मुग्लिन–नारायणगढ अब ३० मिनेटमा, दिउँसो बन्द नहुने, पहिलो कालोपत्रे सकियो

मुग्लिन–नारायणगढ अब ३० मिनेटमा, दिउँसो बन्द नहुने, पहिलो कालोपत्रे सकियो

muglin narayanghat

मुग्लिन–नारायणगढ सडकखण्डमा पहिलो तहको कालोपत्रे गर्ने काम सकिएको छ । दोस्रो र तेस्रो तहको कालोपत्रे गर्ने काम पनि केही दिनमै सक्ने तयारी छ ।

तीन खण्डमा ठेक्का लागेर काम थपिएको सडकमा हिजो पहिलो तहको कालोपत्रेको काम सकिएको आयोजनाका सूचना अधिकृत शिव खनालले जानकारी दिए । खनालका अनुसार मंगलबार राति १२ बजे सो सडकको ३३ दशमलब २ किलोमिटरमा पहिलो तहको कालोपत्र गर्ने कार्य सम्पन्न भएको हो ।

आँपटारीदेखि मुग्लिनसम्मको ३४ किलोमिटर लामो सडकखण्डमा बाँकी रहेको ६० मिटर कालोपत्रेको काम सकिएको हो । बाटोमा कुनै अवरोध नभए अब ३० मिनेटमा यो सडकखण्ड पार गर्न सकिने पनि खनालले जनाए ।

ठूला ट्रक र बसलाई भने सडक पार गर्न ४५ देखि ५० मिनेट लाग्नेछ । साना कार, जीप र भ्यान भने सजिलै पार हुन सक्छन् । मोटरसाइकलमा यात्रा गर्ने २५ मिनेटमै पार गर्न सक्छ । वर्षातमा पहिरो खसेर जोखिम ल्याउन सक्ने ठाउँमा आयोजनाले आफैँ पहिरो खसालेर जोखिम हटाउने काम गरिरहेको पनि खनालले जानकारी दिए ।

उहाँका अनुसार कालोपत्रेको काम सकिए पनि आयोजनाको सबै काम सक्न अझै केही दिन लाग्नेछ । सडक निर्माणको अरु कामका लागि भने अरु दिनजस्तै आज पनि बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म गाडी रोकेर काम हुनेछ । एक दुई दिनपछि भने दैनिक रुपमा हुँदै आएको बन्द पनि हटाएर यात्रा सहज बनाउने तयारी भैरहेको खनालले जनाए

सो सडकलाई तीन भागमा विभाजन गरेर काम गरिएको छ । पहिलो खण्ड आँपटारीदेखि दासढुंगा सम्मको १० दशमलब ४५ किलोमिटरको ठेक्का पाएको बीएलए श्रेष्ठ जेभिको पहिलो र दोस्रो तह पूरै कालोपत्र भइसकेको छ भने तेस्रो तहको दुई किलोमिटर कालोपत्रे भएको छ । सो सडक खण्डको कालोपत्र र सडक सुरक्षाको काम मात्रै बाँकी रहेको खनालले बताए ।

दोस्रो खण्ड दासढुंगादेखि सिमलताल सम्मको १० दशमलव ६९ किलोमिटर सडकको अधिकांश काम सम्पन्न भएको छ । सो खण्डमा उड्हिल लामा जेभीले निर्माणको जिम्मा पाएको थियो । सो खण्डको प्रगति ९७ दशमलब ५० प्रतिशत भएको छ । एक वर्षसम्म काम हेर्नु पर्ने भएकाले प्रगति शत्प्रतिशत हुन एक वर्ष कुर्नुपर्ने हुन्छ ।

तेस्रो खण्ड सिमलतालदेखि मुग्लिन सम्मको १२ दशमलब १५ किलोमिटर हो । सो खण्डको प्रगति ८५ प्रतिशत भएको सूचना अधिकारी खनालले बताउनुभयो । सो खण्डको दोस्रो तह ११ दशमलब ८० किलोमिटर सम्पन्न भएको छ भने तेस्रो खण्ड पूरै बाँकी रहेको छ । तेस्रो खण्डमा कालोपत्र, रोड एङ्करिङ् र सडक सुरक्षाको काम बाँकी रहेको खनालले बताए । मौसम अनुकूल भएमा एक दिनमा दोस्रो र तेस्रो तहको कालोपत्र एक किलोमिटर गर्न सकिने भएकाले लामो समय नलाग्ने  खनालले बताए ।

चौथो पटकको मिति थपअनुसार पहिलो खण्डको मई १० मा म्याद सकिएको छ भने दोस्रो खण्डको २० मई र तेस्रो खण्डको ३० मई २०१८ मा सकिएको छ । हालसम्म सो सडकको समग्र प्रगति ९१ दशमलव पाँच प्रतिशत भएको छ । काम बाँकी रहेकाले समय थप गर्ने प्रक्रिया अघि बढाइएको छ ।

सो सडक सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो । लगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म बर्सात् बढी भएका कारण समय थप गरिँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds