चम्किएका दुई हिरोहरु, करणको नायकत्वमा क्यानडामाथि सनसनीपूर्ण जित निकाल्दै विश्वकप छनोट खेल्ने पक्का, यूएईसँग उपाधि भिडन्त

चम्किएका दुई हिरोहरु, करणको नायकत्वमा क्यानडामाथि सनसनीपूर्ण जित निकाल्दै विश्वकप छनोट खेल्ने पक्का, यूएईसँग उपाधि भिडन्त

karan-ke-sandip-lamichane-icc

काठमाडौं, ३ फागुन । क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ । नेपालको जितमा करण केसी नायक बने ।

१९५ रनको लक्ष्य पछ्याएको नेपालले १४४ रन जोड्दा ९ विकेट गुमाइसकेको थियो । तर, करणले सन्दिप लामिछानेसँग लोभलाग्दो आक्रामक पारी खेल्दै नेपाललाई जित दिलाए । अन्तिम ओभरमा नेपाललाई ६ बलमा ८ रन चाहिएको थियो र क्रिजमा करण थिए । लगातार चार बल उनले रन जोड्न सकेनन् । तर, पाँचौं बल छक्का हान्दै जितको आश जगाए ।

अर्को बल बाइड भएसँगै नेपालको खातामा एक रन थपियो र दुबै टिमको स्कोर ड्र भयो । अब अन्तिम बलमा मात्र एन रन चाहियो, जुन करणले सहजै पुरा गरे र नेपाललाई डिभिजन टूको फाइनलसँगै विश्वकप छनोटमा पुर्‍याए ।

३१ बलको सामना गरेका उनले ३ चौका र चार छक्को मदतमा नटआउट ४२ रन बनाए । जिम्बावेको टिकट पक्का गर्न १९५ रनको लक्ष्य पछ्याएको नेपाललाई त्यसबेला झड्का लाग्यो, जब पानीले खेल रोकियो ।

खराव सुरुवातका बाबजुद त्यसबेला नेपालले ३४ ओभरमा ५ विकेट गुमाएर ११५ रन बनाएको थियो । रोहितकुमार पौडेल र आरिफ शेख क्रिजमा जमेका थिए ।

तर, केहीबेर पानीले खेल रोकियो । पानी रोकिएपछि सुरु भएको खेलमा नेपालले लगातार विकेट गुमायो । नेपालले २९ रन जोड्दा ४ विकेट गुमाएको थियो ।

तर, करणले सनसनीपूर्ण जित जिलाए । नेपालले सुरुवातमा नराम्रो झड्का व्यहोरेको थियो । २२ रन जोड्दा महत्वपूर्ण २ विकेट गुमायो । ज्ञानेन्द्र मल्ल ९ रनमा आउट भएपछि कप्तान पारस खड्का व्याटिङमा आएका थिए तर, उनी पहिलो बलमै आउट हुन पुगे ।

दिलिनाथले दिपेन्द्र सिंह ऐरीसँग मिलेर तेस्रो विकेटका लागि ५० रनको साझेदारी गरे । तेस्रो विकेटका रुपमा दिलिप नाथ आउट भए । उनले ४१ रन बनाए ।

थप एक रन जोड्दा शरद भेषावकर एक रनमै आउट भए । पाँचौं विकेटका रुपमा दिपेन्द्र सिंह ऐरी व्यक्तिगत १८ रनमा आउट हुँदा टिमको स्कोर ८१ रन थियो । त्यसपछि आरिफ र रोहितले पारी सम्हाल्ने प्रयास गरेका हुन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएका क्यानडाले श्रीमान्थ विजेरत्नेको शतकको मदतमा ५० ओभरमा ८ विकेट गुमाएर १९४ रन बनाएको थियो । उसको सुरुवात समान्य रहृयो । श्रीमान्थ र रुविन्दु गुनशेकराले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरे ।

तर, पावर प्ले सकिए लगतै बलिङमा आएका बसन्त रेग्मीले दोस्रो बलमा नै गुनशेकराको विकेट लिए । थप २१ रन जोड्दा क्यानडाले थप २ विकेट गुमायो । तर, लगातार श्रीमान्थले पारी सम्हाले । उनले चौथो विकेटका लागि एनएस धालिवालसँग २३ र पाँचौं विकेटका लागि हमजा तारिकसँग ४१ रनको साझेदारी गरे ।

अरु ब्याट्सम्यानले ठूलो स्कोर बनाउन नसकेपनि श्रीमान्थ टिकिरहे । नवौं विकेटका लागि एसएस ढिन्सासँग अविजित ३३ रनको शाझेदारी गरेका उनले शतक पुरा गरे ।
उनी १०३ रनमा नटआउट रहे ।

नेपालका बसन्त रेग्मीले ३ विकेट लिए भने सन्दिप लामिछानले २ विकेट लिए । घुँडाका चोटका कारण सन्दिपको बलिङ प्रभावित भएको थियो । उनले ९ ओभर मात्र बलिङ गरे । शरद भेषावकरले र करण केसीले एकएक विकेट लिए ।

यूएईसँग उपाधि भिडन्त

बुधबार नै भएको अर्को खेलमा यूएईले नामिबियामाथि १९ रनको जित निकालेको छ र फाइनलसँगै विश्वकप छनोटमा स्थान बनाएको छ ।

पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर २४७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको घरेलु टोलीले २ बल खेल्नु अघि सबै विकेट गुमाएर २२८ रन मात्र बनाउन सक्यो । नेपाल र यूएईको उपाधि भिडन्त भोलि शुक्रबार हुनेछ ।

हारेका दुई टिम क्यानडा र नामिबिया डिभिजन टूमै रहने भएका छन् भने केन्या र ओमान रेलिगेशनमा परेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ