बाबु थलिएपछि पर्वतका गिरी परिवारको बिचल्ली

बाबु थलिएपछि पर्वतका गिरी परिवारको बिचल्ली

pariwar

खुर्कोट (पर्वत) — परिवारको पालनपोषण र शिक्षादीक्षाको सबै भार बोक्ने मुख्य अभिभावक नै थला परेपछि यहाँको एउटा परिवारको अवस्था दयनीय भएको छ । मजदुरी गरेर पालिएको कुश्मा २ खुर्कोटको गिरी परिवारमा यस्तो भएको हो । कान्तिपुरमा समाचार छ ।

२०७२ चैतमा बारीमा मकै लगाउन खेत जोत्न लाग्दा गोरुले हानेर लडेका ३० वर्षीय माधव गिरीको मेरुदण्ड भाँचिएको थियो । त्यसयता उनी फेरि काम गर्नसक्ने भएनन् । परिवार अहिले बिचल्ली परेको छ । दुर्घटनापछि कास्कीको हरियोखर्कमा तीन र मनिपाल अस्पतालमा तीन महिना उपचार गर्दा ४ लाख रुपैयाँभन्दा बढी खर्च भयो । दु:खजिलो गरेर जोडेको ६० हजार रुपैयाँबाहेक अरू पैसा थिएन । अहिले साढे ३ लाख रुपैयाँ ऋण छ । ‘२ वर्ष भयो । ब्याज पनि तिर्न सकिएको छैन,’ श्रीमती पार्वतीले भनिन्, ‘अहिले त ४ लाख पुग्यो होला ।’

दुर्घटनाको लामो समयसम्म निको हुने आस मेटिएन । आफन्त र नातागोतासँग हारगुहार गर्दै ऋण मागेर अस्पताल बसे । तर, न पैसा बच्यो, न उपचार भयो । ‘पैसाको खोलो बगेपछि बल्ल थाहा भयो, यो उपचार विश्वमै हुँदोरहेनछ,’
ओछ्यानबाट गिरीले गहभरि आँसु झार्दै भने, ‘अहिलेआफ्नोभन्दा परिवारको पीडाले छट्पटी हुन्छ । यस्तो पीडा कसैलाई नपरोस् ।’

दुर्घटनापछि श्रीमती पार्वती चौबीसै घण्टा श्रीमान्को स्याहारमाजुट्नुपर्छ । मेरुदण्डमा रड राखिएको छ । उनलाई सुताएरै भित्र–बाहिर गराउनुपर्छ । खाना खुवाउनेदेखि शौच गराउने, नुहाउने, सबै काम गर्दा पार्वतीलाई फुर्सद हुँदैन । जेठी छोरी सुष्मा १० वर्षकी छन् । उनैले खाना बनाउँछिन् । ७ वर्षीया बैहिनी र २ वर्षे भाइको स्याहारसुसार गर्ने जिम्मा सुष्माकै काँधमा छ । भाइबहिनीको स्याहार गर्दा उनको पढाइ पनि निरन्तर हुन सकेको छैन । ‘बिहान सबै काम सकेर स्कुल पुग्दा ११ बज्छ,’ सुष्माले भनिन्, ‘धेरैजसो स्कुल जानै पाइन्न ।’

करिब ४ वर्ष विदेशमा बिताएका गिरी ०७२ माघमा घर फर्किएका थिए । कतार, साउदी र ओमन । जुन देशमा गए पनि अपेक्षित पारिश्रमिक नपाएपछि परिवारसँगै बसेर गाउँमै उद्यम गर्न घर फर्किएको गिरी बताउँछन् । ‘विदेशमा गर्ने दु:ख घरमै बसेर गर्छु भनेर फर्किएँ,’ उनले भने, ‘फर्किएको २ महिनामै यस्तो भयो । दसाले डोर्‍याएछ ।’ वैदेशिक रोजगारमा जुटाएको केही रकमले परिवारमा लागेको ऋण तिरेको उनी बताउँछन् । ‘उमेर छ, पछिका लागि केही गरौंला भनेर सगोल (संयुक्त परिवार) मा लागेको ऋण तिरें, समस्या परेपछि सबै पराई भए ।’

गिरी पत्नी पार्वतीलाई अब छोराछोरीको पढाइ, उपचारमा लागेको ऋण तिर्ने र बिहान–बेलुकाको छाक जुटाउने चिन्ता छ । ‘यिनिहरूलाई राम्रो पढाउन पाए केही वर्षपछि अलि राहत हुन्थ्यो,’ उनले भनिन्, ‘अहिले सबै चोट एकैपटक लाग्यो । पार लाउने कसरी ?’ ०७२ को भूकम्पले घर भत्किएपछि अस्थायी छाप्रामा बसेको यो परिवारलाई छिमेकीले एक तले घर बनाइदिएका छन् । अहिले बासको चिन्ता छैन । ओछ्यानमा एकोहोरो सुतिरहँदा टाउको दुख्ने, झमझम गर्ने, खान मन नलाग्नेलगायतका समस्या हुने गिरी बताउँछन् । घाँटीदेखि मुनिको अरू शरीर कसरी चल्छ उनलाई कुनै जानकारी छैन । ‘यस्तोगरी कहिलेसम्म बाँचिन्छ ?’ गिरीले दुखेसो व्यक्त गरे ।

आरामदायी बेड सहयोग

२ वर्षदेखि थलिएका गिरीलाई अस्पतालका कर्मचारीले फोल्डिङ बेड सहयोग गरेका छन् । कुश्मा २ घर भई जिल्ला अस्पताल पर्वतमा कार्यरत रघुनाथ रेग्मी र अस्पतालकै लेखा अधिकृत मित्रलाल शर्माको अगुवाइमा कर्मचारीहरूले आधुनिक फोल्डिङ बेड घरमै पुर्‍याएर हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds