पोखरा-बागलुङ सडक शनिबारदेखि नै दैनिक छ घण्टा बन्द

पोखरा-बागलुङ सडक शनिबारदेखि नै दैनिक छ घण्टा बन्द

road

पर्वत । पोखरा–बागलुङ सडक दैनिक साढे छ घण्टा बन्द गर्न थालिएको छ । फराकिलो र सुधार गर्नका लागि कास्की अन्नपूर्ण गाउँपालिकामा पर्ने गिरिचोकदेखि नयाँपुल बजार खण्डमा शनिबारदेखि दैनिक छ घण्टा सडक बन्द गर्न थालिएको हो ।

एपेक्स कन्स्ट्रक्सन कम्पनी प्रालिले  घट्टेखोलादेखि नयाँपुल खण्डमा काम गरिरहेको छ । बिहान ७ देखि ८ः३० बजेसम्म डेढ घण्टा तथा बिहान ९ः३० देखि १०ः३० सम्म एक घण्टा बन्द गर्न थालिएको छ । अपराह्न १२ः३० देखि २ बजेसम्म र ३ देखि ५ बजेसम्म सडक बन्द गरिएको छ । विनासूचना शनिबारदेखि सडक बन्द गरिएका कारण सवारी साधन र यात्रु भने मर्कामा परेका छन् ।

दिनमा चार पटक गरी छ घण्टा बन्द गरिए पनि यात्रुको चाप र काम हेरेर बीचमा छाड्ने गरेको कम्पनीका साइट इन्चार्ज काशीराज बोहोराले बताए । गिरिचोकबाट झोबाङ हुँदै नयाँपुल झर्ने वैकल्पिक सडकमा पनि सवारी साधन चलेकाले ठूलो मर्का नपर्ने र साना सवारी साधनलाई बीचबीचमा छाड्ने व्यवस्था मिलाइएको छ । 

मध्यपहाडी सडक आयोजनाले दिएको जानकारीअनुसार तीन वर्ष पोखरा–बागलुङखण्डको धेरैजसो भाग पूरै नयाँ बन्नेछ । मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो राजमार्गलाई नयाँ स्वरुपमा ढाल्ने गरी मर्मतसम्भार तीव्र पारिरहेको छ । लोकमार्ग पूरै नयाँ स्वरुपमा विस्तार र स्तरोन्नति गर्न चार कार्यक्रम बनाएर काम भइरहेको छ ।

विसं २०५० मा निर्माण सम्पन्न भएको सडकको धेरै खण्ड भत्केर सवारी चलाउन कठिन हुँदै गएको थियो भने सवारी साधनको चाप बढेकाले साँघुरो सडकमा ठाउँठाउँमा जामसमेत हुने गरेको थियो । साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी सञ्चालनमा समेत जोखिम थियो । सो सडक विस्तार र स्तरोन्नति गर्न करीब रु तीन अर्ब ३२ करोड लागत पर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds