तनहुँबासीको माग: ‘प्रदेशको नाम कि गण्डक कि तमुवान-मगरात उपयुक्त, केहि मन्त्रालय यतै राख’

तनहुँबासीको माग: ‘प्रदेशको नाम कि गण्डक कि तमुवान-मगरात उपयुक्त, केहि मन्त्रालय यतै राख’

sujhaab

तनहुँ, ११ वैशाख– तनहुँको दमौलीमा आयोजित प्रदेश राजधानी तथा नामाङ्कन सुझाव संकलन कार्यक्रममा विभिन्न क्षेत्रका अगुवाले प्रदेश नं ४ नामबारे लिखित तथा मौखिक सुझाव राखेका छन् ।

उनीहरुले प्रदेशको नामकरणमा विभिन्न विकल्प पनि सुझाएका छन् । प्रदेश राजधानी पोखरा नै उपयुक्त हुनेमा एकमत देखिएका सहभागिहरुले नाम भने गण्डक र तमुवान–मगरात राख्नु उपयुक्त हुने बताएका छन् ।

त्यस्तै उनीहरुले गण्डकी, व्यास, व्यास पराशर, वेदव्यास, मादीसेती, गोरखा, मगरात, मुक्तिनाथ, मुक्तिगण्डक आदि नाममा पनि छलफल गर्न सकिने बताएका छन् । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले सबै भाषा,धर्म, संस्कृति भुल्न नहुनेगरी नामाकारण गर्नुपर्ने बताए ।

प्रदेशसभा सदस्य हरिशरण आचार्यले जिल्लाबाट प्राप्त सुझाव प्रदेशसभामा छलफलका लागि पेश गरिने बताए । उनले प्रदेश राजधानी पोखरा बनाउनुपर्नेमा कुनै दुईमत नभएको भन्दै नामबारे सुझावमाथि छलफल गरेर निर्णयमा पुग्ने बताए ।

कार्यक्रममा पोखरा नजिक रहेको तनहुँका विभिन्न स्थानहरुमा केहि मन्त्रालयहरु राख्नुपर्ने सुझाव समेत आएको छ । समितिले प्रदेशका सबै जिल्लामा सुझाव संकलनका लागि प्रदेशसभा सदस्यहरुलाई खटाएको छ ।

-किरण श्रेष्ठ

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ