तिमीलाई नै योग्य बनाउन शरीरमा गोलि बोक्ने म; कसरी अयोग्य भए ?

तिमीलाई नै योग्य बनाउन शरीरमा गोलि बोक्ने म; कसरी अयोग्य भए ?

ladaku 1
  • लेनिन बिष्ट

तिमीले गोडाफाट भन्यौ मैले गोडा फाटे
सतर्क भन्यौ म सतर्क बने
अगाडि बढ भन्यौ ,म अगाडि बढे
पछाडि हट भन्यौ म पछाडी हटे
सर्टिफिकेट फाल भन्यौ मैले फाले
दस्ताबेज पढ भन्यौ मैले पढे
इतिहास पढ भन्यौ मैले पढे
समाज पढ भन्यौ मैले पढे
अरु कत्ती कुराहरू तिमिले नभन्दा पनि पढे

……
तिमीले बन्दुक बोक भन्यौ मैले बोके
कैयौं कुइन्टल भारी पनि बोके
सहयोद्धाका अमर शरीर बोके
घाइते शरीर बोके
रक्तिम सन्देश बोके
बोक्न त आजाद हरुका प्यार पनि बोके
जल्लाद हरुका काला कर्तुत पनि बोके

……
घर भनिएन
सम्पत्ति भनिएन
बा आमा भनिएन
प्रीयसी भनिएन
पढाइ भनिएन
केवल भनियो त परिवर्तन
हिडियो त मृत्यु लाई हत्केलामा राखेर
भत्काइयो दुश्मनको जिल्ला
बनाइयो आफ्नै लाल किल्ला
जलाइयो बुर्जुवा किताबका पाना पाना
बनाइयो सामन्तिलाइ निशाना

…….
तिमी संग आदेश दिन सक्ने क्षमता थियो
म सङ्ग पनि त तिम्रो आदेश मान्ने क्षमता त थियो
……
मैले आदेश पालना गरेकै हु
आफ्नो कर्तव्य निभाएकै हु
भोक भोकै लडेकै हु
…….
त्यति बेला
मेरो अपाङ्ग शरीर पनि तिम्रो लागि अमुल्य थियो
किनकी म भाचिएको हात लिएर
बन्दुक चलाउन सक्थे
खुट्टामा गोलिका डल्ला बोकेर
अहोरात्र लड्न सक्थे

…….
तिमिले बन्दुक रोक भन्ने बेला सम्म पनि
म तिम्रो लागि प्रीय नै थिए
किनकी म तिम्रा लागि सुरक्षा दिन सक्थे
तिमिलाई हर क्षण पहरा दिन सक्थे
……
तर जब तिमी
हामी बस्ने परालको गुन्द्री छाडेर
राता कार्पेटमा बस्न थाल्यौ
अनि बिस्तारै मेरो मूल्य तोकिन थाल्यो
…..
जब मूल्य तोकियो
म जस्तै हजारौं लाई हाट बजारमा राखियो
तिमिले पठाएका
कैयौं ग्राहकहरु आए
अङ्ग अङ्ग जाचे
……..
खुट्टामा गोलि बोकेको म
भच्चिएको हात बोकेको म
अयोग्य बने

…..
कमरेड !
कुनै बेला त्यही भाच्चिएको मेरो
हात तिम्रा लागि प्यारो थियो होइन ?
गोलि लागेको मेरो खुट्टा
तिम्रा लागि तन्दुरुस्त थिए होइन ?
म अमुल्य थिए होइन ?
म योग्य नै थिए होइन ?
तर म आज कसरी अयोग्य भए ?
…….
तिमीले भनेको मोर्चा सम्हालेकै हु
दुश्मन को किल्ला तोडेकै हु
तिमिलाइ गुन्द्री बाट रातो कार्पेटसम्म पुर्याएकै हु
के त्यहा पुर्याउनु मेरो गल्ती थियो ?
मेरो अयोग्यताको कारण तिमी त्यहा पुगेको हौ ?

……..
तिमीले त मेरो योगदानको मापन हुनुपर्छ भन्थ्यौ
तर मेरो चोट ग्रस्त शरीर नापियो
मेरो शरीरको उचाइ नापियो
तौल नापियो
तर
खै त तिम्रो उचाइ नापिएको ?
खै त तिम्रो तौल नापिएको ?
खै त तिम्रो योग्यता नापिएको ?

……..
केही पनि मापन गर्नै नपर्ने तिमी
योग्य
तिमीलाई नै योग्य बनाउन शरीरमा गोलि बोक्ने
म कसरी अयोग्य भए ??

स्रोतः लेनिन बिष्टको फेसबुक वालबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds