पोखरामा प्याराग्लाइडिङको वल्र्डकप, सागका सात खेल गर्ने तयारी

पोखरामा प्याराग्लाइडिङको वल्र्डकप, सागका सात खेल गर्ने तयारी

Bista

पोखरा, २० भदौ । पोखराको प्याराग्लाइडिङले एशियाडमा दुई दशकपछि रजत पदक मात्र जितेन, टीम गेममा पहिलो पदक समेत जित्न सफल भयो । प्याराग्लाइडिङले गत साता दिलाएको यही पदककै कारण दक्षिण एशियामा भारत पछि दोस्रो र प्रतियोगितामा सहभागी ४५ देशमा नेपाल ३३ औं स्थानमा रहन सफल बन्यो ।

व्यवसायिक हिसाबमा सुरु भएको यहाँको प्याराग्लाइडिङले पदक जितेपछि भने बल्ल सरोकारवाला निकायको ध्यान यस खेलमा खिचिएको छ । आगामी नोभम्वर पहिलो साता प्याराग्लाइडिङको वल्र्डकप पोखरामै गरिने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिब केशब कुमार विष्टले खुलासा गरे ।

नोभेम्वर १ देखि ५ गतेसम्म हुने प्याराग्लाइडिङ विश्वकपका लागि तयारी सुरु गरिने उनले बताए । खेलकुद पत्रकार मञ्चले पोखरामा बुधबार विहान आयोजना गरेको पत्रकार भेटघाटमा उनले पोखरालाई प्याराग्लाइडिङ हव बनाइनुपर्नेमा जोड दिँदै संसारभरका प्याराग्लाइडिङ शौखिन पोखरामै आउने वातावरण बनाउनुपर्ने उल्लेख गरे ।

पूर्वाधार र राज्यको राम्रो सहयोग नभएका अवस्थामा समेत प्याराग्लाईडिङका खेलाडीले एसियाली खेलकूद प्रतियोगतामा पदक हासिल गर्न सफल भएको उनले बताए । सराङकोटमा आवश्यक पूर्वाधार तयार गर्न ३० लाख रुपैया विनियोजन समेत गरिएको सदस्य सचिव विष्टले जानकारी दिए ।

उनले आसन्न १३ औं दक्षिण एसियाली खेलकुदमा प्याराग्लाइडिङ समेत थपिने र यो सहित सात खेल पोखरामा आयोजना हुने बताए । उनले सागलाई भव्यताका साथ सम्पन्न गर्न सरकारले पूर्वाधार निर्माण लगायतमा आवश्यक रकम विनियोजन गर्नुपर्नेमा जोड दिए ।

विष्टले नेपालमा हुने १३ औं साग खेलकूद प्रतियोगिता भौतिक संरचनाका कारण प्रभावित नहुने र तोकिएकै समयमा हुने समेत दाबी गरे । ‘हामीले यसका लागि सरकार संग यथासिघ्र प्रक्रिया थाल्न भनेका छौं ’ उनले भने – ‘राष्ट्रिय खेलकुद हामीले गर्ने हो, साग सरकारले नै गर्ने हो । अहिले भौतिक पूर्वाधार तयार गर्न साढे १ अर्ब तुरुन्त मागेका छौँ ।‘

सागको तयारीस्वरुप हालसम्म पूर्वाधार निर्माण लगायतमा दुई अर्ब भन्दा बढी लगानी भैसकेको र त्यसैलाई लक्षित गरी पोखरामा एक अर्व २९ करोड रुपैयाको लगानिमा सुविधा सम्पन्न रंगशाला निर्माणको प्रकृया अघि बढेको उनले उल्लेख गरे । उनले यसको टेन्डरका अन्तिम प्रक्रियाहरु केही दिनमा सकिने बित्तिकै ६ महिनामा काम सक्ने गरि कामको जिम्मेवारी दिने बताए । उनले भारतीय र चिनियाँ कम्पनीले नेपाली ठेकेदारसँग मिलेर टेण्डर हालेको र यसको प्राविधिक तथा वित्तिय पक्षबारे जानकारी लिईरहेको उल्लेख गरे ।

अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा काठमाण्डौ खाल्डो बाहिरका पत्रकारहरु किन सहभागी नगराईने ? राजधानीका पत्रकारको सिण्डिकेट वा सरकार, राखेपलाई नै बाहिरका पत्रकार नचाहिने ? भन्ने प्रश्नमा विष्टले खर्च कटौतीका कारण कम पत्रकार लैजानुपरेको र अबदेखि पालैसँग समेट्दै जाने बताए ।

मञ्चका अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव रञ्जन अधिकारी लगायतले बोलेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ