‘काठमाडाैं–पोखरा रेलमार्ग सम्भव छैन’, के भन्छन् विज्ञहरु ?

‘काठमाडाैं–पोखरा रेलमार्ग सम्भव छैन’, के भन्छन् विज्ञहरु ?

rail

नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष तथा उर्जाविद् ज्ञानेन्द्रलाल प्रधानले तत्काल काठमाडाैं–पोखरा रेलमार्ग निर्माण ‘फिजिवल’ नभएको जिकिर गरेका छन्।

‘नेपालजस्तो पहाडी भूभागमा रेलमार्ग बनाउँदा प्रतिकिलोमिटर ५ अर्बजति खर्च हुने चिनियाँ विज्ञहरुले बताएका छन्,’ पोखरामा आइतबार साँझ आयोजित एक कार्यक्रममा उनले दाबी गरे, ‘यति महँगाे परियोजना अहिले नेपालको लागि फिजिवल नै छैन।’

नेपालीलाइ चिनयाँ रेलकाे सपना देखाउने नेता केपी शर्मा ओलीले अाफ्नाे दोस्राे कार्यकाल सुरू गरेकाे दुइ हप्ता नबित्दै पाेखराका व्यवसायीले यस्ताे प्रतिक्रिया दिएका हुन्। उनले काठमाडाैं–पोखरा रेलमार्ग निर्माण भए त्यसले खर्च उठाउन नसक्ने जिकिर गर्दै भने, ‘चिनियाँहरू पनि यो परियोजनामा अनिच्छुक छन्।’

देशसँग मनग्य पैसा भएमा मात्र यस्ता परियोजनामा हात हाल्नुपर्ने उनको तर्क थियो। चीन सरकारले विश्वका ७३ देशमा आर्थिक सहयोग र कम ब्याजदरमा ऋण दिएको बताउँदै उनले नेपालको लागि छुट्याइएको १५ सय अर्ब रुपैयाँको सदुपयोग हुने परियोजना बनाउन नेपाल सरकारलाई सुझाव समेत दिए।

कार्यक्रममा काठमाडाैं–पोखरा–लुम्बिनी रेलमार्गको वकालत गर्दै कार्यपत्र प्रस्तुत गरेका अर्थविद डा. गोविन्दबहादुर थापाले प्रधानको कुरामा सहमति जनाएका थिए। ‘हो आर्थिक लाभको दृष्टिले अहिलेलाई काठमाडाैं–पोखरा रेलमार्ग उपयुक्त होइन तर आफ्नो देशको छातीमा रेल गुडोस् भन्ने नेपाली भावनालाई सम्बोधन गरिनुपर्छ,’ उनले भने, ‘यसको लागि अहिले घाटामा गए पनि भविष्य सम्झेर निर्माण कार्य थालनी गरिनुपर्छ।’

जलविद्युतविज्ञको परिचय बनाएका प्रधानले फरक प्रसंगतमा नेपालको जलविद्युत क्षेत्रले ठूलो परिमाणमा लगानी माग गरेको भए पनि पूँजी कम भएको धारणा राखे। ‘हामीकहाँ वित्तीय व्यवस्थापनले नपुगेर मात्रै हो, नत्र भने जलविद्युत क्षेत्रले ठूलो लगानीको माग गरिरहेको छ,’ उनले भने, ‘हामीले प्रदेश नम्बर ४ मा रहेको कालीगण्डकी करिडोरबाट मात्र १२ हजार मेघावाट विद्युत उत्पादन गर्न सक्छौँ।’

त्यसको लागि पानी स्टोरेज प्रणालीको विद्युत आयोजनाहरु बन्नुपर्ने उनको भनाइ थियो। अहिले कालीगण्डकी क्षेत्रमा १२ सय मेगावाट विद्युत उत्पादनको काम भइरहेको छ। आर्थिक वर्ष २०७२÷०७३ मा विद्युत रोयल्टी बापत् नेपाल सरकारको ढुकुटीमा ६० करोड रुपैयाँ जम्मा भएको र त्यसमा ४५ प्रतिशत योगदान प्रदेश नम्बर ४ को रहेको उनको भनाइ थियो।

प्रदेश ४ मा जलविद्युतको अवस्था

प्रदेश नं ४ मा ३४ वटा जलविद्युत आयोजनाहरु निर्माणाधीन रहेका छन्।

उर्जा मन्त्रालय विद्युत विकास विभागको तथ्याङ्क अनुसार यी परियोजनाबाट ६०० मेगावाट भन्दा बढी विद्युत उत्पादन हुन्छ। आगामी तीन वर्षभित्रमा ३०० मेगावाट विद्युत उत्पादन भई राष्ट्रिय प्रशारणमा जोडिने विभागको प्रक्षेपण रहेको छ। यो क्षेत्रमा चौधरी ग्रुपदेखि नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, हालका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, सांसद सूर्यबहादुर केसीलगायतको लगानीमा परियोजनाहरु संचालनमा आएका छन्। देशको ४० प्रतिशत हिमनदी भएको प्रदेश ४ मा एक मेगावाट भन्दा बढीका ३४ वटा आयोजनाहरु निर्माणाधीन छन्।

एक मेगावाट भन्दा थोरैका चार आयोजना पनि निर्माणकै चरणमा छन्। कास्कीमा मात्रै एक दर्जन विद्युत परियोजना सञ्चालन र निर्माणाधीनको अवस्थामा रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। विद्युत विभागका अनुसार गएको असार १५ गतेसम्म विद्युत उत्पादन अनुमतिपत्रको लागि ४५ वटा आयोजनाले दरखास्त दिएका छन्। जसबाट ५३८० मेगावाट विद्युत उत्पादन हुने उल्लेख छ।

देशमा १६६ आयोजनाले विद्युत उत्पादन सर्वेक्षण अनुमतिपत्रको लागि दरखास्त दिएका छन्। ती आयोजनाबाट ८३७१ मेगावाट विद्युत उत्पादन हुने अनुमान गरिएको छ। सर्वेक्षण अनुमति पत्र लिनेमा प्रदेश ४ मा ५२ वटा आयोजनाहरु छन्। १३७ वटा आयोजनाले सर्वेक्षणको अनुमतिपत्रको लागि दरखास्त दिएको विभागको रिपोर्टमा उल्लेख छ। ती आयोजनाबाट ७९८६ मेगावाट उत्पादन हुने अनुमान गरिएको छ। विद्युत विभागको तथ्यांक अनुसार देशभर १३७ आयोजन निर्माणको क्रममा छन्। ती निर्माण पूरा भए ३६८८ मेगावाट विद्युत उत्पादन हुन्छ।

नेपालमा हाल जलविद्युत, थर्मल प्लान्ट तथा सोलारबाट गरी ९५८ मेगावाट विद्युत राष्ट्रिय प्रशारणमा जडान गरिएको छ। एक मेगावाटभन्दा माथिका ६० आयोजनबाट ८९४ मेगावाट विद्युत उत्पादन भइरहेको छ। प्रदेश ४ मा १५ वटा आयोजन सञ्चालित छन्। कुल उत्पादनको ५२ प्रतिशत हिस्सा यसै क्षेत्रबाट उत्पादन भएको उर्जा मन्त्रालयको विद्युत विकास विभागको तथ्यांकले देखाएको छ। प्रदेश ४ मा ११ जिल्ला छन्। कालीगण्डकीको १४४ मेगावाट र मध्य मस्र्याङदीको ७२ मेगावाट विद्युत परियोजना ठूला मध्येका हुन्।

प्रदेश ४ मा निर्माणाधीन जलविद्युत आयोजनाहरु:

आयोजनाको नाम विद्युत क्षमता (मेगावाट) स्थान

अपर काली गण्डकी- ४००- मुस्ताङ/म्याग्दी
तनहुँ-सेती- १२७- तनहुँ
सुपर मोदी- ४४- कास्की
मिस्त्रीखोला- ४२- म्याग्दी
अपर मादी ए- ४२- कास्की
रहुघाट- ४०- म्याग्दी
रहुघाट २- ३७- म्याग्दी
ङयादी खोला- ३०- लमजुङ
दोर्दी खोला- २७- लमजुङ
दरबाङ म्याग्दी खोला- २५- म्याग्दी
बलेपानी- २३.५२- बाग्लुङ
तल्लो मोदी- २०- पर्वत
अपर म्याग्दी- २०- म्याग्दी

मध्य मोदी- १५.१०- पर्वत
मदेख्यु खोला- १३- कास्की
नामार्जुङ- १२- कास्की
थापाखोला- ११.२- मुस्ताङ
मिदिम खोला- ११- लमजुङ
तल्लो मोदी २- १०.५ पर्वत
दोर्दी २- १०.३- लमजुङ
मादी भोर्लेटार- १०- लमजुङ
दरौंदी १- १०- गोरखा
मध्य मिदिम- १०- लमजुङ
रुदी ए- ८.८- कास्की
घारखोला- ८.३०- म्याग्दी
अपर मादी- ७- कास्की
बदिगाड- ६.६०- बाग्लुङ
रुदी खोला- ६.६०- लमजुङ
विजयपुर २- ४.२- कास्की
सार्दीखोला- ४- कास्की
गलाम्दी- ४- म्याग्दी
ताचाहरा- २.४- मुस्ताङ
अपर स्याङ्गे खोला- २.४- लमजुङ
ठूले खोला- १.५- बाग्लुङ

(यो समाचार नेपाल खबरका लागि पोखराबाट बासुदेव मिश्रले लेखेका हुन् ।)

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds