एमालेको भागको तीन मन्त्रालयमा प्रदीपसँगै रविन्द्रको प्रवल सम्भावना, माओवादीले नाम टुंगायो

एमालेको भागको तीन मन्त्रालयमा प्रदीपसँगै रविन्द्रको प्रवल सम्भावना, माओवादीले नाम टुंगायो

UML_Leaders_sMPlGlSQun

काठमाडौं १ चैत्र– प्रधानमन्त्री नियुक्त भएको झण्डै एक महिनापछि केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको गृहकार्य गरेका छन् ।

फागुन ३ गते प्रधानमन्त्री नियुक्त ओलीले शुक्रवारसम्म मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् । संघीय समाजवादी फोरम र राजपालाई समेत सरकारमा सहभागि गराउने पहल स्वरुप मन्त्रिपरिषद् विस्तारमा ढिलाई भइरहेको एमालेका नेताहरु बताउँछन् । फोरमले सरकारमा सहभागि हुने निर्णय गरिसकेको छ भने राजपाले सकारात्मक संकेत दिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रवार सम्ममा मन्त्रिपरिषद् विस्तार हुने बुधवार बताएका थिए । माओवादीले आफ्नो तर्फबाट मन्त्री बन्नेको नाम टुंगो लगाइसकेको छ ।

मन्त्रीका आकाक्षी धेरै भएपछि एमालेले टुंगो लगाउन सकेको छैन । मन्त्रिपरिषद् विस्तारको विषयमा प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पटक–पटक छलफल भइसकेको छ ।

फोरम र राजपालाई समेत सरकारमा सहभागी गराउँदा एमालेको भागमा बाँकी ३ मन्त्रालय पर्ने देखिएको छ । तीन मध्ये प्रदीप ज्ञवाली मन्त्री बन्ने निश्चित भएको एमाले स्रोत दाबी गर्छ । बाँकी २ मध्ये एकमा रवीन्द्र अधिकारीको सम्भावना प्रवल छ ।

मन्त्री बन्न नपाएकालाई राज्यमन्त्री, संसदीय समितिको सभापति र प्रमुख सचेतक बनाउने आश्वासन नेताहरुले पाएका छन् । संसदीय समितिको सभापतिको हैसियत राज्यमन्त्री सरह हुन्छ । ‘मन्त्रीको अवसर नपाएकालाई समितिको सभापति बनाउने तयारी छ’ एमालेका एक नेताले बताए ।

लगातार चुनाव जितेका सांसदले मन्त्री बन्ने अवसर नपाए संसदीय समितिको सभापति पाउने छन् । प्रतिनिधि सभामा ७ वटा समिति रहने प्रस्ताव गरिएको छ । ती मध्ये सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षी दलले लिने संसदीय परंपरा छ ।

गत फागुन ३ गते प्रधानमन्त्री बनेका ओलीले फागुन २७ मा विश्वासको मत लिएका थिए । प्रधानमन्त्री बनेको दिन दुई र पछि चार गरी ६ जनालाई ओलीले मन्त्री बनाइसकेका छन् ।

माओवादीले टुंगायो मन्त्री बन्नेको नाम, भोलि शपथ !

नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीवार बसेको माओवादीका शीर्ष नेताको बैठकले मन्त्री बन्नेको नाम टुंगो लगाएको हो ।

माओवादीका तर्फवाट वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल र विना मगर मन्त्री बन्ने तय भएको स्रोतको दाबी छ । कञ्चनपुरबाट चुनाव जितेकी विना पहिलो पटक मन्त्री बन्न लागेकी हुन् । उनी स्व.प्रकाश दाहालकी पत्नी हुन् ।

देवेन्द्र पौडेल र चन्द्रप्रकाश खनाल बलदेबको पनि मन्त्री बन्ने चर्चा छ । यसअघि रामबहादुर थापा र मातृका यादव माओवादीको तर्फबाट मन्त्री बनिसकेका छन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रवार सम्ममा मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी, संघीय समाजवादी फोरम र एमालेका मन्त्रीहरुलाई सहभागि गराएर तेस्रो पटक मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

गत फागुन ३ गते प्रधानमन्त्री बनेका ओलीले फागुन २७ मा विश्वासको मत लिएका थिए ।

-लोकान्तरबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds