‘मनिपाल अस्पतालमा सेवा अवरुद्ध नगर’ – स्थानीय

‘मनिपाल अस्पतालमा सेवा अवरुद्ध नगर’ – स्थानीय

pokhara-manipal-hospital

पोखरा । पोखरामा सबैभन्दा बढी आन्दोलन हुने अस्पताल मनिपाल अस्पताल । जहाँ कर्मचारी मात्र होईन, चिकित्सक समेत आन्दोलनमा उत्रदैं आएका छन् । भारतीय व्यवस्थापन भएकाले क्षतिपूर्तिका सवालमा पनि मनिपालमा बढी तनाव हुने गरेको छ । मनिपाल अस्पतालमा आन्दोलन नगर्न स्थानीयवासीको आग्रह छ ।

मनिपाल अस्पताल कर्मचारी आन्दोलनका कारण अहिले दुई दिनदेखि पुनः ठप्प छ । तर, फुलबारी क्षेत्रको प्रमुख केन्द्र मनिपाललाई निर्वाध सञ्चालन गर्ने वातावरण बनाउन स्थानीयले आग्रह गरेका छन् । आन्दोलन पीडित भनिएका पक्षबाट हुने तर अस्पताल बन्द गर्न नहुनेमा स्थानीय अस्पताल प्रशासनसँग लागेको जस्तो देखिएपछि आन्दोलनकर्ता मात्र होईन, प्रमुख जिल्ला अधिकारीको समेत दुर्वचन खानुपरेको उनीहरुले गुनासो गरे ।

स्थानीय फुलबारी क्लबले बुधबार पत्रकार सम्मेलन नै गरेर अस्पताल प्रशासनसँग मिलेर आफूहरुले पैसा खाएको आरोप कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले लगाएको भन्दै खण्डन गरेको छ । सिडिओ जस्तो पदमा बसेको व्यक्तिले अस्पताल बन्द गर्न नहुने भन्दै आग्रह गर्न पुग्दा अस्पताललाई दुहुनो गाई बनाएको भनेर आरोप लगाउनु खेदजनक रहेको अध्यक्ष हरिशचन्द्र बास्तोलाले बताए ।

क्लवका अध्यक्ष बाँस्तोलाले स्वास्थ्य जस्तो अत्यावश्कीय सेवा अवरुद्ध हुँदा सर्वसाधारण जनता मारमा पर्ने हुँदा कानुनी व्यवस्था कार्यान्वयन गर्दै अस्पताल जस्तो ठाउँ बन्द गर्न नहुने बताए । उनले पीडित पक्षको अधिकारका लागि क्लबले सहयोग गर्ने तर अस्पताल बन्द गर्ने कुरामा समर्थन गर्न नसक्ने बताए ।

मनिपाल अस्पतालमा फार्मेसीमा कार्यरत कर्मचारीहरु रमेश बोहरा, टेक बहादुर विक, निलकण्ठ भट्टराई, लेखा शाखामा कार्यरत अल्पना ठाकुरलाई अस्पताल फार्मेसीमा हिनामिना गरेको आरोपमा निष्काशन गरेपछि अहिले अस्पतालमा कर्मचारीहरुले आन्दोलन गरेका छन् ।

कर्मचारीका कारण हिनामिना नभएको, फार्मेसीमा औषधि खरिद प्रक्रिया, विक्रिवितरणमा अस्पताल प्रशासनकै हात हुने भन्दै कर्मचारीमाथि कारबाहीको विरोधमा मनिपाल बन्द छ । अखिल नेपाल स्वास्थ्य श्रमिक संघ मनिपाल एकाई, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मनिपाल एकाई, मनिापाल स्वतन्त्र कर्मचारी युनियनको संयुक्त एक्येबद्धतामा आन्दोलन भएको छ ।

तत्काल अस्पताल खुलाई विरामीको उपचारमा सहजीकरण गर्न भन्दै क्लबले पोखरा लेखनाथ महानगरपालिका वडा नं. ११ कार्यालयलाई अनुरोध गरेको थियो । तत्काल वडा कार्यालयले जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरेको थियो । यस क्रममा प्रमुख जिल्ला अधिकारीबाटै गैरजिम्मेवार जवाफ पाएको भन्दै वडा अध्यक्ष मोहनप्रसाद बास्तोलाले आपत्ति जनाए ।

फुलबारी क्लबले लेखेको पत्रमा ‘स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्र भित्र हुने कुनै पनि आन्दोलनलाई निषेध गर्दै यथास्रिघ समस्या समाधान गर्न’ उल्लेख छ । वडाध्यक्ष बास्तोलाले मनिपाल अस्पताल यस क्षेत्रकै गहना भएको र सस्तो सर्वसुलभमा औषधोपचार हुने भएकाले सर्वसाधारणको हितका लागि पनि बन्द गर्न नहुने बताए । क्लबका सचिव दामोदर आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ