मुस्ताङमा सिन्डिकेट हटेपछि ‘जता हेर्‍यो, उतै काउन्टर’

मुस्ताङमा सिन्डिकेट हटेपछि ‘जता हेर्‍यो, उतै काउन्टर’

Jomsom-Counter

सुन्दर कुमार थकाली मुस्ताङ, २७ फागुन / बेनी-जोमसोम सडकखण्डको स्तरोन्नती तथा जिल्लामा भएको यातायात सेन्डिकेडप्रथा भङ्ग भएपछि पछिल्लो समय बिभिन्न प्रकारका सवारी साधन मुस्ताङ भित्रने क्रम बढ्दै गएको छ।

धार्मिक तथा पर्यटकीय जिल्ला मानिने मुस्ताङ नेपालकै कच्ची सडक मध्यको व्यस्त सडकमा पर्छ। जिल्ला बाहिरका यातायात समितिले यस राजमार्गलाई प्राथमिकता दिएर सेवा सञ्चालन गर्न गरेका हुन्। मुस्ताङमा अहिले काठमाडौं, जोमसोम, पोखरा र बेनीका लागि जिल्ला र बाहिरी समितिका छुट्टाछुटुटै बस तथा जीप सञ्चालनमा आईरहेको छ। बाह्य समितिको अतिक्रमण बढेपछि जिल्लाका स्थानीय यातायात व्यवसायी भने बिस्थापति हुने अवस्था देखिएको छ।

राष्ट्रिय राजमार्गका रूपमा बिस्तार गर्न अभियानमा रहेको बेनी-कोरला सडक स्तरबृद्धि भईरहेका बेला जिल्लाको यातायात र पर्यटनको प्रचुर सम्भावना भएकाले मुस्ताङ सडकमा आफ्ना समिति मातहतका बस तथा जीप सञ्चालन गर्न जिल्ला बाहिरका समिति आतुर देखिएका हुन्।

जसका कारण म्याग्दी, बाग्लुङ र पोखराका यातायातका समिति मुस्ताङ सडकलाई अतिरिक्त आम्दानीको श्रोत बनाउन चाहिरहेका छन्। मुस्ताङ सडकमा यातायात पहुँच बिस्तार गर्न सकिए भविष्यका लागि राम्रो आम्दानी लिन सकिने भएकाले कालोपत्रे सडकको बिस्तार अगावै उनीहरुले रूट सुरक्षित गर्न खोजेका हुन्।

त्यसो त मुस्ताङमा २ यातायात समितिबीच समन्वय र सहकार्य हुन नसक्दा जिल्ला बाहिरका समितिले पकड जमाउन सफल भएको मुक्तिनाथ दर्शन यातायात प्रालिका सदस्य अजित थकालीले स्वीकार गरे। उनले पछिल्लो समय समितिका पदाधिकारीबीच तिक्तता बढेपछि दोस्रो समिति मुक्तिनाथ दर्शन यातायात प्रा.लि. जन्मिन पुगेको खुलाए।

उनका अनुसार दुई समितिबीचको आन्तरिक खिचातानीले मुस्ताङका यातायात व्यवसायी आपसमा सतही रूपमा कमजोर हुन पुगेको बताए।

विगत ८ वर्ष देखि मुस्ताङ जीप तथा बस व्यवसायी समितिले जिल्लामा एकलौटी व्यवसायको रुपमा सार्वजनिक यातायात सेवा प्रवाह गर्दै आएको यातायात संस्था हो।

जिल्ला सदरमुकाम जोमसोममा यतिखेर ५ समितिका एक दर्जन बढी टिकट बुकिङ काउन्टर खडा छन्। पश्चिमाञ्चलको पृथ्वीराजमार्ग बस सञ्चालक समितिले पनि मुस्ताङ रूढमा आफ्ना मातहतका बस सञ्चालन गर्ने बताईएको छ।

मुस्ताङ जीप तथा बस व्यवसाय समितिका ३ काउन्टर, मुक्तिनाथ दर्शन यातायात प्रा.लि.का ३ काउन्टर म्याग्दी बस सञ्चालक समितिका २, धौलागिरी अञ्चल यातायात संञ्चालक बस व्यवसायी समितिका २ र घोडाघोडी यातायात समितिका २ वटा काउन्टर खोलिएको छ।

अहिले जोमसोममा जता हेर्‍यो उतै छ्याप छ्याप्ती काउन्टर देखिन्छन्। जोमसोमबाट फर्कने तिर्थालु तथा पर्यटक आफूले चाहे अनुकुल यात्रा गर्ने अवसर मिलेको छ। जोमसोम काठेपुल नजिकै आधा दर्जन काउन्टर लस्करै छन्। जोमसोमदेखि मुक्तिनाथ रूढतर्फ चल्ने बस तथा जीप प्रभावित भएका छन्।

जिल्ला बाहिरका बस तथा जीपले सिधै यात्रु मुक्तिनाथ पुर्‍याउँदा स्थानीय व्यवसायी मारमा परेका हुन्।

मुस्ताङको जेठो समिति मुस्ताङ बस तथा जीप समितिका मात्रै ४० वटा जीप र सयभन्दा बढी बस सञ्चालनमा छन्। जसले स्थानीय सेवाका अलावा दैनिक ३ समय लामो दुरीको बस छुटाउने गरेको छ। समितिले जोमसोमदेखि काठमाडौं, जोमसोमदेखि पोखरा र जोमसोमदेखि सुनौली बस छटाउने गरेको टिकट बुकिङ काउन्टर कर्मचारी भरत बाँनियाले जानकारी दिए।

उनले आवश्यक यात्रु भए समितिका बसले जुनसुकै समय पनि सेवा दिने उल्लेख गरे। मुस्ताङकै अर्को समिति मुक्तिनाथ दर्शन यातायात प्रा.लि.का पनि करिब ३ दर्जन टाटा सुमो जीप र डेढ दर्जन बस सञ्चालनमा छन्। जसले जोमसोम, मुक्तिनाथ, पोखरा,काठमाडौंको सेवा दिएको टिकट बुकिङ काउन्टरका कर्मचारी पेमाछेतेन बिकले जानकारी दिए।

उनका अनुसार समितिले लामो दुरीको काठमाडौं यात्राका लागि घोडाघोडी यातायात व्यवसायी समितिसँग आलोपालो बस छुटाईने गरेको बताए। त्यस्तै म्याग्दी जीप तथा बस संञ्चालक समिति र धौलागिरी समितिका पनि एक दर्जन बस सञ्चालनमा छन्। जसले जोमसोम, पोखरा र जोमसोम काठमाडौंका लागि बस सञ्चालन गरेको धौलागिरी टिकट बुकिङ काउन्टर जोमसोमका कर्मचारी सचिन पङ्कीले जानकारी दिए।

उनले धौलागिरी समितिले हेटौडा, नारायणगढ र वीरगञ्ज पनि सेवा दिईरहेको बताए। लामो दुरीमा सञ्चालित बसहरु आरामदायी तथा डिलक्स भएको उनको भनाई छ।

पक्की पुल बनेपछि जोमसोमको रौनक घट्यो

भारतीय राजदूतावासले निर्माण गरेको जोमसोमस्थित कालिगण्डकी मोटरेबल पुल सञ्चालन भएपछि सदरमुकाम जोमसोमको पर्यटन व्यवसायको रौनक घट्न पुगेको छ। पुल बनेपछि जिल्ला बाहिरका आन्तरिक तथा बाह्य पर्यटक बसबाट जोमसोम नओर्ली सिधै मुक्तिनाथ र उपल्लो मुस्ताङ जाने भएकाले जामसोमको व्यवसाय धरापमा पर्न थालेको हो।

सडकको स्तरबृद्धि हुदै गरेको, पुल निर्माण भएको र सिन्डीकेट हटेकाले निजी, हरियो र सार्वजनिक सवारी साधनले जोमसोम नरोकी सिधै गन्तब्यमा पुर्‍याईने भएकाले गतवर्ष भन्दा यसवर्ष जोमसोममा पर्यटकको चहलपहल घटेको यहाँका सरोकारवाला व्यवसायीहरु बताउँछन्।

तर, जोमसोमको पुथाङ एयरपोर्टमा भने पर्यटकको बाक्लो चहलपहल छ। पोखरादेखि सिधै हवाई सेवा मार्फत जोमसोम ओर्लने बाह्य पर्यटकका कारण विमानस्थल वरपरका होटल व्यवसायीमा असर परेको छैन। तर साना व्यवसायीमा भने चहलपहल घटेपछि व्यवसाय सुस्ताएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ