‘तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्ट्स् अवार्ड’को मनोनयन सार्वजनिक

‘तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्ट्स् अवार्ड’को मनोनयन सार्वजनिक

sports award

पोखरा । पोखरामा यही जेठ १८ गते हुने तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्ट्स् अवार्ड २०७४ मा मनोनयनमा पर्न सफल खेलाडीको नाम सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरेको हो ।

पोखरा स्पोर्ट्स् अवार्डको सर्वोत्कृष्ट वर्ष खेलाडी पुरुषमा कमलबहादुर भण्डारी (शारिरीक सुगठन), करण केसी (क्रिकेट) र तिलक पुन मगर (आर्चरी) मनोनयनमा परेका छन् । अवार्ड समारोहमा सर्वोत्कृष्ट छनोट गरी टिभिएस अपाचे मोटरसाइकल, दोसल्ला सहित ट्रफी प्रदान गरिनेछ ।

सर्वोत्कृष्ट वर्ष खेलाडी महिलातर्फ बिमला नेपाली (सितेरियो कराँते), कमला पुन (हक्की) र केशरी आले मगर (आर्चरी) मनोनयमा परेका छन् । अवार्ड जित्नेले टिभिएस विगो स्कुटर, ट्रफी र दोसल्लाका साथ पुरस्कृत हुने मञ्च कास्कीले जनाएको छ ।

[bs-quote quote=”सर्वोत्कृष्ट वर्ष खेलाडी पुरुष, सर्वोत्कृष्ट वर्ष खेलाडी महिला, उत्कृष्ट उदीयमान वर्ष खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, खेल पर्यटन पत्रकारिता पुरस्कार विधामा पुरस्कृत गरिनेछ ।” style=”style-7″ align=”right”][/bs-quote]

उत्कृष्ट उदीयमान वर्ष खेलाडीतर्फ विवेक अधिकारी (एथ्लेटिक्स), बुद्धिमाया मगर ‘कविता’ (कबड्डी) मेगबहादुर सेन (क्रिकेट) मनोनयनमा परेका छन् । यस्तै, वर्ष उत्कृष्ट प्रशिक्षक बिधामा जीवन घिमिरे (शारीरिक सुगठन), रिजन प्रजु (क्रिकेट) र शिवबहादुर गुरुङ (फुल कन्ट्याक्ट कराँते) मनोनयनमा परेका छन् । यी दुइ विधामा अवार्ड प्राप्त गर्नेलाई नगद १५ हजार, ट्रफी र दोसल्ला प्रदान गरिने मञ्चले जनाएको छ ।

साथै, चारै विधामा उत्कृष्टलाई वल्र्डवाइड कनेक्सन चिप्लेढुंगाको तर्फबाट एक-एक थान सामसुङ कम्पनीको मोबाइल समेत प्रदान गरिने मञ्च कास्कीका अध्यक्ष केशव पाठकले जानकारी दिए । मञ्चले यस वर्ष उत्कृष्ट खेल संघ बिधामा कास्की जिल्ला ब्याडमिन्टन संघलाई पुरस्कृत गर्ने घोषणा गरेको छ । अवार्ड वितरण समारोहमा संघलाई नगद १० हजारसहित ट्रफी प्रदान गरिनेछ ।

खेलकुद पत्रकार मञ्च कास्कीले यस वर्षदेखि खेल पर्यटन पत्रकारिता पुरस्कारको बिधा पनि थपेको छ । कास्कीमा रही कम्तिमा ५ वर्ष खेलकुदलाई पर्यटनसँग जोडेर कलम चलाउँदै आएका एक जना पत्रकारलाई हरेक वर्ष नगद १५ हजारसहित दोषल्ला र ताम्रपत्रले पुरस्कृत गर्ने उद्धेश्यले यस वर्षदेखी यो विधा थपेको मञ्चले जनाएको छ । सो अवसरमा खेलसम्बन्धी गीत गाएर योगदान दिएको भन्दै गायक बिनोद बानियाँलाईसमेत सम्मान गरिने मञ्च कास्कीका सचिव रञ्जन अधिकारीले जनाए ।

लाइफटाइम अचिभमेन्ट अवार्ड गुरुङलाई

खेलकुद पत्रकार मञ्च कास्कीले यस वर्ष लाइफटाइम अचिभमेन्ट अवार्डबाट खेल पूर्वाधारका अभियन्ता प्रा.डा. वीरेन्द्रसिंह गुरुङलाई सम्मान गर्ने भएको छ ।

प्राज्ञिक क्षेत्रका व्यक्तित्व रहेर पनि पोखरामा खेलकुदका विकासमा उनको योगदानको कदर गर्दै मञ्चले सम्मान गर्न लागेको हो । उनी पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व प्रमुख हुन् । पोखरामा हक्की खेल भित्राउने श्रेय उनलाई नै जान्छ । लनटेनिससँगै अहिले लोकप्रिय बनेको क्रिकेट खेलको विकास र पूर्वाधार निर्माणमा उनको महत्वपूर्ण योगदान छ ।

भूतपुर्व खेलाडी मञ्च नेपालका पूर्व अध्यक्ष समेत रहेका गुरुङ २०६१ सालमा पोखरा रंगशाला पर्खाल निर्माण समितिको संयोजक पनि हुन् । क्यानका पूर्व उपाध्यक्ष, कास्की क्रिकेटका पूर्व अध्यक्ष, क्रिकेट मैदान निर्माण संयोजक समेत भएर गुरुङले योगदान गरेका छन् । उनलाई पोखरा स्पोर्टस अवार्ड वितरण समारोहमा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक दिननाथ बरालले जानकारी दिए ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पत्रकारले आयोजना गरेको यो अवार्ड पत्रकार र खेलाडीको मात्र नभई सम्पूर्ण पोखरेलीको प्रतिष्ठाको विषय भएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ