कास्कीमा ठूलो लगानीमा सुविधा सम्पन्न दर्जनौं खेलकुदका पूर्वाधार निर्माण हुँदै

कास्कीमा ठूलो लगानीमा सुविधा सम्पन्न दर्जनौं खेलकुदका पूर्वाधार निर्माण हुँदै

Stadium

पोखरा : सरकारले नयाँ आर्थिक बर्षमा कास्की जिल्लाको खेलकुद बिकास र पूर्वाधार निर्माण गर्न करिब ६१ करोड बजेट विनियोजन गरेपछि भौतिक पूर्वाधार निर्माणले तिव्रता पाएको छ। राष्ट्रिय खेलकुद परिषदमार्फत सरकारले बजेट बिनियोजन गरेपछि जिल्लाका विभिन्न स्थनहरुमा रहेका खेलकुदका पूर्वाधारहरुको निर्माणका लागि रकम बिनियोजन गरिएको हो।

बजेट विनियोजन संगै परिषदले पोखरा रंगशाला निर्माण, ब्याडमिन्टन कभर्ड हलको निर्माण, आर्चरी खेल मैदान, ह्याण्डबल एकेडेमी लगायत एकदर्जनको संख्यामा रहेका पूर्वाधार निर्माण गर्न छुट्टाछट्टै श्रीर्षकमा रकम बिनियोजन गरेको कास्की जिल्ला खेलकुद बिकास समितिका अध्य याम गुरुङले बताए।

उनका अनुसार पोखरा रंगशाला भित्र निर्माण सुरु हुने फुटबल रंगशालाको लागि आर्थिक वर्ष ०७५–०७६ मा राष्ट्रिय खेलकुद परिषदले ५३ करोड छुट्टाएको छ।

नेपालमा आयोजना हुने १३ औ दक्षिण एशियाली खेलकुद (साग)का लागि करिब सात महिना अघि अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्न परिषदले ग्लोबल टेण्डर आह्वान गरेको थियो तर, त्यो नटुङ्खिएकोले पहिलो चरणमा ५३ करोड बजेट विनियोजन गरेको हो।

२२ हजार दर्शक क्षमताको रंगशाला निर्माण गर्न परिषदले करिब १ अर्ब भन्दा वढी रकम लाग्ने अनुमान गरिएको छ। रंगशाला निर्माणका लागि परिषदले दोश्रो पटक टेण्डर आह्वान गरिसकेको छ।

त्यसैगरी परिषदले रंगशाला भित्ररहेको निर्माणाधिन व्याडमिन्टन कभर्ड हलको लागि १० लाख रुपैयाँ बिनियोजन गरिएको छ। कर्भडहल करिब ३ करोड ५० लाखको लागतमा निर्माण सुरु गरिएको हो। सो कर्भहलको लागि लाग्ने खर्च मध्ये आधा रकम परिषद र आधा कास्की जिल्ला व्याडमिन्टन संघले गर्ने छ।

यस्तै आर्चरी खेल मैदानका १० लाख रुपैयाँ छुट्टाइएको छ। करिब १ करोडको लागतमा निर्माण सम्पन्न हुन लागेको आर्चरी खेल मैदानमा अत्यावश्यक पूर्वाधारहरु निर्माण हुन बाकी रहेको कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले बताए। मैदान भित्र दुवो रोप्ने, शौचालय मर्मत र भवनको पनि मर्मत गर्नु पर्ने उनले बताए।

त्यसैगरी करिब ९० लाख रुपैयाको लागेतमा निर्माण सम्पन्न हुन लागेको ह्याण्डबल एकेडेमीको थप ८० लाख छुट्टाएको छ।

पोखरा रंगशाला भित्र ह्याण्डबलको डोम निर्माण गर्नको लागि ४ करोड बिनियेजन गरिएको छ। एक वर्ष अघि १२ करोडको लागतमा वातानुकुलित डोम निर्माण गर्नको लागि प्रक्रिया अगाडि बढार्ईएको हो।

तीन वर्षअघि निर्माण शुरु गरिएको पोखरा रंगशालाभित्रको बहुउद्देश्यीय कभर्ड हल फिनिसिङको लागि १ करोड रुपैयाँ छुट्टाएको छ। बिनियोजित बजेटबाट पार्केटिङ, सिट र साउण्ड सिष्टम जडान र सजावट गरिने योजना रहेको छ।

परिषदले लन टेनिस कोर्ट निर्माणको गर्न पहिलो चरणमा १ करोड रुपैयाँ बिनियोजन गरेको छ। त्यसैगरी परिषदले ३ करोड ४५ लाखको लागतमा क्ले कोर्ट, हार्ड कोर्ट, प्यारापिट तथा चेन्जिङ, शौचालय लगायतको निर्माण गर्न टेण्डर प्रक्रिया अघि बढिसकेको छ।

त्यसैगरी परिषदले पोखरा महानगरपालिका वडा नं २२ स्थित पूम्दी भूम्दी द्वारे खरवारी खेल मैदानका लागि ५० लाख विनियोजन गरेको छ। लामाचौर बास्केटबल कोर्टको लागि १० लाख रुपैयाँ, हेम्जास्थित गौरिशंकर खेल मैदान पूर्वाधार विकासका लागि ५० लाख, लामाचौर गोष्ते खेल मैदानका लागि ५० लाख छुट्टाएको छ। त्यस्तै रंगशाला भित्रको क्रिकेट स्टेडियमका लागि १० लाख र ट्रायथलन खेलको पूर्वाधार विकासका लागि ५ लाख विनियोजन गरिएको अध्यक्ष गुरुङले जानकारी दिए।

नरहरि पौड्याल

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ