प्रदेश ४ मा यी हुँदैछन् समानुपातिक सांसद, कास्कीबाट को को ?

प्रदेश ४ मा यी हुँदैछन् समानुपातिक सांसद, कास्कीबाट को को ?

Province-4

पोखरा, १ पौष / निर्वाचन आयोगका अनुसार प्रदेश चारका सबै जिल्लाको समानुपातिक तर्फको मतगणना सकिएको छ ।

एमालेले ३ लाख ७३ हजार ५०१ मत पाएको छ । प्रत्यक्षमा कमजोर देखिएको कांग्रेस समानुपातिकबाट भने एमाले हाराहारीमै आएको छ । कांग्रेसले ३ लाख ६४ हजार ७ सय ९७ र माओवादीले १ लाख १९ हजार ५ सय २८ मत ल्यायो । नयाँ शक्ति र राष्ट्रिय जनमोर्चा पनि थ्रेस होल्ड कटाउँदै प्रदेश पार्टी भएका छन् । नयाँ शक्ति पार्टीले २४ हजार ६ सय २५ र जनमोर्चाले १९ हजार २ सय ७६ मत ल्याए । समाधान दैनिकका लागि अमृत सुवेदीले लेखेका छन् ।

प्रदेशसभातर्फ १.५ प्रतिशतको थ्रेसहोल्ड छ । कुल सदर मतको १.५ प्रतिशत नकटाउने दलले समानुपातिकमा सिट पाउँदैनन् । यसरी हेर्दा प्रदेश ४ को समानुपातिकतर्फ एमालेले सबैभन्दा धेरै १० सिट पाउने छ । कांग्रेसले ९, माओवादीले ३ सिट पाउने छ भने नयाँ शक्ति र जनमोर्चाले एकएक सिट पाउनेछन् । यो सिट विभाजन निर्वाचन आयोगले उपलब्ध गराएको मतलाई सेन्टलग विधिबाट निकालिएको छ । आयोगले औपचारिक रुपमा भने कुन दलले कति सिट पायो भनेर घोषणा गरेको छैन ।

६० सदस्यीय प्रदेशसभा रहने यो प्रदेशमा २४ जना सांसद समानुपातिकबाट चुनिनेछन् । सबैजसो पार्टीका धेरैजसो महिलाले समानुपातिक सांसद बन्ने मौका पाउँदैछन् । संसदमा ३३ प्रतिशत महिलाको उपस्थिति गराउनु पर्ने संविधानले नै व्यवस्था गरिदिएको छ । दलले प्रत्यक्ष र समानुपातिबाट पाएको सिटलाई लेखाजोखा गर्दा कुन दलबाट को को बन्दैछन् भन्ने हिसाब आउँछ । समानुपातिक सांसदका लागि ६ क्लस्टर छुट्याइएको छ र बन्द सूचीको पहिलो नम्बरमा हुने प्राथमिकतामा पर्नेछन् ।

प्रत्यक्षमा एमालेबाट म्याग्दीकी नरदेवी पुन प्रदेश सभाकी एकमात्र महिला सदस्य हुन् । एमालेले यो प्रदेशमा प्रत्यक्षतर्फ १७ सिट ल्याएको छ । एमालेकै समर्थनबाट राजीव गुरुङ(मनाङ) समेत जोड्दा १८ सिट हुन्छ । समानुपातिकबाट पाएको मतका आधारमा एमालेले समानुपातिकमा १० सिट पाउने छ । जसमध्ये ८ महिलाले सांसद बन्ने मौका पाउनेछन् ।

कास्कीकी मित्रकुमारी सुवेदी जनजाति महिलाको तर्फबाट १ नम्बर सूचीमा भएकाले उनको प्रबल सम्भावना छ भने बागलुङकी सावित्री राना र कास्कीकी मीना गुरुङ, नवलपुरकी पद्मा जिसी श्रेष्ठ र कास्कीकी मीनाकुमारी गुरुङ क्रमश सूचीमा छन् ।

खस आर्य महिलाको एक नम्बर सूचीमा भएकाले कास्कीकी सिर्जना शर्मा पनि समानुपातिक सांसद बन्ने पक्काजस्तै देखिएको छ । त्यसपछि क्रमश कास्कीकै प्रभा कोइराला र पुष्पा केसी भण्डारी छन् । स्याङ्जाकी ताराकुमारी शर्मा र लमजुङकी यशोदा रिमाल पनि प्राथमिकताको सूचीमा छन् ।

दलित महिलातर्फबाट नवलपुरकी लक्ष्मी सुनार समानुपातिक सांसद बन्ने ढोकामै छन् । दोस्रोमा पर्वतकी जुनादेवी नेपालीको नाम छ । २ जना पुरुषले समानुपातिक सांसद बन्न पाउने अवस्थामा खस आर्यबाट कास्कीका मायानाथ अधिकारी र भीमबहादुर काकीको सम्भावना बढी देखिन्छ भने दलित पुरुषबाट पर्वतका गोविन्दबहादुर नेपाली सांसद बन्ने सम्भावनाको पंक्तिमा छन् ।

माओवादीले प्राप्त गरेको सिटको हिसाब गर्दा सामानुपातिबाट ३ सिटमै महिला सांसद बन्नेछन् । प्रदेशमा माओवादी प्रत्यक्षमा प्राप्त गरेको ९ सिटमा १ सिटमात्र जितेको छ । तनहुँ क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा माओवादीबाट आशा कोइराला एकमात्र प्रदेश सभा सदस्य हुन् ।

माओवादीले पठाएको समानुपातिकको बन्द सूचीमा बागलुङकी दिलमाया रोकामगर गौतम दलित महिलाको एक नम्बर सूचीमा छन् । उनी माओवादीबाट समानुपातिक प्रदेश सांसद बन्ने पक्का जस्तै छ । जनजाति आदिवासी महिलाको १ नम्बर सूचीमा भएकाले गायत्री गुरुङ पर्वतबाट समानुपातिक सांसद बन्ने भएकी छन् । माओवादी कास्की संयोजक बखानसिंह तमुकी श्रीमती भएकाले पनि समानुपातिकमा उनकै सम्भावना बढी देखिन्छ ।

दोस्रोमा नम्बरमा मनाङकी लक्ष्मीकुमारी लामा छन् । लमजुङकी मधुमाया अधिकारी गुरुङ खसआर्यको पहिलो सूचीमा भएकाले उनको सम्भावना छ । दोस्रोमा पर्वतकी मनरुपा शर्मा छन् । माओवादीबाट यदि पाँचै सिट समानुपातिक सांसद लागि पाएको भए पनि पुरुष पर्दैनथे । माओवादी नेता झलकपाणि तिवारी कास्कीबाट समानुपातिकमा पर्ने एकमात्र थिए तर उनको सांसद बन्ने ढोका बन्द भएको छ ।

प्रत्यक्ष ६ सिट जितेको कांग्रेसले समानुपातिकमा ९ जनाले प्रदेश सभामा प्रतिनिधत्व गर्नेछन् । प्रदेशससभामा महिला सहभागिता ३३ प्रतिशत पु¥याउन कांग्रेसले ५ जना महिला पठाउनुपर्ने हुन्छ । बाँकी ४ जना पुरुष सांसद बन्ने मौका पाउनेछन् ।

जनजाति पुरुषको तर्फबाट एक नम्बर सूचीमा रहेका स्याङ्जाका मेखलाल श्रेष्ठ सांसद बन्ने पक्काजस्तै देखिएको छ । दोस्रोमा लमजुङका हरिबहादुर घले छन् । पर्वतका मणिभन्द्र शर्मा कँडेल खस आर्य पुरुषको १ नम्बर सूचीबाट सांसद बन्ने सम्भावनाको नजिक छन् । चुनाव अघिमात्र अखण्ड पार्टीलाई कांग्रेसमा बिलय गराएर समानुपातिकको सूचीमा परेका कास्कीका कुमार खड्का दोस्रो नम्बरमा छन् । कांग्रेस महामन्त्री शशांक कोइरालाको जिल्ला नवलपुरबाट र शशांकसँग लिगेसी पनि भएकाले खसआर्यको तेस्रो सूचीमा रहेका तिलकप्रसाद सापकोटाको पनि सम्भावना छ ।

तनहुँका दोबाटे विक दलित पुरुषको १ नम्बर सूचीमा भएकाले उनको सम्भावना पक्काजस्तै छ । जनजाति महिलातर्फ पर्वतकी ललितकला गुरुङ सांसद बन्ने सूचीको पहिलो नम्बरमा छन् भने तनहुँकी सरिता गुरुङ दोस्रो नम्बरमा । यस्तै गोरखाकी मनकुमारी गुरुङ, म्याग्दीकी विमला शेरचन र स्याङ्जाकी माया रानामगर क्रमश सूचीमा छन् ।

नवलपुलकी ओमकला गौतम खसआर्य महिलाको १ नम्बर सूचीमा नाम भएकाले समानुपातिक सांसद बन्ने पक्काजस्तै देखिएको छ । स्याङ्जाकी सरस्वती अर्याल दोस्रो, कास्कीकी कोपिला रानाभाट तेस्रो, चन्द्रादेवी पौडेल चौथो र तनहुँकी लक्ष्मीदेवी मैनाली पाँचौ नम्बरमा छन् । बागलुङकी कोपिला बोहोरा दलित महिलाकोतर्फबाट सांसद बन्ने पहिलो सूचीमा छन् भने पूर्व सांसदसमेत रहेकी कृष्णकुमारी परियार दोस्रो नम्बरमा छन् ।

नयाँ शक्तिले प्रदेश सभामा गोरखा २ को १ मा हरिशरण आचार्य जितेका कारण यसमा पनि महिलाले नै सांसद बन्न पाउनेछन् । आदिवासी महिलाको १ नम्बर सूचीमा रहेकी घनमाया पोखरेल लामा र दलित महिलाको १ नम्बर सूचीमा रहेकी कास्कीकी लक्ष्मी परियारमध्ये १ जना समानुपातिक सांसद बन्ने देखिएको छ ।

प्रदेश सभाको प्रत्यक्षमा २ सिट जितेको राष्ट्रिय जनमोर्चाले समानुपातिकमा पाउने १ सिटमा पनि महिला नै पुग्ने अवसर पाउने छन् । यसमा खसआर्यको तर्फबाट पर्वतकी सरस्वतीदेवी पौडेल, दलित महिलाको तर्फबाट लक्ष्मी विक र जनजाति महिलाको तर्फबाट पियारी थापामध्ये १ जनाले समानुपातिक सांसद बन्ने अवसर पाउने छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ