मुस्ताङको पर्यटनः सिजनमा गुलजार, जाडोमा सुनसान

मुस्ताङको पर्यटनः सिजनमा गुलजार, जाडोमा सुनसान

Upper Mustang

रञ्जन अधिकारी पोखरा, ४ मंसिर / ‘बाईक नम्बर भन्नुस् ? लाईसेन्स नम्बर ? कति जनाको समूह ?’– मुस्ताङको छोसेङ स्थित ईलाका प्रहरी कार्यालयको पर्खाल छेको पारेर एक जवान चर्को गरी चिच्याए । उनको आवाजलाई हावाको बेगले सुन्न मुस्किल पारेको थियो ।

चीन सीमाको कोरला नाका जाने क्रममा अन्तिम मानव बस्ती भएको ठाउँ नै यही छोसेङ–८, नेचुङ हो । रेकर्ड राख्ने क्रम चलिरहँदा प्रहरी सहायक निरीक्षक जसबहादुर विश्वकर्मा टुप्लुक्क आईपुगे । ‘अहिलेसम्म त रमाईलो लागेको छ । अब हिँउ पर्छ । बाटो बन्द हुन्छ ।’ अपर मुस्ताङ हुँदै कोरला नाका हेर्नकै लागि मान्छेहरु यसरी अहिलेसम्म आएका थिएनन् ।’ वर्षमा दुइ–तीन पटकमात्र कोरला नाका खुल्ने गर्छ । नाका खुल्दा चीनबाट सामान ल्याउन व्यापारीको चहलपहल हुने भएपनि अन्य समयमा कोरला नाका नै हेर्न खासै त्यहाँ पुग्दैनन् । कोरला नाकाको भन्सार कार्यालय पनि प्रहरी कार्यालय प्राङ्गणमै छ ।

‘यो वर्ष कति जना कोरला नाका पुगे होलान् ?’ यो प्रश्नमा उनी अकमकिए । ‘तपाईंहरु फर्कदाँसम्म ठीक पारेर राख्छु’ । लोमान्थाङबाट आएको टोली छोसेङ हुँदै अघि बढ्यो । त्यहाँबाट कोरला नाका पुग्दासम्म नम्बर प्लेट नभएको चिनियाँ बाईकमा दुई जना बाहेक अन्य कोहि भेटिएन । कच्ची बाटो, हिँउ बहेको खोला छिचोल्दै त्यहाँ पुग्न अत्यन्त कठिन छ । बाह्य पर्यटकलाई अपर मुस्ताङ भ्रमणका लागि पाँच सय डलर तिर्नुपर्ने हुन्छ ।

कोरला नाकामा चिनियाँ तर्फबाट गेटमा ताला बन्द गरिएको छ । सोलारबाट सिसि क्यामेरा जडान गरिएको छ । मान्छे कोहि देखिएन । कोरला नाकाबाट लोमान्थाङ फर्कने क्रममा पुनः प्रहरी सहायक निरीक्षक विक बाहिरै देखिए । वैशाख १ देखि कार्तिक मसान्तसम्म दुई हजार छ सय ३३ जना कोरला नाका प्रवेश गरेको विकले जानकारी दिए । ‘यसमध्ये महिलाको संख्या छ सय ७३ छन् । कोरला नाका हेर्नकै लागि पुग्ने भने अत्यन्त कम छन् । मोटरसाईकलमा आएका युवाको टोली मात्र त्यहाँ पुग्ने हिम्मत राख्छन् ।’ विकले भने ।

वैशाखदेखि कार्तिक मसान्तसम्म दुई हजार छ सय ३३ जना कोरला नाका पुगेका छन् । दशैं र तिहार छेकोमा मात्रै झण्डै एक लाख आन्तरिक एवं बाह्य पर्यटक हवाई तथा सडकमार्ग भएर मुस्ताङ छिरेका छन् । मंसीर १५ देखि अपर मुस्ताङमा सवारी नचल्ने र जाडो समय सुरु भएकाले मुस्ताङ ट्रिप सिजन अन्त्यतिर पुगेको छ ।

जोमसोमदेखि अपर मुस्ताङसम्म जीप चल्ने गर्छ । मंसीर १५ देखि जीप सेवा बन्द हुने अपर मुस्ताङ जिप व्यवसायी समितिका एक कर्मचारीले जानकारी दिए । अब बाटोभरी हिँउ पर्छ । गाडीलाई हिँउले बाटो छेक्छ । अहिले नै समरदेखि भेना भन्ने गाउँसम्मको बाटो अत्यन्त खतरनाक छ । यातायातमा सिण्डिकेट कायमै छ ।

तल्लो मुस्ताङका जिप बस उपल्लो मुस्ताङ प्रवेश गर्न पाउँदैन । उपल्लो मुस्ताङका व्यवसायीले पनि आफ्ना जीप जोमसोम चलाउँदैनन् । जोमसोमदेखि छुसाङसम्म मात्रै तल्लो मुस्ताङको जीप चल्ने गर्छ । त्यसपछि यात्रुले सवारी फेर्नपर्ने बाध्यकारी अवस्था छ । व्यवसायीहरु यसरी नै सहमत भएर अघि बढेकाले प्रशासनले केहि गर्न सकेको छैन । यद्यपी, पहिले जस्तो सिण्डिकेट अहिले नभएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेल दाबी गर्छन् । ‘हामीले बुझेको, देखेको भन्दा यहाँ अलि भिन्न पाएँ । म भर्खरै यहाँ आएकोले बुझ्दैछु ।’ पोखरेलले भने । जोमसोममा खान बस्न अत्यधिक महंगो रहेको, उपल्लो मुस्ताङमा एउटै अण्डा पकाएको एक सय ७०, चाउचाउ साँधेको दुई सय रुपैंया लिएर पर्यटकमाथि मनोमानी गरेको विषयमा उनले यसबारे आफू जानकार नरहेको बताए । मुस्ताङ पुग्ने पर्यटक मुक्तिनाथ दर्शन गर्न छुटाउँदैनन् । अहिले मन्दिर दर्शन गर्न लाईन नै लाग्नुपर्ने अवस्था छ ।

muktinath

कागबेनी झरेर छुसाङ हुँदै अपर मुस्ताङ जाने क्रममा कतिपय ठाउँमा मोबाईल नेटवर्कले काम गर्दैन । मुख्य गाउँमा रहेको प्रहरी चौकीले आवश्यक परामर्श दिईरहेको मुस्ताङका प्रहरी निरीक्षक राजकुमार चौधरी बताउँछन् । पर्यटकको सुरक्षाका लागि प्रहरी कटिबद्ध रहेको उनले जनाए ।

महिनामै लाख पर्यटक

यो वर्ष जस्तो आन्तरिक पर्यटक कहिल्यै मुस्ताङ पुगेका थिएनन् । दशैं तिहारको छेकोमा वर्षकै सबैभन्दा धेरै पर्यटक मुस्ताङ उत्रे । म्याग्दीबाट मुस्ताङ जिल्ला प्रवेशसँगै घाँसामा सवारी र यात्रुको रेकर्ड राख्ने गरिएको छ ।  असोज २५ गते दशैं टीकादेखि कार्तिक २६ गतेभित्र ४१ हजार बढि सडकमार्ग भएर मुस्ताङ पुगेको प्रहरी चौकी घाँसाका प्रहरी सहायक निरीक्षक योगेन्द्र यादवले जानकारी दिए । राउण्ड अन्नपूर्ण पदमार्ग भएर ट्रेकिङ जाने र हवाई मार्गबाट मुस्ताङ भित्रिनेको संख्या पनि उत्तिकै छ ।

दशैं र तिहारको बीचको समयलाई मुस्ताङ भ्रमणका लागि धेरैले छुट्याए । ‘दशैं लगत्तै युवाको ताँती नै लाग्यो । रेकर्ड राख्नै हम्मे हम्मे पर्ने अवस्था आयो’– असई यादवले भने– ‘एकै दिन झण्डै सात सय मोटरसाईकल प्रवेश गरे । दशैं सुरु हुने अघिको अवस्था त्यस्तै थियो ।’

korala-naka

विशेषगरी शैक्षिक भ्रमण टोली बस रिजर्भ नै गरेर आएको यादवले बताए । उनका अनुसार दशैं पछि मात्रै सात हजार बढि मोटरसाईकल मुस्ताङ गएको छ भने बस÷जिपको संख्या २५ सय नाघेको छ । दशैं सुरु हुनु अघिको संख्या झनै बढि रह्यो । साईकलतथा पैदलमार्ग भएर जानेहरु पनि छन् । असार देखि भदौसम्म भने वर्षा मौसम तथा गुईठे, कालोपानी, देवखोला लगायतका स्थानमा सडक भत्केका कारण सडक मार्ग भएर मुस्ताङ छिर्नेको संख्या कम रहेको यादवले जानकारी दिए ।

यस्तै, हवाई मार्गबाट पनि गएको महिना अक्टोबरमा वर्षकै सर्वाधिक पर्यटक मुस्ताङ ओर्लिए । विदेशी पर्यटकको संख्या पनि सोहि अनुपातमा बढेको छ । अक्टोबर महिनामा झण्डै ३७ सयले जहाजमा यात्रा गरेको नागरिक उड्डयन प्राधिकरण, जोमजोम कार्यालय प्रमुख विष्णुप्रसाद अधिकारीले जनाए । पर्यटकको संख्या मात्रै दुई हजार रहेको छ । जनवरीदेखि अक्टोबर महिनासम्ममा १७ हजार बढिले जहाजमार्फत पोखरा र जोमसोम यात्रा गरेका छन् । १० महिनामा जोमसोम पुग्ने पर्यटक करीब ३२ हजार रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ‘एक्याप), जोमसोमका सिनियर रेञ्जर सुरेश थापाले जनाए । अक्टोबर महिनामा जोमसोम पुग्ने पर्यटकको संख्या छ हजार छ सय ५७ छन् ।

अक्टोबरपछि मे महिनामा बढिले जहाज चढेका छन् । नोभेम्बर महिनामा पनि उत्तिकै बढ्ने अनुमान उनले गरेका छन् । यस वर्ष भारतीय पर्यटक सडकमार्ग तिर आकर्षित भएको अधिकारीले जानकारी दिए । ‘भारतीय पर्यटक ठूलो समूहमा आउँछन् । जहाजमा सिट नपाउने अवस्था छ । सडकमार्ग पनि सहज बन्दै जानु र रिजर्भ आउँदा सस्तो समेत पर्ने भएकाले उनीहरु हवाई मार्ग भन्दा उतैतिर आकर्षित भएको हुनसक्छ ।’ – अधिकारीले भने ‘कास्की र लमजुङबाट राउण्ड अन्नपूर्ण पदमार्ग हुँदै आउनेहरु पनि छन् ।’ मुस्ताङबाट पोखरा फर्कनेहरु बढ्दैछन् । पोखराबाट जोमसोम पहिलो उडान बाहेक अन्य उडान खाली उडाउनुपरेको तारा एयर जोमसोमका स्टेशन म्यानेजर सुचन लालचनले बताए । जोमसोम गाविस सचिव राममणि ढकालले अघिल्लो वर्ष नाकाबन्दी भएकाले अत्यन्त न्युन पर्यटक आएपनि यो वर्ष जोमसोममा पर्यटकको संख्या वृद्धिले अत्यन्त चहलपहल बढेकोे बताए ।

1

2

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ


This will close in 2 seconds