पोखरामा हवाई यात्रु बढे, गत वर्ष पोखरा विमानस्थलबाट झन्डै ५ लाखले आउजाउ गरे

पोखरामा हवाई यात्रु बढे, गत वर्ष पोखरा विमानस्थलबाट झन्डै ५ लाखले आउजाउ गरे

Airlines

पोखरा– पोखरा विमानस्थलले सन् २०१७ मा झन्डै ५ लाख यात्रुलाई सेवा दिएको छ । सीमित रुटमा उडान गर्दा पनि विमानस्थलबाट आउजाउ गर्ने यात्रुसंख्या अहिलेसम्मकै बढी भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) पोखरा कार्यालयले जनाएको छ । नागरिक दैनिकका लागि पोखराबाट सन्तोष पोखरेलले न्युज लेखेका छन् ।

प्राधिकरण पोखरा प्रमुख भोलाप्रसाद गुरागाईंका अनुसार अहिलेसम्मकै बढी संख्यामा यात्रु यो विमानस्थलबाट आउजाउ गरेका छन् । विमानस्थलको तथ्यांकअनुसार २०१७ मा सबैगरी ४ लाख ७७ हजार २ सय ४४ जना यात्रु पोखरा विमानस्थलबाट आउजाउ गरेका छन् । तीमध्ये १ लाख ६० हजार ६ सय ६ जना विदेशी र बाँकी ३ लाख १६ हजार ६ सय ३८ जना आन्तरिक र भारतीय यात्रु हुन् ।

भारतीय यात्रुलाई नेपाल यात्रामा पासपोर्ट नचाहिने भएकाले विमानस्थलमा पनि तथ्यांक रहँदैन । तर, हवाईमार्गबाट पोखरा आउने भारतीयको संख्या पनि प्रयाप्त हुने विमानस्थलले जानकारी दिएको छ । ‘अहिलेसम्मकै धेरै यात्रु विमानस्थलबाट आउजाउ गरेका छन् । पोखराबाट सीमित रुटमा उडान गर्दा पनि हवाई यात्रु संख्या धेरै नै हो,’ उनले भने, ‘यसले पोखरामा पाहुना बढेको पनि देखाएको छ ।’

पोखरा घुम्न आउने आन्तरिक र भारतीय पर्यटकको संख्या बढ्नु र पछिल्लो समय आन्तरिक हवाई यात्रुको संख्या थपिनुले पनि यात्रु बढी भएको उनले बताए । राजमार्गको यात्रा झन्झटिलो हुन थालेपछि आन्तरिक यात्रु पनि हवाईजहाजमा यात्रा गर्न थालेकाले संख्या बढेको उनको भनाइ छ । पछिल्लो समय आन्तरिक यात्रुले हवाईयात्रा गर्न थालेको उनले बताए ।

विमानस्थलका अनुसार सन् २०१६ मा पोखरा विमानस्थलबाट जम्मा ३ लाख २८ हजार ३१ जना यात्रु ओहोरदोहोर गरेका थिए । तीमध्ये १ लाख ७ हजार २ सय ८७ जना विदेशी यात्रु रहेका थिए । बाँकी २ लाख २० हजार ७ सय ४४ जना आन्तरिक र भारतीय यात्रु रहेका छन् ।

भूकम्पपछि ओरालो लागेको आगमनमा अहिले सुधार देखिएको यो तथ्यांकले पुष्टि गर्ने विमानस्थलले बताएको छ । विमानस्थल प्रमुख गुरागाईंले पोखरा आउने आन्तरिक यात्रु मात्र नभई विदेशी पाहुना पनि बढ्न थालेको बताए ।

उनका अनुसार सन् २०१६ मा जम्मा १ लाख ७ हजार २ सय ८७ जना विदेशी पाहुना पोखरा आएकोमा २०१७ मा बढेर १ लाख ६० हजार ६ सय ६ पुगेको छ । ‘अघिल्लो वर्षको तुलनामा २०१७ मा हवाईजहाजमार्फत पोखरा आउने यात्रुको सख्ंया ५० हजारभन्दा बढी रहेको छ,’ उनले भने, ‘भूकम्पपछिको आगमनमा सुधार भएकाले नै पोखरामा विदेशी पाहुना आगमन बढेको हो ।’ पोखरा विमानस्थल हँुदै आउजाउ गर्ने यात्रु र पोखराको आकाशमा अल्ट्रालाइट र हेलिकोप्टरबाट सयर गर्ने यात्रुको संख्या पनि यसमै समावेश गरिएको हुन्छ ।

विमानस्थलका अनुसार यात्रु मात्र नभई यहाँबाट हुने उडान पनि निकै नै थपिएका छन् । सन् २०१६ मा सबैगरी २३ हजार ९ सय २७ वटा उडान पोखराको यो विमानस्थलबाट भएका थिए । यो संख्या बढेर २०१७ मा ३६ हजार ९ सय ४७ पुगेको छ । पोखरा विमानस्थलबाट अहिले नियमित रूपमा काठमाडौं, भरतपुर, भैरहवा, मुस्ताङ रुटमा उडान हुन्छ । त्यसबाहेक यहाँबाट ३ वटा अल्ट्रालाइट कम्पनिले पोखराको आकाशमा पाहुना सयर गराउन उडान गर्दै आएका छन् ।

त्यस्तै हेलिकोप्टर उडान पनि यहाँ नियमितजसो भइरहेका छन् । अन्नपूर्ण आधारशिविर (एबिसी) सिजन बेला यहाँबाट दैनिक दर्जनभन्दा बढी हेलिकोप्टर उडान हुने गरेका छन् । ती सबै उडान बढेका कारण यात्रु संख्या थपिन गएको गुरागाईंले बताए ।

विमानस्थलबाट अहिले बुद्ध, यती, सिम्रिक र नेपाल एयरलाइन्सले दिनहुँ काठमाडौैंका लागि उडान गर्दै आएका छन् । त्यसबाहेक बुद्धले नै पोखराबाट भरतपुर र भैरहवा तथा ताराले पोखराबाट जोमसोमसम्म उडान गर्दै आएका छन् ।

पर्यटन बोर्ड पोखराका प्रबन्धक सूर्य थपलिया पनि पोखरामा अहिले आन्तरिक र भारतीय पाहुनाको संख्या बढिरहेको बताउँछन् । त्यसले विमानस्थलको आगमन उच्च देखाएको थपलिया बताउँछन् । ‘हवाईयात्रु बढ्नु पनि पर्यटन क्षेत्रका लागि सकारात्मक हो, आन्तरिक पाहुना खर्च गर्ने क्षमता राख्छन् भन्ने यसले देखाउँछ,’ थपलियाले भने, ‘हवाई यात्रु बढ्नु पोखराको पर्यटन क्षेत्रका लागि सकारात्मक संकेत हो । पछिल्लो समय भारतीय पाहुना पनि निकै नै आउन थालेका छन् ।’

यात्रु २०१६ का यात्रु २०१७ का यात्रु
स्वदेशी यात्रु     २,२०,७४४ ३,१६,६३८
विदेशी यात्रु  १,०७,२८७ १,६०,६०६
जम्मा यात्रु  ३,२८,०३१  ४,७७,२४४
हवाई उडान   २३९२७ ३६९४७

थपलियाका अनुसार नेपालमा हवाईमार्गबाट वर्षमा करिब १ लाख २० हजार भारतीय पर्यटक आउँछन् । तीमध्ये करिब ४० प्रतिशत (झन्डै ५० हजार) पोखरा आउँछन् । हवाईमार्गबाहेक स्थलमार्गबाट आउने भारतीय पाहुनाको तथ्यांक यकिन नभएपछि पोखरामा वर्षमा करिब ८० हजार भारतीय आउने अनुमान व्यावसायीको छ । हवाईमार्गबाट आएका करिब ५० हजार भारतीय पाहुना पनि संख्यात्मक रूपमा थोरै भन्न नमिल्ने उनले बताए ।

पोखरामा पछिल्लो समय आन्तरिक पाहुनाको आगमन थपिँदै गएको भन्ने विमानस्थलको आँकडाले पनि पुष्टि गर्ने थपलियाले बताए । ‘हवाईयात्रु बढ्नु पनि पर्यटनमा सुधार हो । यसले पोखराको महत्व झनै बढाएको देखाउँछ,’ उनले भने, ‘पर्यटन क्षेत्रका लागि यो निकै नै खुसीको कुरा हो ।’ पोखरालाई हवाईमार्गले अझै अन्य सहरसम्म जोड्न सक्ने हो भने आगमन बढाउन झनै सहज रहेको उनले बताए । आन्तरिक पाहुनाकै कारण पछिल्लो समय अफसिजन हराउँदै गएको यहाँका व्यवसायी बताउँछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ