राजधानीमै डुबान, करीब सय जनाको उद्धार, बालकोट जोड्ने पुल बगायो

राजधानीमै डुबान, करीब सय जनाको उद्धार, बालकोट जोड्ने पुल बगायो

bhakatapur-duban12_2P3Lp8DRtz

भक्तपुर –अविरल वर्षासँगै हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर डुबानमा परेको छ । अरनिको राजमार्गस्थित राधेराधे र भाटभटेनी सुपरमार्केट क्षेत्रका बस्ती डुबानमा परेका हुन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका – ७ मझुवा टोलमा घरमाथिको ढिस्को खसेर थिच्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ७० वर्षीय हिराबहादुर लामा, उनकी श्रीमती ६५ वर्षीया दानमाया लामा र नातिनी अढाइ वर्षकी सम्पदा लामा रहेको भक्तपुर प्रहरीले जनाएको छ ।

बाढीले भक्तपुर नगरपालिकाका ३ र मध्युपर थिमी तथा सूर्यविनायक नगरपालिकाका ३ गरी ६ वटा वडाका खोला आसपासका बस्तीहरू डुबानमा परेका छन् ।

त्यस क्षेत्रमा फसेका करीब १ सय जनालाई उद्धार गरिएको भक्तपुर प्रहरीका प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए ।

उद्धार गरिएका मध्ये ३ जना सामान्य घाइते भएकाले उनीहरूलाई भक्तपुर अस्पताल लगिएको छ । अन्यलाई स्थानीय स्कूलसहित खुल्ला स्थानमा राखिएको डीएसपी पोखरेलले बताए । सो क्षेत्रका ४ वटा विद्यालय बन्द छन् ।

बाढीले केही चौपाया समेत बगाएको छ । खोला किनारमा रहेको एउटा फार्मबाट २४ वटा बंगुरका पाठा बगाएको डीएसपी पोखरेलले जानकारी दिए ।

यसैगरी बाढीले चारडोबाटोबाट बालकोट जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ । बुधबार साँझदेखि निरन्तर भइरहेको वर्षा बिहान केही समयअघिबाट रोकिएकाले बाढी कम हुने अपेक्षा गरिएको छ ।

वर्षाका कारण बागमती र हनुमन्ते खोलामा बाढी आउँदा डुबानमा परेका भक्तपुर । काठमाडौं, ललितपुर र भक्तपुर बाढीका कारण प्रभावित भएको छ । घर–घरमा पानी पसेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ