सिकारुको भरमा पर्वत जिल्ला अस्पताल

सिकारुको भरमा पर्वत जिल्ला अस्पताल

Parbat hospital

महेन्द्र जिसी, पर्वत । गत असार १५ गते मेडिकल सुपरिटेन्डेन्ट सरुवा भएपछि दुई सातासम्म स्थायी दरबन्दीको प्रमुख नहुँदा जिल्ला अस्पताल पर्वत प्रशिक्षार्थीको भरमा चलिरहेको छ ।

अस्पतालमा कार्यरत डाक्टर बुद्धिबहादुर थापाको दुई साताअघि स्वास्थ्य सेवा विभागमा सरुवा भएपछि अहिले अस्पताल प्रशिक्षार्थी डाक्टरको भरमा छ । अस्पतालमा अहिले कार्यरत सबै डाक्टर करार दरबन्दीका रहेकाले कुश्मा नगरपालिकाले ठूलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत सजिना महर्जनलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको छ ।

स्थानीय तह कार्यान्वयनपछि जिल्ला अस्पतालको व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी कुश्मा नगरपालिकामा आएको थियो । अस्पतालमा तत्काल मेडिकल सुपरिटेन्डेन्ट आउन सक्ने सम्भावना नरहेको महर्जनले बताए ।
आठौं तहका डाक्टर सरोज दाहाल यसअघि नै एमडी अध्ययनका लागि बिदा बसेपछि एकमात्रै डाक्टरको भरमा अस्पताल चलेको थियो । जिल्ला अस्पतालको व्यवस्थापन र स्तरवृद्धि जिम्मा कुश्मा नगरपालिकाले लिएपछि कार्यरत कर्मचारी अहीले पदीय दायित्वभन्दा पारिवारिक काममा बढी व्यस्त हुने गरेका छन  ।

अस्पताल अहिले करारका डाक्टर र प्रयोगात्मक अभ्यासमा आएका विद्यार्थीको भरमा चलिरहेको छ । वर्षाको सिजनमा टाइफाइड, ज्वरो, रुघाखोकी, निमोनियाका बिरामी बढी आउने गरेको भएपनि सामान्य विरामीहरु समेत निजी अस्पतालमा पुपचार गर्न बाध्य रहेका हुन । तर, मुख्य डाक्टर नै नभएपछि उनीहरू थप मर्कामा परेका हुन ।

अस्पताल आएपछि सामान्य चेक पनि नगरी पोखरा पठाइने गरेको उपचारका लागि आएका मुडिकुवाका लालबहादुर नेपालीले बताए । ‘उपचारै नपाइने कस्तो अस्पताल हो ?’ दिनभर बसेर डाक्टर नभएको थाहा पाएपछि बाजुङकी पार्वती क्षेत्रीले आक्रोश पोखिन् । अहिले अस्पतालले सामान्य झाडापखालाको उपचार गराउन आउँदासमेत पोखरा रिफर गरिएको बिरामीको गुनासो छ ।

वर्षा र गर्मी मौसम भएकाले अहिले अस्पतालमा दैनिक एक सय हाराहारी बिरामी आउने गरेका छन् । प्रमुख मेडिकल सुपरिटेन्डेन्ट नभएपछि अन्य कर्मचारीको मनोमानी बढेको गुनासो सेवा ग्रहीले गरेका छन । अस्पतालमा सञ्चालित पोषणगृह, प्रसूतिगृह, ओपीडीलगायतमा स्थानीय कर्मचारीले बेवास्ता गर्दा सबै व्यवस्थापन अस्तव्यस्त बन्दै गएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ