किसानलाई ४ प्रश्न, भन्छन्- ‘मेरो उम्मेदवारी व्यवसायीको आवाज हो’

किसानलाई ४ प्रश्न, भन्छन्- ‘मेरो उम्मेदवारी व्यवसायीको आवाज हो’

Kisan sunar (1)

किसान सुनार
महासचिवका उम्मेदवार
पोखरा उद्योग वाणिज्य संघ

यतिबेला पोखरा उद्योग वाणिज्यको चुनावको रापले व्यवसायीलाईमात्रै होइन, पोखरालाई तताएको छ । सिंगो पोखराको ध्यान संघको चुनावमा केन्द्रित छ । यही चुनावी मैदानमा महासचिवको उम्मेदवार बनेर होमिएका एक युवा हुन्, किसान सुनार । वर्तमान कार्यसमिति सदस्य सुनार युवाको उपस्थिति राज्यका हरेक निकायमा हुनुपर्छ भन्ने विश्वास राख्छन् । दशकदेखि व्यावसायिक जीवन र सानैदेखिको सामाजिक उत्तरदायित्व निर्वाह वोध गरेका किसानले आधा दर्जन व्यवसायको नेतृत्वमात्रै गरिरहेका छैनन्, ५० जनासम्मलाई रोजगारी पनि दिएका छन् । तेजरत्न ज्वेलर्स, तेजारथ सप्लायर्स, निगाता इन्टरनेसनल, ल्याङवेज एन्ड ट्रेनिङ इन्स्टिच्युट, टाइम्स वक्र्स, तेजारथ टुर एन्ड ट्राभलका सञ्चालन सुनार हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाको निर्वतमान अध्यक्ष हुन् । संघमा पुगेर व्यवसायीको आवाजलाई बुलन्द पार्ने बताएका सुनार नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको केन्द्रीय सचिव र जिल्ला अध्यक्ष छन् । प्रस्तुत छ, उनै किसानसँग पोखरा उद्योग वाणिज्य संघको चुनावमा केन्द्रित रहेर गरिएको कुराकानीः

चुनावी माहोल पेचिलो बन्दै गएको छ, प्रतिस्पर्धालाई कसरी हेर्नुभएको छ ?

मतदाताको घरदैलोमा पुग्ने, उहाँहरुका गुनासो सुन्ने काम भइरहेको छ । मतदाताका अनेक समस्याको अवगत भएको छ । मतादाताले यी समस्या पूरा गर्न पनि तपाईंले जित्नुपर्छ भन्ने उत्साह थपिरहनुभएको छ । मतदाताका समस्या पहिचान र महत्वलाई हेरेर म पनि त्यसको समाधान खोज्न तत्पर छु । यसले थप जिम्मेवारीवोध र मतदातासँग नजिक बनाएको महसुस ह्दयदेखि नै गरेको छ । व्यवसायीको छाता संस्थाको महासचिवको उम्मेदवार बनेर मतदाताका घरदैलोमा पुग्दामात्रै थाहा, हाम्रा व्यवसायीका वर्षौंदेखिका अनेक समस्या यथावत रहेछन् । यी समस्याले मलाई भित्रैदेखि छोएकोमात्रै छैन, व्यवसायीका समस्याका समाधान र हितमा लड्ने सहास पनि मिलेको छ ।

प्रतिस्पर्धा पेचिलो हुनु निर्वाचनको स्वभाविक प्रक्रिया हो । निर्वाचन प्रजान्त्रिक अभ्यासको सुन्दर नमुना हो । म व्यवसायीकोबीचबाट आएको साझा उम्मेदवार हुँ । व्यवसायीकै रायसल्लाह र आवश्यकताले बनाएको उम्मेदवार भएको हुँदा प्रतिस्पर्धालाई सामान्य रुपमा लिएको छु । चुनावी मिति नजिकिएसँगै चुनाव पेचिलो बन्नु स्वभाविक कुरा हो र प्रतिस्पर्धा निर्वाचनमा होमिएपछि स्विकार्नुपर्छ । महासचिवमा मैले कसैसँग प्रतिस्पर्धा गरिरहेको भन्नुभन्दा पनि आम व्यवसायीका आवाजलाई आफ्नो आवाज बनाएर लागिरहेको छु ।

महासचिव पदमा किसान सुनारलाई किन मत हाल्ने ? के छन् एजेन्डा ?

मत किसान सुनारलाई होइन, व्यवसायीको हकहित र समस्या समाधान गर्ने हिम्मत उठाइरहेको युवालाई दिने हो । जो उद्यागी, व्यवसायीको समस्या, मेरै समस्या हो भन्ने ठानिरहेको छ । जो, व्यावसायिक विकास विना देशको विकास हुन सक्दैन भन्ने सोचेर लागिरहेको छ, जो पोखरा उद्योग वाणिज्य संघलाई मर्यादित र विश्वासिलो बनाउनुपर्छ भनेर हिँडिरहेको छ, उद्योगी व्यवसायीका अप्ठेरो र दुखमा साथ दिने दृढताका साथ चुनावमा होमिएको छ, यो युवालाई व्यवसायीले मत दिने छन् ।

आज किन व्यवसायी यो राज्यका निकायबाट हेपिएको, पेलिएको महसुस गरिरहेका छन् ? म त्यसको कारण र ती आवाज उठाउने संकल्पसहित निर्वाचनमा होमिएको छु । आज किन व्यवसायी र उपभोक्ताबीच खाडल बढ्दै गइरहेको छ ? म त्यो पुर्न चाहन्छु । आज किन करका विषयले आतंकित बनाइरहेको छ ? म त्यसको जवाफ र व्यवसायीलाई न्याय दिलाउने गरी मैदानमा उभिएको छु । आज किन घरधनी र घरभाडामा बस्नेबीच दरार सिर्जना भइरहेको छ ? म त्यसको समस्या समाधान गर्न प्रतिवद्ध छु । आज किन सुन्दर पोखरालाई अव्यवस्थित पार्किङले कुरुप बनाइरहेको छ ? म त्यसको जवाफ खोज्न र समस्या समाधान गर्ने अठोटका साथ व्यवसायीको छाता संगठनमा पुग्ने लक्ष्यमा छु । यसकारण व्यवसायीले मलाई मत हाल्नु हुनेछ । आज किन देशमा सम्भावना नदेखेर खाडी मुलुकदेखि युरोपियन मुलुकसम्म युवाको लर्को लागिरहेको छ ? म चाहन्छु देशमै युवाले उद्यम गरेको हेर्न र सम्भावनाको दियो बाल्न ।

सुदृढ संघ, चुस्त र प्रविधिमैत्री सचिवालय तथा प्रशासन, राजनीतिमुक्त स्वच्छ व्यावसायिक संघ, तिनै तहको सरकारसँग व्यावसायिक हितमा समन्वय र नीतिगत पहल गर्ने मेरो सपना, व्यवसायीको पनि सपना हो । स्वास्थ्य, शिक्षा, पर्यटन, कृषिको आधुनिकीकरण, युवाको रोजगारी र उद्यम तथा समृद्ध पोखराको परिकल्पना मेरोमात्रै कल्पना होइन, आम पाखेरेलीको चाहाना हो । यसकारण उद्योगी, व्यवसायीले मलाई मत हाल्नु हुनेछ । बस्तुगत संघमा आवद्ध व्यवसायीलाई व्यावसायिक क्षमता विकास र तालिम तथा भ्रमण, निशुल्क कर शिक्षामा जोड दिने संकल्प गर्दछु ।

उद्योग विकास मञ्चको स्थापना, व्यवस्थित पर्यटन बसपार्क, अन्तर्राष्ट्रिय विमानस्थल समयमै निर्माण सम्पन्न गर्न खबरदारी र उचित मुआब्जा दिलाउन पहल म गर्नेछु । ममात्रै होइन म जाने सिंगो संघ परिवार यसमा लाग्नेछ । किन कि म व्यक्तिमा होइन, सामूहिकतामा विश्वास गर्छु । म हाम्रो होइन, राम्रोमा विश्वास गर्छु ।

यहाँलाई मतदाताले जिताएर पठाएकै हुन्, के गर्नुभयो ?

३१ औं महाधिवेशनमा लोकप्रिय मत दिएर व्यवसायीले नै जा संस्थामा तेरो आवश्यकता छ भनेर पठाउनुभयो । मैले उहाँहरुको विश्वासलाई झन् माथि उठाएको छु । दुई वर्षको कार्यकालमा मेरो भूमिका महत्वपूर्ण र सम्झनलायक बन्यो । सदस्यता उपसमिति, आर्थिक उपसमिति, प्रदर्शनी केन्द्रमा बन्न लागेको अत्याधुनिक डोम निर्माण उपसमिति, राष्ट्रिय औद्योगिक व्यापार मेलाको निरन्तर दुई वर्ष सुरक्षा संयोजक भएर काम गरिसकेको छु । यी समितिमा रहेर मैले जिम्मेवारी निभाउने काममात्रै गरिनँ, संस्थाको गरिमा, मर्यादालाई पनि शीरमा लिइहिँडे, हिँडिरहें ।

संघमा मेरो उपस्थिति पोखरामात्रै सीमित रहेन, श्रीलंकाका महामहिम राजदुतलाई पोखरा बोलाएर पर्यटन क्षेत्रको विकासमा अगुवाइ गरेको छु । यसले दुई देशबीचको सम्बन्धमात्रै कायम गरेन, यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पु¥यायो । नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई उपसमिति रहेर पनि मैले पोखरा र पोखरेलीका पक्षमा आवाज उठाउने तथा भूमिका निर्वाह गर्ने जिम्मेवारी पूरा गरें । व्यवसायीको छाता संगठनमा रहेर घरभाडा, कर र हरेक सुखदुखमा काम सम्पन्न गरेकै कारण पाएको उत्साह र सहयोगले मलाई आज महासचिवकको उम्मेदवारको रुपमा उभ्याएको हो ।

संघमा वर्षौं आवद्ध व्यक्ति हुँदाहुँदै छोटो समयमै पदको आकांक्षी बन्यो भन्ने यहाँलाई आरोप छ नि ?

सवाल संस्थामा कति रह्यो, कति भोटो फटाल्यो, कहिलेदेखि लाग्यो भन्ने होइन । सवाल त यो हो, उसले त्यहाँ रहँदा व्यवसायीका पक्षमा कति बोल्यो, कति काम गर्न सक्यो, कति क्षमता राख्छ र भोलि के गर्न सक्छ भन्ने हो । हाम्रो नेपाली मानसिकतामै यो छ कि कुनै संस्थाको नेतृत्व गर्न वा राजनीतिक पदमा पुग्न वा सम्मान पाउन उमेर खाएको हुनुपर्छ, भोटो फटालेको वा समय गुजारेको हुनुपर्छ । यो मानसिकताले हामीले के गर्न सकौंला ? यो मैले भन्नै पर्दैन । म अहिले युवा छु र पो केही गर्ने अठोट छ । म युवा छु र पो केही नयाँ भिजनसहित काम गर्ने मनमा हुटहुटी छ । म युवा हुँ र पो मैले युवाका समस्या र युवा उद्यमीका समस्या बुझ्न सक्छु । त्यसैले कुनै संस्थामा जान वा नेतृत्व गर्न उमेर र कार्यकाल ठूलो कुरा होइन, ठूलो कुरा त एजेन्डा हो । ठूलो कुरा त भोलिको पोखराको सपना हो । म देखिरहेको छु, भोलिको व्यवस्थित, मर्यादित र समृद्ध पोखराको सपना ।

दसकदेखि बस्तुगत संघमा रहेर नेतृत्व सम्हालिसकेको छु । आधा दर्जन सामाजिक संस्थाको नेतृत्व र अनुभव प्राप्त गरिसकेको छु । युवा उद्यमी, पोखराका व्यवसायीले झल्नु परेको समस्या र यहाँका सम्भावनालाई नजिकबाट नियालेको छु । सामाजिक उत्तरदायित्वको वोध र तिनै अनुभव अब पोखरा उद्योग वाणिज्य संघमार्फत उद्योगी व्यवसायीको पक्षमा लगाउने मेरो प्रतिवद्धता छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds