रहेनन् नेपाली म्याराडोना, चर्चित नेपाली फुटबलर मणि शाहको निधन

रहेनन् नेपाली म्याराडोना, चर्चित नेपाली फुटबलर मणि शाहको निधन

Mani Shah

काठमाडौँ । नेपाली म्याराडोनाको रुपमा चर्चित फुटबल खेलाडी मणि शाहको सोमबार साँझ निधन भएको छ ।नेपालका पूर्व राष्ट्रिय फुटबलर मणि शाहको ५१ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि कलेजोको रोगबाट पीडित शाह थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत थिए ।

सन् १९९३ को दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्णपदक जित्दाका प्लेमेकर रहेका ५१ वर्षीय शाहको केही वर्षअघि लिभरमा समस्या देखिएको थियो।

शाहलाई आज बिहान ५ बजेदेखि भेन्टिलेटरमा राखिएको र साँझ ५ बजेर ४२ मिनेटमा चिकित्सकले मृत घोषणा गरेको हो । राष्ट्रिय टोलीका पूर्व कप्तान शाहको उपचारको सम्पूर्ण खर्च एन्फाले बेहोरिरहेको छ।

मनाङमर्स्याङदी क्लबका पूर्वखेलाडी शाहको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि मंगलबार दशरथ रंगशाला परिसरमा बिहान ९ बजेदेखि ११ सम्म राखिने र त्यसपछि आर्यघाट लगिने एन्फाले जनाएको छ।

शाहको निधनमा अखिल नेपाल फुटबल संघ एन्फाले शोक व्यक्त गरेको छ । एन्फा महासचिव तुलाधरले उनको निधनले नेपाली फुटबलमा अपुरणीय क्षति भएको प्रतिक्रिया दिएका छन् । ‘उहाँ नेपाली फुटबलकै सम्मानित व्यक्तित्व हुनुहुन्छ, उहाँको सम्मानमा मरणोपरान्त पनि हामीले कुनै कसर बाँकी राख्ने छैनौँ’, तुलाधरले भने ।

सन् १९८४ देखि १९९८ सम्म लगातार १३ वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलेका शाहले १० अन्तर्राष्ट्रिय गोल गरेका छन् । सन् १९९८ को एसियाली खेलकुदमा नेपालको झण्डा बोक्ने सौभाग्य पाएका शाह एसियाली खेलकुदमा देशको झण्डा बोक्ने अहिलेसम्म नै एक मात्र फुटबल खेलाडी हुन् । उनका श्रीमती र १ छोरी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ