जापानबाट फर्केर वडा अध्यक्ष गाउँपालिका उपप्रमुखको राजिनामा माग्दै धर्नामा

जापानबाट फर्केर वडा अध्यक्ष गाउँपालिका उपप्रमुखको राजिनामा माग्दै धर्नामा

paiyau-dharna

महेन्द्र जिसी, पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित वडा अध्यक्ष महेन्द्र श्रेष्ठ जापानबाट फर्केर धर्नामा बसेका छन् । आफ्नो पद षड्यन्त्रपुर्वक रिक्त गराउने योजना बनाएको भन्दै पर्वत पैंयु गाउँपालिका वडा नं. ४ अध्यक्ष श्रेष्ठले गाउँपालिका उपप्रमुख जसमती गुरुङको राजिनामा माग गर्दै दुई जना लिएर धर्नामा बसेका हुन् । गुरुङ नेपाली काँग्रेसबाट निर्वाचित उपप्रमुख हुन् ।

स्थानीय तहको निर्वाचन जितेर जापान कमाउन पुगेका श्रेष्ठले पद जाने भएपछि गाउँ पालिका उपप्रमुखको राजीनामा माग्दै धर्नामा बसेको चर्चा छ । बुधबारबाटै अनिश्चिकालिन अनसन बस्ने घोषणा गरेका जनप्रतिनिधीहरुले एक दिनका लागि धर्ना बसेको र राजिनामा नआए अनिश्चितकाल सम्म अनसन बस्ने चेतावनी दिएका छन् ।

धर्नामा वडा नं ३ का अध्यक्ष बिष्णु काफ्ले, ४ का अध्यक्ष महेन्द्र श्रेष्ठ र ५ का अध्यक्ष उमाकान्त भुर्तेल बसेका छन् । अनसनलाई सामाजिक परिचालक र स्थानिय समाजसेवीहरुले समेत ऐक्यबद्धता जनाएका छन् ।

नियमानुसार लगातार तीन वटा बैठकमा उपस्थित नभएमा कार्वाहीमा पर्नेछन् । गाउँपालिका उपप्रमुखको स्पष्टिकरण पछि अध्यक्ष श्रेष्ठ उपप्रमुख विरुद्ध लागेका हुन् । वडा अध्यक्ष श्रेष्ठ परिवारलाई भेट्न भन्दै गाउँपालिकामा विना जानकारी जापान बस्दै आएपछि स्थानीय तहको सेवा रोकिएको गुनासो आएपछि स्पष्टिकरण मागिएको उपप्रमुख गुरुङले बताईन् ।

उनले साउन ८ गतेको मितिमा श्रेष्ठलाई सात दिन भित्र स्वयं उपस्थित भएर स्पष्टीकरण दिन पत्र पठाएकी थिइन् । उनले पत्र पठाएपछि श्रेष्ठ जापानबाट नेपाल फर्केर गाउँपालिकाको कार्यालयमा धर्नामा बसेका हुन् ।

श्रेष्ठ नेपाल फर्केपछि सोमबार गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी, उपाध्यक्ष जसमति गुरुङलाई भित्र राखेर गाउँपालिका कार्यालयमा नेकपाका कार्यकर्ता र निर्वाचित जनप्रतिनिधीले तालाबन्दी गरेका थिए । उक्त ताला प्रहरीले फोडेर गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई बाहिर निकालेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ