गाडेको मान्छे झिकेर भैंसीको पाडो ! चिप्लेटीका दर्जन पक्राउ

गाडेको मान्छे झिकेर भैंसीको पाडो ! चिप्लेटीका दर्जन पक्राउ

Sab gadeko

स्याङ्जा । गाउँमा हल्ला भएपछि हत्याको पोल खुल्ने डरले लाश झिकेर भैंसीको पाडो मारेर गाडिएको रहस्य खुलेको छ । जिल्लाको आरुचौर गाविस–४ स्थित चिप्लेटीमा नाम, ठेगना नखुलेको व्यक्तिको शव भेटिएपछि यस्तो रहस्य खुलेको हो ।

गत पुस २७ गते सो अपरिचित व्यक्तिको हत्यापछि शवलाई घटनास्थल नजिकै खाल्डो खनी गाडिएको बुझिएको छ । गाँउमा हल्ला हुन थालेपछि शव गाडिएको स्थानमा ५ महिनाको भैंसीको पाडो मारेर गाडेर शवलाई भने ४ घण्टा पैदल दुरीमा पर्ने अर्जुनचौपारी स्थित भट्टे पथान सामुदायिक बनमा लगेर पुनः गाडिएको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

अन्दाजी ५० वर्ष उमेरका देखिने उक्त शवको अनुहार हेर्दा हिमाली भेगमा बसोबास गर्ने व्यक्ति भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । मनाङ र मुस्ताङ जिल्लामा हुलिया परिपत्र गरिएको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार गत पुस २७ गते जडीबुटी बेच्ने क्रममा एकजना अपरिचित व्यक्ति उक्त स्थानमा पुगेको र पैसाको लोभमा हत्या भएको हुनसक्ने आशंका गरिएको छ । उक्त व्यक्तिको घरेलु हतियार प्रयोग गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सो व्यक्ति त्यो दिन स्थानीय शोभाकर बिकको घरमा बास बसेको र शोभाकरको भतिज सन्जयसँग झगडा भएपछि हात हालाहाल भए पश्चात मृत्यु भएको र छिमेकीहरुको सहमति र सहयोगमा शवलाई लुकाइ–छिपाई घटनास्थलबाट करीब २ सय मिटर टाढा बारीमा खाडल खनी गाडिएको प्रहरी नायब उपरीक्षक वीरबहादुर पुलामीले दाबी गरे । शवको साथमा २ वटा सुनको औंठी, ४ हजार नगद पैसा, झोला, केही जडीबुटी, लत्ताकपडा, लगायत सामान पनि बरामद भएको छ ।

हत्यामा संलग्न भएको आशंकामा चिप्लेटी गाँउका १२ जनालाई पक्राउ गरी अनुसन्धान कार्य अघि बढाएको बताइएको छ ।

प्रतिकात्मक तस्विर

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ