रमा बृष राशिको लागि ग्रहगोचर मध्यम रहनेछ। अढैया शनिको प्रभाव बर्षभरि नै रहनेछ। यसकारण स्वास्थ्यमा बाधा, लेनदेनमा विवाद तथा आर्थिक कठिनाइहरू बढ्नेछन्। मनमा अनेक चिन्ताले बास गर्नेछ। विश्वास गरेकाहरूबाटै धोका हुने, मित्रहरूले पनि गलत बुझेर असहयोग गर्दा सामाजिक कार्यमा अघि बढ्दा आलोचित हुनुपर्नेछ।

जन्मकुण्डलीमा शनि ग्रह खराव हुनेका लागि वर्ष त्यति अनुकुल नहुनसक्छ । आर्थिक पक्ष दूर्वल हुनेछ । दिएको धन फिर्ता लिन गाह्रो हुनेछ । आफन्त बनेर धोका दिनेछन् । स्वास्थ्यमा समस्या आउनेछ । मिलेर कुनै काम गर्नु हुनेछैन । पारिवारिक समस्या बढ्नेछन् । मानसिक तनाव झेल्नु पर्नेछ । शैक्षिक क्षेत्र कमजोर रहेकोछ । वैदेशिक क्षेत्र थोरै अनुकुल देखिन्छ । देश,विदेशको यात्रा हुनेछ । शत्रुहरु कमजोर हुनेछन् । व्यवसाय परिवर्तनको चहाना बढ्नेछ । नोकरीबाट लाभान्वित हुनुहुनेछ । काममा ढिला सुस्ति हुनेछ ।

नोकरीमा समस्या आउनुको साथै स्थानान्तरण हुने सम्भावना छ । राज्यले उपेक्षा गर्ने भएकोले राजनीतिमा प्रशस्त उतारचढाव आउनेछ । सबैतिरबाट अपजश आउने, हाडजोर्नीको पीडा पनि कमी हुँदैन। मनमा अनेक दुविधाले बास गर्नेछ । धार्मिक कार्यमा दुविधा बढ्ने शत्रुले अक्रमण गर्ने योग छ । पितासँगको सम्बन्ध प्रतिकूल रहने, अरुबाट तीब्र आलोचना हुनेछ । सहयोगीहरूबाट अत्यावश्यक समयमा धोका हुने, हात दुख्ने, पेटमा पीडा धेरै हुने भएकोले खानपानमा ध्यान दिनुहोला । मान्यजनहरूले समेत प्रतिकूल व्यवहार गरेर चिन्तित हुनुपरे पनि आश्विन १९ पछि गुरुले सातौँ भावमा गाचेर गर्ने र तृतीय राहुको अनुकूलता रहेको हुँदा प्रयत्न गर्दा व्यापार र वैदेशिक कार्यबाट प्रशस्तै आम्दानी गर्न सकिनेछ ।

नयाँ प्रेमको प्रस्ताव आउने र अनायास पुराना प्रेमप्रसङ्गले वैवाहिक रुप लिन सक्छ । सन्तानको इच्छा हुनेका लागि यो अनुकूल समय हो । आम्दानीको नयाँ स्रोत हात पर्नेछ । जोश र जाँगर बढ्नेछ । अरुको विश्वास जित्न सकिनेछ । पढाइमा रुचि बढ्ने र सफलता पनि मिल्ने योग छ । मित्रहरूको सहयोग पाउने, परिवारले सफलताको लागि साथ दिने पतिपत्नीबीच बिग्रिएको सम्बन्ध सुध्रने, घरजग्गा र सवारी साधन जोड्ने अवसर मिल्नेछ । नयाँकामको प्रस्ताव आउनेछ ।

बौद्धिक कार्यमा अग्रसर हुँदा राज्यले उचित स्थान र मान दिने सम्भावना पनि देखिन्छ । विदेश बस्ने प्रयासमा हुनुहुन्छ भने त्यो पनि अनुकूल रहनेछ । कूटनीतिक कार्यमा ठूलो सफलता मिल्नेछ । फल्गुन १० मा द्वितीय राहु र फाल्गुन २५ मा अष्टममा गुरु प्रवेश हुने हुँदा समय फेरि प्रतिकूल हुनेछ । विनाकारण विवाद बढ्ने, आर्थिक कठिनाइ अरुकै कारण आउनेछ । धातु रोगको सामना गर्न पर्ने योग छ ।

महत्वपूर्ण कामहरू आश्विन १९ देखि फाल्गुन १० सम्ममा गरी सक्नुपर्नेछ। श्रावण, कार्तिक, फाल्गुन, चैत्र शुभ महिना र ज्येष्ठ, आश्विन मार्ग मध्यम र वैशाख, आषाढ, भाद्र, पौष खराब महिना हुन् ।

मिथुन

यस बर्षको ग्रह गोचर समग्रमा राम्रै रहनेछ । बर्षारम्भमा गुरु अनुकूल रहेकोले वौद्धिक कार्यवाट ऐतिहासिक लाभ उठाउन सकिनेछ । सप्तम भावमा भाग्येश शनिको प्रभाव रहेकोले धार्मिकयात्रा तथा प्रेमप्रसङ्गमा यात्राका साथै वैवाहिक बन्धनमा बाँधिएर रमाउँदै वा कूटनीतिक र व्यवसायिक यात्राको अवसर मिल्नेछ । शरीरमा स्फुर्ति र मनमा उत्साह बढ्ने भएकोले आँटेका काम धेरै पुरा हुनेछन् ।

वर्ष भरि नै गुरु तपाईका राशिबाट पञ्चम र छैठौ स्थानमा रहने हुदा पढाई लेखाईमा सामान्य उतार चढावका वीच सफलता मिल्नेछ । घरमा मांगलिक काम हुनेछन् । व्यापार व्यवसायमा उतार चढाव ल्याउनेछ । साझेदारी काममा हात नहाल्नु होला । स्वतन्त्र प्रकृतिका कामबाट आय आर्जन राम्रै हुनेछ । इष्टमित्र साथी भाईका कारण आर्थिक समस्यामा पर्न सकिन्छ । नयाँ क्षेत्रमा लगानी नबढाउदा उचित हुनेछ । दामपत्य जीवनमा अमेल बढ्न सक्छ ।

नयाँ कामको प्रस्ताव पनि आउनेछ । भएका सन्तानको प्रगति र नवसन्तान प्राप्तिको बलियो सम्भाना रहनेछ । विदेशिएका सन्तानले बोलाउने योग पनि परेको छ । छात्रबृत्तिसहितको वैदेशिक पढाइको अवसर तथा स्वदेशमा छात्रवृत्ति प्राप्त गरी प्राविधि पढाइमा सफलता हासिल गर्ने योग पनि छ । नोकरीमा गुमेको स्थान प्राप्तिको साथै राजनीतिमा आफ्नो बर्चस्व बढाउँदै शत्रुलाई परास्त गरी लक्ष्यमा पुग्न सकिनेछ । मान्यजनहरूवाट उचित सहयोग मिल्नेछ परिवार तथा मित्रहरूको सहयोगमा उन्नति प्रगति हुने योगका साथै आर्थिक उन्नति चौतर्फी हुने योग भए पनि सबै काम आश्विन १८ सम्म गर्नु पर्नेछ।

आश्विन १९ देखि षष्ठम गुरु तथा द्वितीय राहु तथा अष्टम केतुको प्रतिकूल प्रभाव रहेका हुँदा अरुबाट आलोचना हुनेछ, बोल्दा निकै विचार पुर्‍याउनु राम्रो होला । नगद कारोवारमा अघि नबढ्नु नै बेस। मृगौलामा समस्या आउन सक्ने भएकाले खानपानमा भने ध्यान दिनु जरुरी छ।

धनमाल हराउन सक्ने तथा दाँत र मुखमा पीडा हुने भएकोले संयम हुनुहोला । विश्वास गरेकाले समेत धोका दिनेछन् । मनमा दुविधाले दरिलो डेरा जमाउनेछ । शत्रु प्रशस्त मात्रामा बढ्नेछन्। नोकरीमा विनाकारण स्थानान्तरणले सेवाबाटै वाहिरिने अवस्था आउन सक्छ ।

राजनीतिमा झुटा आरोप लाग्ने र पदप्रतिष्ठा गुम्न सक्ने बलियो सम्भावना छ । पिता हुनेहरूको सम्बन्ध बिग्रन सक्छ । बुद्धिले समयमा काम नगर्दा आफ्नो लगानि लाभ अरुले लिनेछन् । आश्विन १९ देखि फाल्गुन १० सम्म समय प्रतिकूल रहेकोले महत्वपूर्ण र दीर्घकालीन प्रभाव पार्ने काम नगर्नु नै राम्रो हुनेछ । वैशाख, भाद्र, मार्ग, चैत राम्रो महिनामा पर्छन्। आषाढ, कार्तिक, पुस, फाल्गुन मध्यम र ज्येष्ठ, आषाढ, आश्विन माघ खराब भनेर जान्दा राम्रो ।

कर्कट

यो वर्षको ग्रह गोचर मध्यम रहनेछ ।  यो वर्ष सामान्य वर्ष रहनेछ । बर्षारम्भमा चतुर्थ गुरु तथा राशिको राहु र सप्तम केतु प्रतिकूल भएकाले संयमित भएर अघि बढ्दा मात्र लाभ मिल्ने देखिन्छ । अरुको विश्वासमा भन्दा आफ्नो प्रयासमा गरेका काम मात्र फलदायी रहनेछन् ।

विशेष गरेर शनि अनुकुलताको कारण गरेका कामबाट उचित प्रतिफल मिल्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसरको खोजी हुनेछ । मुद्धा मामिलामा जीत हुनेछ । घर परिवार तथा आत्मियजनबाट सहयोग भने कम मिल्नेछ । पेशा व्यवसायमा नयाँ नयाँ अवसर आउनेछ । आर्थिक क्षेत्रमा सुधार आउनेछ । सहज र सरल तरिकाले काम बन्नेछन । सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ । राज्यबाट सम्मान पुरस्कार मिल्न सक्ने कुरालाई नकार्न सकिन्न । पशु पालन,कृषि जस्ता व्यवसायबाट लाभान्वित हुनुहुनेछ । पढाईमा प्रगतिको वर्ष रहनेछ ।

परिवारहरूको गुनासो धेरै रहनेछ । आफन्तहरूको आफूप्रति कम विश्वास रहने र मित्रहरूको शङ्का उपशङ्काले अनुकूल सम्बन्धलाई धरापमा पार्नेछ । उच्च रक्तश्राव र गरम वायुजस्ता रोगका पीडाहरू भोग्नु पर्नेछ । हाडजोर्नीको र नसाको समस्या आउनेछ । प्रेममा खटपट हुने, पतीपत्नीबीच विवाद हुने र वैदेशिक कार्यमा विलम्व हुने, यात्रामा कठिनाइ आउने व्यापारमा उतारचढाव आउने योग छ । अनावश्यक बढ्ने तनावले मुटु तथा मस्तिष्कमा पीडा सिर्जना गर्नेछ । आर्थिक कठिनाइको पनि सामना गर्नु पर्नेछ । भाग्यले साथ नदिने हुँदा सानो कामलाई पनि सफलतामा पुर्‍याउन निकै कसरत गर्नु पर्नेछ ।

धर्मतिर मन नगएर अधैर्य बन्ने अवस्था आउन सक्छ । आश्विन १९ गतेबाट गुरुको अनुकूल गोचर हुने भएकोले बौद्धिक कार्यमा ऐतिहासिक सफलता मिल्नेछ । भएका सन्तानबाट खुशीको वर्षा र नवीन सन्तान प्राप्तिको पनि बलियो सम्भावना रहनेछ । छात्रवृत्ति प्राप्त गरी स्वदेश तथा विदेशमा उच्च शिक्षा प्राप्त गर्न भाग्यले साथ दिनेछ । धर्ममा मन जाने काममा सहज वातावरण बन्ने र धन मनग्य कमाउने अवसर आफन्तहरूको आफूप्रति विश्वासले प्राप्त गराउने छ ।

प्रेममा रहेको दुविधा हटेर सौहार्द्धता निर्माण हुनेछ । मित्रहरूले राम्रो सहयोग गर्ने हुँदा रोकिएका कामहरू बन्ने नयाँ कामको अवसर मिल्ने र नयाँ मित्रहरूले मित्रताको हात अघि बढाउने योग छ । घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ । सामाजिक कार्यमा मान सम्मान पाउने योग छ ।

नोकरीमा इच्छा अनुसारको स्थानान्तरण हुनेछ। मान्यजनहरूको उचित सहयोग सल्लाह पाउनुहोला । राजनीतिमा गुमेको स्थान फर्काउन सफल हुनुहोला । वैशाख, ज्येष्ठ, आश्विन, पुस राम्रो महिनामा पर्दछ। श्रावण, मार्ग, माघ र चैत्र मध्यम रहनेछ । आषाढ, भाद्र, कार्तिक, फाल्गुन नराम्रो हुने महिना हो ।

सिंह

यस बर्षका ग्रह गोचर खर्चिला भए पनि सन्तोषप्रद रहनेछन् । बाह्रौ राहुको प्रतिकूल प्रभाव आगामी फाल्गुन १० सम्म रहनेछ । राहुको प्रतिकूलताले विवाद बढ्ने, अरुबाट आलोचना हुने, उच्च रक्तचाप बढ्ने तथा मुटुमस्तिष्कमा पीडा हुन सक्छ । शत्रुले आक्रमण गर्ने योग भएकोले संयमित भएर काम गर्नुपर्ला ।

तृतीय गुरु तथा पञ्चममा शनिले साथ रहेको वर्षारम्भ शैक्षिक क्षेत्रलाई अनुकूल प्रभाव पार्नेछ । यो साल हरेक क्षेत्रमा सुधार आउनेछ । बाह्रौ राहु कारण आर्थिक विषमता बढ्ने देखिन्छ तर छैठौ केतले बल प्रधान गर्नेछ । शत्रु कमजोर बन्ने छन् । गुमेको धन हात पर्नेछ । उधारो कारोवार गर्दा धन डुब्न सक्छ । अध्ययन अध्यापन मार्ग सामान्य सफलता मिल्नेछ । सामाजिक काम काजमा अभिरुची बढ्नेछ । कृषि पशु चौपायबाट सामान्य आम्दानी हुनेछ । व्यवसाय परिवर्तनको सम्भावना त्यत्तिकै देखिन्छ । वैदेशिक कार्य अधुरा रहने छन् । पारिवारिक समस्याबाट छुटकरा मिल्नेछ । उत्तराद्र्धको तुलनामा पूर्वाद्ध कमजोर देखिन्छ ।

व्यवसायिक यात्राका साथै छात्रवृत्ति सहितको शैक्षिक यात्रा गर्ने अवसरहरू पनि मिल्नेछन् । अरुको विश्वास सजिलै जित्न सकिनेछ । बोलीको प्रभाव राम्रो रहनेछ । ठूला व्यक्तिले आफूप्रति विश्वास गर्नेछन् । पराक्रममा बृध्दि हुनुको साथै अधुरा काम पूरा हुने तथा नयाँ काम पाउने बलियो सम्भावना छ ।

सहयोगीहरूबाट र दाजुभाइहरूबाट राम्रो सहयोग पाउने योग छ । आफ्नै प्रयास र प्रयत्नले महत्वपूर्ण काम हात पार्न सफल हुनुहोला । औद्योगिक कार्यमा नयाँ अवसरहरू पनि पर्याप्त मात्रामा मिल्नेछन् । प्राविधिक शिक्षामा रुचि बढ्ने तथा रुचिअनुसार सफल हुने योग छ । घर तथा सवारी जोड्ने अवसर पनि मिल्नेछ । शत्रु पराजय हुनुको साथै मित्रहरूको उचित सहयोग प्राप्त गर्दै सफलताको शिखर प्रवेश गर्ने अवसर यस बर्ष मिल्नेछ ।

बौद्धिक तीब्रताले कूटनीतिक कार्यमा ठूलो सफलता हासिल गर्दै राष्ट्रिय सम्मान पाउने योग छ । भुलेका मित्रले याद गर्दै विदेश घुमाउने प्रयास गर्नेछन् । प्रेमको प्रस्ताव अरुबाटै आउनेछ । पुराना प्रेमले दाम्पत्य जीवनको बाटो अँगाल्नेछ । सामाजिक कार्यमा ऐतिहासिक सफतलता पाउने योग छ ।

नोकरीमा पदोन्नति र राजनीतिमा आफ्नो वर्चस्व बढाउन सजिलै सकिनेछ । फाल्गुन १० राहु र २५ गुरु अनुकूल हुनाले आम्दानीको श्रोत ह्वात्तै बढ्नेछ । आश्विन १९ पछि चतुर्थ गुरुले पतिपत्नीबीच बढ्ने विवादले मनलाई विचलित पार्ने तथा आफन्तहरूसँग मनमुटाव र शत्रुलाई बलियो गराउने भएकोले केही अप्ठ्याराहरू देखिए पनि यस वर्ष ग्रहस्थिति राम्रो छ । ज्येष्ठ, आषाढ, कार्तिक, माघ राम्रो महिनामा पर्दछ । श्रावण, आश्विन मार्ग र चैत्र खराब तथा वैशाख, भाद्र, पौष, फाल्गुन मध्यम महिना हुन्छ ।

कन्या

अढैया शनिको प्रतिकूल प्रभाव वर्षभरि नै रहनेछ । शनिका कारण परिवारिक समस्या बढ्नेछ । पेट गडबढ हुनुको साथै मित्रहरूको असहयोगले काम गर्न अप्ठ्यारो हुनेछ । विश्वास गरेकाहरूबाट विश्वासघात हुनेछ । बसाइँसराइको योग पनि छ । सवरी साधनले पटकपटक दुःख दिनेछ । घरेलु समस्याले गर्दा पढाइमा अवरोध आउनेछ ।

अध्ययन अध्यापन र सामाजिक क्षेत्र सामान्यतया राम्रो देखिए पनि अढैया शनि कारण स्वास्थ्यमा समस्या आउनेछ । जन्मको शनि खराव भएमा धेरै राम्रा कामको आशा गर्नु गलत हुनेछ । घर परिवारमा समस्या आउने तथा धन सम्पतिको नास हुने देखिन्छ । आफन्तबाट सहयोग भन्दा असहयोग बढि हुनेछ । काम गर्दा कठिनाई भोग्नु पर्ने छ । जोखिमपूर्ण काममा हात नहाल्नु यो बर्ष बढि उचित हुनेछ । नयाँ काममा लगानी बढाउनु राम्रो देखिन्न । नोकरी तथा व्यापारबाट केहि राहत मिल्नेछ ।

सन्तानसँग पनि विमति भएर चिन्ता बढ्नेछ । शत्रुले परिवारसँग मिलेर फसाउने प्रयत्न गर्नेछन् । आफन्तहरू सहयोग गर्न भन्दा कुरा काट्न उत्दत्त हुनेछन् । आमा हुनेहरूको लागि आमाको स्वास्थ्य समस्याले धेरै सताउनेछ । हाडजोर्नीको पीडा पनि कमी हुने छैन । लेनदेनमा विवादको सामना गर्नु पर्नेछ । नोकरी तथा राजनीतिमा उतारचढावको सामना गर्नु परे पनि वर्षभरि नै गुरुको र राहुको अनुकूल अवस्थाले गर्दा बोलीको प्रभाव बढ्ने अरुको विश्वास सजिलै जित्न सकिनेछ । भाग्यले साथ दिने योग छ ।

धर्ममा रुचि बढ्ने तीर्थयात्राका योग पनि बलियो छ । सामाजिक कार्यमा प्रतिस्पर्धा गर्नु परेपनि अन्ततः तपाईंको आवश्यकता महसुस हुनेछ र विरोधीहरू नै शरण पर्न आउनेछन् । व्यापारमा लाभ सोचेभन्दा बढी नै मिल्नेछ । कूटनीतिक कार्यमा ऐतिहासिक र अविष्मणीय कार्य गरेर समाजको उत्थान र शत्रुको शिर निहुराउन सफल हुनुहोला । बिना दौडधूप प्रेममा सफलता मिल्नेछ । अविवाहितहरूको लागि विवाहको योग पनि हो । खर्चको गति तीव्र भए पनिआम्दानीका स्रोतहरु चौतर्फी जुट्नेछन् ।

राज्यले फसाउने प्रयास गरे पनि तपाईंको इमान्दारीले अन्ततः राज्य नै झुक्नु पर्नेछ । यो वर्ष बलको काममा भन्दा बुद्धिको काममा जोड दिनु राम्रो । कानुन व्यवसायी र कुटनीतिक कार्यमा कार्यरत साथै पर्यटकीय तथा वैदेशिक व्यवसायमा हुनेहरूको लागी यो वर्ष राम्रो रहनेछ । सवारी साधन, घरजग्गा व्यवसाय यो वर्ष नराम्रोसँग फस्नेछन् । संयमित भएर काम गर्दा सफलता धेरै कुरामा मिल्नेछ । पराक्रम बढ्ने अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ ।

सेवकहरूवाट उचित सहयोग मिल्ने दाजुभाइबाट पनि सहयोग मिल्ने वर्ष हो । आषाढ, श्रावण, मार्ग, फाल्गुन राम्रो महिनामा पर्दछ भने वैशाख, भाद्र, कार्तिक, पौष नराम्रो तथा ज्येष्ठ, आश्विन, माघ, चैत्र मध्यम महिनामा पर्दछ ।

तुला

बर्षका ग्रह गोचर समग्रमा राम्रो छ । सानातिना उल्झन आए पनि मेहनत परिश्रमले आफ्नो लक्ष्यमा पुग्न गाह्रो छैन । चतुर्थेश तथा पञ्चमेश शनि तृतीय भावमा बलशाली भएकाले आँट र साहस प्रशस्त मात्रामा बढ्नेछ । नायाँनयाँ सोचका साथै नयाँनयाँ काममा प्रवेश गरी सफलतामा पुग्न सकिनेछ । मित्र तथा परिवारजनको उचित सहयोग मिल्नेछ । भुलेका मित्रले पुनः याद गर्नेछन् । घर तथा सवारी जोड्ने प्रयासमा हुनुहुन्छ भने सजिलै सफलता पाउनुहोला ।

जन्म समयमा शनि अनुकुल हुनेले यो वर्ष धेरै क्षेत्रमा सफलता हात पार्नेछन् । उद्योग पराक्रम बढ्नेछ । अधुरा काम फस्र्योट हुनेछन् । नयाँ योजनाका बारेमा विचार विमर्श हुनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । शैक्षिक विषयलाई लिएर विदेश यात्रा हुनसक्छ । श्रम क्षेत्र सपल रहनेछ । चतुर्थ राहुले भने पारिवारिक सुख र भौतिक सुखमा कमि ल्याउनेछ । काम गरेर पूर्ण लाभ लिन सकिने छैन । चोटपटक आदिको भय देखिन्छ । वायु विकारले सताउनेछ ।

शैक्षिक यात्रामा छात्रवृत्तिको योग ज्ञान विज्ञानमा विशेष लाभ प्राविधिक शिक्षामा ऐतिहासिक सफलता मिल्ने योग छ। सामान्य मित्रको सम्बन्ध प्रेममा परिणत हुनेछ भने घनिष्ट प्रेम वैवाहिक मार्गमा अघि बढ्ने सन्तान प्राप्तिको पनि बलियो सम्भावना छ । बोलीको प्रभाव राम्रो रहेकोले कूटनीतिक कार्यमा कीर्तिमानी कार्य गर्न सफल भई अरुको शिर निहुराउन सफल हुनुहोला । ठूला व्यक्तिसँग निकट भई काम गर्ने अवसर मिल्नेछ । राज्यका उच्च अङ्गले तपाईंको परामर्श लिनेछन् ।

ज्येष्ठ, आश्विन, मार्ग, माघ महिना बाहेकका महिनामा धन आर्जन प्रशस्त मात्रामा हुनेछ । धार्मिक र सामाजिक कार्यको साथ यात्रा गर्ने अवसर मिल्नेछ । व्यापारमा सफलता पाउन अलि प्रतिस्पर्धा गर्नु पर्नेछ । भाग्यले साथ दिनेछ। कर्म भने त्यति बलियो देखिँदैन।

बर्षारम्भदेखि आश्विन १८ सम्म राशिको गुरु तथा चतुर्थ केतु र दशौँ राहुको प्रतिकूलताले पेट, छाती, गडबढ। नोकरीमा उतारचढाव र राजनीतिमा संकट आउनाले मनमा चिन्ता बढ्नेछ । यतिबेला शत्रु सक्रिय हुनेछन् । सजग रहनु उचित हुनेछ । शरीरमा चोटपटक लाग्न सक्छ। निर्णय गर्न गाह्रो हुन्छ। आफू दुविधाग्रस्त भएको मौकामा अरुले गलत फाइदा उठाउन सक्ने भएकोले धैर्य गर्नुपर्ला । मातापिताको स्वास्थ्यमा बाधा र सम्वन्धमा ह्रास आउन सक्ने भएकोले सचेत हुनु बेस। ज्येष्ठ, आश्विन, माघ, मार्ग खराब महिना। श्रावण, भाद्र, पौष, चैत्र राम्रो। आषाढ, कार्तिक, फाल्गुन, वैशाख मध्यम महिना रहनेछ।

बृश्चिक

वर्षको ग्रह गोचर प्रतिकूल रहनेछ। बर्षारम्भमा द्वितीय शनि, बाह्रौँ गुरु, नवौ राहु,तृतीय केतु छन् । निराशाका बादलहरू चौतर्फी फैलिएका छन् । यो बर्ष भरि अन्त्य साढेसाती शनि ग्रहको प्रभाव बढि रहने हुदा जन्मको शनि खराव हुनेका लागि आर्थिक दृष्टिले समय त्यति अनुकुल नहुन सक्छ । आफन्तका कारण नोक्सानी वेहोर्नु पर्नेेछ । मनमा अशान्ति र नोकरीमा पदोन्नति हुदा तथा राम्रो गर्दा गर्दै पनि अपयश आउन सक्छ ।

सोच्ने शक्ति अत्यन्त कमजोर हुनेछ । मुटु मस्तिष्कमा पीडा, मानसिक तनाव र अनावस्यक विवादले सञ्चित धनको नास भई अरुवाट तीव्र आलोचना हुनेछ । विश्वास गरेकाले धोका दिनेछन् । अरुको काम धेरै गर्नुपर्ला । जश पाउने सम्भावना अत्यन्त कम रहनेछ ।

गलत विचार प्रशस्त मात्रामा बढ्नेछ । समयमा निर्णय नहुँदा आफ्नो काममा अरुले अधिकार जमाउनेछन् । नोकरीमा एकपछि अर्काे समस्याले ग्रसित हुनुपर्नेछ । बिनाकारण दोषी भई स्थानान्तरण हुनेछ । राजनीतिमा पाएको स्थान र मान गुम्ने प्रवल सम्भावना छ । घरेलु समस्याले सताउनेछ ।

परिवारिक समस्याले घरै छाड्ने स्थितिसम्म सिर्जना हुनेछ । सवारी साधनले पनि धोका दिनेछ। मित्रहरूले सहयोगको सट्टा आक्रमण गर्नेछन् । पढाइमा प्रयासहरू निस्फल हुनेछन् । बौध्दिक कार्यहरू निराशामा परिणत हुनेछन् । सन्तानसँग विमति रहनेछ । शत्रु प्रशस्त मात्रामा बढ्नेछन्। व्यापारमा सङ्कट आउनाको साथै उपलब्धिहीन यात्रा गर्नुपर्छ। प्रेमको यात्रामा पीडाको सामना गर्नु पर्नेछ ।

पतिपत्नीबीचविवाद बढ्ने वैदेशिक कार्यमा समस्या आउने बलियो सम्भावना छ । आर्थिक सङ्कटले प्रशस्त मात्रामा सताउनेछ । भाग्यले साथ दिनेछैन । धर्ममा मन जाने छैन। सामाजिक कार्यमा तीव्र आलोचना हुनेछ । दाँतमुखमा पीडा हुनुको साथै हड्डी समस्याले पलपल सताउनेछ । सानो काममा पनि सफलता पाउन निकै कसरत गर्नु पर्नेछ । धन माल हराउन सक्छ ।

आश्विन १९ देखि गुरुले राशिमा गोचर गर्ने हुँदा बसाइ प्रतिकूल रहेपनि दृष्टि गुरुको शक्तिशाली हुने भएकाले व्यापारमा सुधार आउने पतिपत्नीबीच बिग्रिएको सम्बन्धमा सुधार आउनेछ । शैक्षिक क्षेत्रमा सामान्य प्रगति हुनेछ । घरमा मांगलिक काम हुनेछन् । व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ तर वचत गर्न भने गाह्रो हुनेछ । पशु चौपाय तथा कृषि क्षेत्रमा गरेको लगानी निरर्थक हुन सक्छ । वैदेशिक यात्राको योग देखिन्छ । नयाँ कामको थालनी हुनेछ ।

प्रेमको यात्रामा सुधार आउने र वैदेशिक कार्यमा सुधार आउनेछ । पढाइमा सुधार आउनुको साथै सन्तानसँगको विमति पनि हटेर जानेछ । कुरा काट्नेहरूलाइ निस्तेज बनाउन सकिनेछ । कूटनीतिक क्षेत्रमा पनि अपेक्षित सुधार आउनेछ । आम्दानीको अवसर प्राप्त भई आर्थिक सङ्कटबाट पनि केही राहत मिल्नेछ ।

बौध्दिक कार्यमा अघि बढन समस्या हुने छैन । महत्वपूर्ण कामहरू आश्विन १९ देखि फाल्गुन १० सम्ममा सक्नु पर्नेछ ।

बैशाख, भाद्र, आश्विन, माघ शुभ र आषाढ, कार्तिक, पौष, फाल्गुन अशुभ। ज्येष्ठ, श्रावण, मार्ग तथा चैत्र महिना मध्यम रहनेछन् ।

धनु

बर्षका ग्रहगोचर मिश्रित रहनेछ । मध्य साढेसाति अष्टम राहु तथा द्वितीय केतुको प्रतिकूल प्रभाव रहे पनि आश्विन १८ सम्म लाभ भावमा गुरुले गोचर गर्ने हुँदा सकारात्मक र नकारात्मक दुवै अवस्था रहनेछ । धनस्थान पराक्रम स्थानको मालिक शनि राशिमा बसेकाले विवादहरू बढ्नेछन् । सकेसम्म गोपनीयता अपनाउनु राम्रो ।

पराक्रमको गति तीव्र हुनुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । सहयोगीहरूको सहयोग पनि मिल्नेछ । मित्रहरूले पूर्णरुपमा सहयोग गर्नेछन् । आफ्नो स्वभावका कारण आफूलाई क्षति हुन नदिनतर्फ सतर्क हुनुपर्दछ । आम्दानीको नयाँ श्रोत हात पार्न सकिनेछ । घर तथा सवारी साधन जोड्ने क्रममा भए सजिलै प्राप्त हुनेछ ।

पढ्नका लागि स्वदेश तथा विदेशमा छात्रवृत्ति पाउने र शैक्षिक यात्रा हुने बलियो सम्भावना छ । शत्रु बढे पनि आफ्नो जित सुनिश्चित हुनेछ। व्यापारमा सफलता मिल्नुको साथै व्यवसायिक र कूटनीतिक यात्रा फलदायी हुनेछ । प्रेम, मित्रता हुने र प्रेमको यात्राले वैवाहिक रुप लिने योग छ ।

श्रावण, मार्ग, माघ र चैत्रबाहेकका महिनामा भाग्यले साथ दिने हुँदा सामाजिक कार्यमा सफलता मिल्नुको साथै धार्मिक कार्यलाई अङ्गाल्दै यात्रा गर्ने अवसर पनि मिल्नेछ । नोकरी तथा राजनीतिमा प्रतिस्पर्धा गर्नु परेपनि अन्ततः आश्विन १८ सम्म तपाईँको विजय सुनिश्चित छ। आश्विन १९ देखि समय प्रतिकूल हुनेछ । सबैतिरबाट निराशाहरूमात्र छाउनेछन् । मन अत्यन्त विचलित हुनेछ । मनमस्तिष्क र शरीर सबै कमजोर बन्नेछन् । मानसिक तनावलाई नियन्त्रणमा लिन गाह्रो पर्नेछ ।

गलतलाई सही र सहीलाई गलत ठानेर निर्णय हुने हुँदा सर्वत्र आलोचना हुनेछ । झुटा आरोपको सामना प्रशस्त मात्रामा गर्नु पर्नेछ । आफन्तहरू नै कुरा काट्न तम्सिनेछन् । परिवारले समेत साथ नदिने हुँदा दिक्क भएर घर छाड्ने मनस्थिति बन्नेछ । बौध्दिक कार्यहरू ओझेलमा पर्नेछन् । पढाइमा ह्रास आउनेछ । व्यापारमा सङ्कट आउनुको साथै यात्रामा र वैदेशिक कार्यमा प्रशस्त सङ्कट सामना गर्नु पर्नेछ।

यो बर्ष भरि नै साढेसाती शनि ग्रहको प्रभाव बढि रहने हुदा जन्मको शनि खराव हुनेका लागि समय त्यति अनुकुल नहुन सक्छ । आफन्तजनमा मनमुटाव बढ्नेछ । हेलचक्र्याई गरेर काम गरेमा ठुलो नोक्सान हुनेछ । घर परिवारमा समस्या देखिने छन् । सहयोग मिल्ने छैन उल्टो टाढा हुने अवस्था आउन सक्छ । भरोसा गरेकैहरूले अरुसँग मिलेर फसाउने सम्भावना छ ।

छैटौ केतु अनुकुल भए पनि बाह्रो राहुले गर्दा पशु चौपाय तथा कृषि क्षेत्रमा गरेको लगानी निरर्थक जस्ता हुनेछ किन कि आम्दानी गरेर पनि वचत गर्न गाह्रो हुनेछ । जेठ,असोज, कार्तिक र फाल्गुन महिन उन्नतिका दृष्टिले उत्तम देखिन्छ ।

आर्थिक कारोवारमा निकट सम्वन्धहरू तोडिने सम्भावना रहेकोले सकेसम्म नगद कारोवार नगर्नु नै उचित हुनेछ । महत्वपूर्ण कामहरू आश्विन १८ भित्रै गर्नु वेस । ज्येष्ठ, आश्विन, कार्तिक, फाल्गुन शुभ र श्रावण, मार्ग, माघ र चैत्र अशुभ। वैशाख, आषाढ, भाद्र, पौष मध्य हुन् ।

मकर

वर्षको ग्रह गोचर आश्विन १८ सम्म निकै प्रतिकूल रहनेछन् । आद्य साढेसाति को प्रभाव वर्षभरि नै रहनेछ । हड्डी, नसा कमजोर भई शरीर शिथिल हुने, मन विचलित हुने हुँदा सक्दो आराम गर्ने प्रयास गर्नुहोला । अनावश्यक विवाद र अनावश्यक खर्चलाई धान्नै मुस्किल पर्नेछ । व्यवसायिक मार्ग अत्यन्तै प्रतिकूल रहनेछ ।

वैदेशिक कार्यमा अनियन्त्रित ह्रास आउनेछ । प्रेमको सम्वन्ध बिनाकारण बिग्रन गई मनमा पीडा खपि नसक्नु हुनेछ । पतिपत्नीबीचको सम्बन्ध कमजोर हुनुको साथै परिवारिक आलोचना पनि सामना गर्न मुस्किल पर्नेछ । सानो भूलको परिणाम ठूलो बनेर निस्कनेछ । पुराना समस्यालाई कोट्याएर अप्ठ्यारोमा पार्ने काम शत्रुले गर्नेछन् ।

हरेक काम गर्दा संवेदनशिल भएर लाग्नु पर्ने हुन्छ । मानसिक तनाव वेहोर्नु पर्नेछ । आर्थिक क्षेत्रमा विषमता आउनेछ । गरेका कामबाट उचित प्रतिफल लिन सकिने छैन । सामाजिक काममा अभिरुची बढ्नेछ । वौद्धिक क्षेत्रका कामबाट लाभान्वित हुनुहुनेछ । मिलेर गरेका काम विफल हुनेछन् । काम गर्दा विचार पु¥याउन नसके धन सम्पतिको नास हुनसक्छ । आफन्तबाट टाढा हुने अवस्था आउन सक्छ । घर परिवारमा धार्मिक कार्य हुनेछन् । शैक्षिक विषयलाई लिएर विदेश यात्रा हुने योग देखिन्छ ।

आर्थिक कठिनाइले प्रतिष्ठामा समेत धक्का पुग्न सक्छ । नोकरीमा विनाकारण दोषी भई पदमुक्त हुने सम्भावना रहनेछ ।राजनीतिमा पुराना कुरालाई उल्टाएर फसाउने काममा शत्रु निकै सक्रिय हुनेछन् । अलिकति मात्र पनि बेहोस गरिएमा झुटा आरोप लगाएर मुद्दा मामलामा फसाउने सम्भावना रहनेछ ।

विश्वास गरेकाले समेत आवश्यक समयमा धोका दिने भएकोले आफूलाई समाल्न मुस्किल पर्नेछ । आश्विन १९ वाट गुरुले लाभ भावमा गोचर गर्ने हुँदा व्यापार तथा वैदेशिक कार्यमा अपेक्षित सुधार आउने र अवस्था सकारात्मक हुनेछ । आर्थिक उन्नतिमा अप्रत्यासित प्रगति हुन गई विचलित मनस्थितिलाई प्रसस्त उर्जा प्रदान गर्नेछ ।

रोकिएका कामहरू क्रमश: बन्न थाल्नेछन्। नयाँ कामका प्रस्तावहरू पनि आउनेछन् । कमजोर शरीरमा उत्साह पैदा हुनेछ । मित्रहरूले यथार्थ बुझेर आत्म आलोचना गर्दै क्षमायाचनाका साथ सहयोगको तत्परता पनि देखाउनेछन् ।

पढाइमा सुधार आउनुको साथै बौध्दिक कार्यमा तीव्रताका साथ अघि बढ्ने अवसर मिल्नेछ । सन्तानहरूवाट उचित सहयोग मिल्नेछ । पतिपत्नीबीच बिग्रिएको सम्बन्ध राम्रो बन्नेछ । प्रेमको मार्गमा आएको अवरोध हटेर जानेछ ।

नोकरीमा आएको समस्यालाई सजिलै हटाउन सकिनेछ । राजनीतिमा आउने समस्यालाई कूटनीतिक सहयोग आफ्नो प्रयासले सुल्झाउन सकिनेछ । महत्वपूर्ण काम आश्विन १९ पछिमात्र गर्नु बेस । फाल्गुन ११ पछिको समय निकै सकारात्मक रहनेछ ।

कुम्भ

वर्षको ग्रह गोचर समग्रमा राम्रो रहनेछ । उपलब्धिका काम हुनेछन् । बर्षारम्भमा ग्रह अनुकूल भएकाले जोस र जाँगर बढ्ने तथा चौतर्फी सफलता पाउने योग छ । तपाईँको लगनशीलता र इमान्दारीको राज्यले पूर्ण सम्मान गर्नेछ । वकिल, ज्योतिषी र पत्रकार तथा न्यायिक कार्यहरूमा लाग्नेहरूले रुचि र खुशीले अघि बढ्ने अवसर मिल्नेछ ।

बोलीको प्रभाव राम्रो रहनाले आकस्मिक धनलाभ हुनुको साथै नसोचेको काम हात पार्न बोलीकै प्रभाव पर्याप्त हुनेछ । ठूला व्यक्तिसँग हुने अन्तरसंवादले मनोबल बढ्नुको साथै पदप्रतिष्ठा प्राप्तिको बलियो सम्भावना रहनेछ । नोकरीमा शुभ अवसरहरू प्रशस्त मात्रामा प्राप्त हुनेछन्। पदोन्नतिको सम्भावना पनि प्रवल छ । राजनीतिमा गुमेको स्थान फर्काउन सफल भइनेछ । आश्विन १९ पछि नोकरीमा केही अप्ठ्याराहरू आउनेछन् । गोपनीयतामा जोड दिनुहोला । कुटनीतिक कार्यमा ऐतिहासिक सफलता मिल्नेछ । राजनीतिमा शत्रुको कुदृष्टि पर्ने हुँदा अरुको विश्वासमा भन्दा आफ्नो विवेकमा काम गर्दा समस्या कम होला ।

कुरा काट्नेहरू सबै नै प्रशंसक हुनेछन् । पुराना समस्या सुल्झाउनका लागि यो उचित समय हो । शत्रु पराजय हुनुको साथै मित्रतथा पारिवारिक सहयोग प्रशस्त मात्रामा मिल्नेछ । नयाँ मित्रको आगमनले सफलतालाई अझै उचाइमा लैजानेछ । घर, जग्गा तथा सवारी साधन जोड्ने प्रयासमा हुनुहुन्छ भने सजिलै सफलता मिल्नेछ । पढाइमा सफलता मिल्नुको साथै बौद्धिक कार्यमा ऐतिहासिक सफलता मिल्नेछ । व्यापारमा लाभ मिल्नुको साथै रमाइलो यात्रा हुने र यात्रामा हुने भेटघाटले वैदेशिक कार्यमा लाभ हुने योग छ । सन्तानबाट सुख,शान्ति मिल्नेछ । प्रेमको प्रस्ताव अरुबाटै आउनेछ । अविवाहित र सन्तान नहुनेहरूको लागि यो बर्ष निकै फलदायी रहनेछ ।

भाग्य वलियो हुनुको साथै धार्मिक कार्यहरूमा मन जाने, सामाजिक कार्यमा सम्मान पाउने बलियो सम्भावना छ । तीर्थयात्रा पनि हुनेछ । आश्विन १९ गतेपछि गुरुको केन्द्र प्रवेशले परिस्थिति अलि प्रतिकूल बन्नेछ । महत्वपूर्ण कामलाई भाद्र महिनासम्म सक्नु उपयुक्त हुनेछ ।

वैशाख, श्रावण, मार्ग, पौष शुभ महिना हो भने ज्येष्ठ, आश्विन, माघ, चैत्र खराब। आषाढ, भाद्र, कार्तिक, फाल्गुन मध्यम महिना हुन् ।

मीन

बर्षारम्भमा ग्रह प्रतिकूल रहनेछ । राशि स्वामी र दशमेष गुरु अष्टम स्थानमा बसेकोले स्वास्थ्यमा सङ्कट आउनेछ । गलत विचार बढ्नेछ। समयमा निर्णय नहुँदा आफ्नो काममा अरुले अधिकार जमाउनेछन् । नोकरीमा सङ्कट आउनुको साथै राजनीतिमा समस्या आउनेछ । झुटा आरोप लगाउनेहरू सक्रिय हुनेछन् । विश्वास गरेकाहरूबाट धोका हुनेछ । विनाकारण हुने विवादले मानसिक तनाव बढ्नेछ । आर्थिक सङ्कटले सताउनेछ । कामको बीचमा अवरोध खडा गर्नेहरू सक्रिय हुनेछन् । मित्रहरूको गुनासो बढ्नुको परिवारिक समस्याले प्रशस्त मात्रामा सताउनेछ।

 हरेक क्षेत्रमा सोच विचार काम गर्नु पर्ने देखिन्छ । सन्तानपक्ष दूर्वल रहेकोछ । पढाई लेखाइमा उतार चढाव आउनेछ । घर परिवारमा सुख,शान्ति अल्प मिल्नेछ । स्वव्यवसायमा स्तरोन्नति कम हुनेछ । मिलेर गरेका कामले फाइदा दिने छैन । आफन्तका कारण धनमाल नोक्सान हुनसक्छ । पैत्रिक सम्पति नोक्सन हुनसक्छ । नयाँ काम गर्दा हतारमा नगर्दा फाइदा हुनेछ । अनुसन्धान ,अन्वेषणका काममा आंशिक सफलता मिल्नेछ । पढाई लेखाईमा अवरोध आउन सक्छ । धार्मिक कार्य अगाडि बढ्ने छन् ।

घरेलु समस्या बढ्ने हुँदा संयम भएर अघि बढ्नु उचित होला । पढाइमा ह्रास आउनुको साथै बौद्धिक कार्यमा समस्या आउने योग छ ।

पितासँगको सम्वन्धमा ह्रास आउनेछ । आश्विन १९ पछि गुरुको अनुकूलताले समयमा सुधार आउनेछ । मनोबल बढ्नुको साथै रोकिएका कामहरू बन्नेछन् । भाग्य बलियो भएकोले अघि बढ्न सजिलो होला । धार्मिक कार्यमा अघि बढेर सम्मान पाउनुहोला । सामाजिक कार्यमा प्रतिष्ठा बढ्नेछ । नोकरीमा आउने समस्या हटेर जानेछ । राजनीतिमा आएका समस्याहरू पूर्ण रुपले हटेर जानेछन्। राज्यले आफ्नो गल्ती महसुस गरी तपाईको लगनशीलता र इमान्दारीको उच्च मूल्याङ्कन गर्नेछ । पदक प्राप्ति पनि हुनेछ । आम्दानीमा आएका बाधाहरू पूर्ण रुपले हटेर जानेछन् र आम्दानीका स्रोतहरु चौतर्फी जुटनेछन् ।

व्यापारमा र वैदेशिक कार्यमा सोचे जस्तै सफलता मिल्नेछ । पढाइमा सुधार आउनुको साथै बौद्धिक कार्य पनि निर्विवाद अघि बढ्नेछ । परिवार तथा मित्रहरूले पनि कुरा बुझेर सहयोगको हात अघि सार्नेछन् । शत्रुलाई परास्त गर्दै आफ्नो लक्ष्यमा पुग्न सहज वातावरण बन्नेछ महत्वपूर्ण कामहरू आश्विन १९ देखि गर्नु बेस। ज्येष्ठ, भाद्र, पौष, माघ शुभ महिना हुन् भने वैशाख, आषाढ, कार्तिक, फाल्गुन अशुभ छन् । श्रावण, आश्विन, मार्ग, चैत्र मध्यम रहनेछन् ।

(पं. अाेजराज लाेहनी सहित विभिन्न ज्योतिषीका राशीफल मर्ज गरिएको)

[शनि साढेसाति वा अढैया लाग्दा सर्वप्रथम पीपलको पूजा गर्ने, भैरवको पूजा गर्ने। शनिबारको दिन भैरवको पूजा गरी भैरवको दायाँहातमा २ मिटर कालो कपडा राखी‘शनिको दशा नाश होस्’ भनेर दशकदम पछि हटी नहेरी फर्कने। भैरवको मन्दिर उपलब्ध नभएमा २ नदीको संगममा नदीको मूलतिर वा नदी आएकोतर्फ फर्केर पूजा गर्ने, २ मिटर कालो कपडा आफूभन्दा पछाडिबाट बगाउने र ‘मेरो शनि दोष बगोस्’ भनी बगाउने। बगेकोलाई नहेर्ने यस प्रकारको उपाय गर्दा शनिको दोष कम हुन्छ। यो व्यवहारिक प्रयोगले थाहा भएको हो। ]

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ