पोखरा: बन्ला त स्मार्ट सिटी ?

पोखरा: बन्ला त स्मार्ट सिटी ?

metro-pokhara-m-650×328
  • लक्ष्मण तिमिल्सिना

स्थानीय निर्वाचन ताकाको देश व्यापी एक बहस नै बन्यो स्मार्ट सिटी । हालसालै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा समेत उम्मेदवार अछुतो रहेनन् यस मुद्दा उठाउनको लागि । विशेष गरी कास्कीका तिनै निर्वाचन क्षेत्रका उम्मेदवारहरुले पोखरा स्मार्ट सिटी तथा स्याटलाइट सिटी निर्माणको प्रतिवद्धता आफ्ना प्रतिवद्धता पत्रमा उल्लेख गरेका नै छन् ।

अब विरोधभन्दा नि स्मार्ट सिटीको सम्भाव्यताबारेमा छलफल र बहस सञ्चालन गर्नु आजको आवश्यकता हो । सडकमा छाडा चौपाया देख्दा समेत स्मार्ट सिटी भनेर खिल्ली उडाउने नागरिकहरु स्मार्ट नबनुञ्जेलसम्म सहर स्मार्ट बनाउने सपना अधुँरो रहन्छ ।

स्मार्ट सिटी निर्माण आम पोखरेलीको सपना हो । साथै मिसन पनि हो तर, यसका लागि हामीले बुझेको स्मार्ट सिटी सिधा प्रविधिमैत्री समाज निर्माणको परिकल्पनामात्रै हो कि भन्ने भान धेरैका अभिव्यक्ति सुन्दा अनुभूत हुन आउँछ ।

स्मार्ट सिटि के हो ?

स्मार्ट सहरको आधिकारिक व्याख्या र अवधारणा छैन तर पनि विभिन्न स्थानमा गरिएका १ सय १६ परिभाषाहरु हामी माझ फेलापर्छन् । जस्तै स्मार्ट सिटी भनेको छरितो सहर भन्ने बुझिन्छ । प्रविधियुक्त व्यवस्थित सहरको रुपमा समेत चित्रण गर्न सकिन्छ । सूचना प्रविधिको अधिकतम प्रयोग गरी सेवा सुविधालाई सहज र सरल बनाइएको सहर, नागरिक–नागरिक, नागरिक र सरकारबीचको सञ्चार र संवादलाई सहज र सर्वसुलभ बनाइएको सहर, विभिन्न सेवा–सुविधाहरु इन्टरनेट मार्फत् अटोमेसन प्रणालीमा आवद्घ सहर, फुर्तिला, स्वस्थ, लगनशील र उत्पादनशील नागरिक बस्ने, उर्जाको कम खपत हुने र वातावरणमैत्री पूर्वाधारको व्यवस्था भएको सहर आदि ।

– स्मार्ट सिटी निर्माणका लागि गोष्ठी, सेमिनारमा सहभागी हुने तर सामान्य घर अगाडि नै फराकिला सडक निर्माणको कुरा उठ्दा विरोधमा आउने नागरिकहरुको सोचले सहर स्मार्ट बन्न सक्दैन ।

सूचना तथा सञ्चार प्रविधिमा पछिल्लो समय भएको विकासले मानव जीवन निकै सहज भएको छ । संसारको जुनसुकै कुनामा सस्तो र सहज सञ्चार सम्भव भएको छ ।तथ्यांक, सूचना र ज्ञानको स्रोतहरुसम्मको पहुँच सजिलो भएको छ । फलस्वरुप विश्व निकै साँघुरो बनेको छ ।स्मार्ट सिटी निर्माणका लागि के–के चाहिन्छ भन्नेबारेमा हामीले साधारण रुपमै सोच्दा समेत पर्याप्त हुनेछ । जस्तो व्यवस्थित र योजनाबद्घ वस्ती, ब्रोडब्यान्ड सहितको इन्टरनेट सुविधा, नियमित विद्युत आपूर्ति र आवश्यक हार्डवेयर र सफ्टवेयर, नागरिकहरुलाइ सूचना–प्रविधि सम्बन्धी आधारभूत तालिम, विभिन्न सेवा र सूचना आदानप्रदान गर्न मोबाइल एप्सको प्रयोग, मानिसहरु भेटघाट

नगरीकन सेवा आदानप्रदान हुने अनलाइन सेवा प्रणाली साथै बिना झन्झट् नागरिकहरुको कार्य सम्पादन पर्छन् ।

नेपालमा कसरी गरियो स्मार्ट सिटीको परिकल्पना

सन् २०१२ मा ‘लुम्बिनी शान्ति सहर’ को गुरुयोजना बनाउने जमर्काे भएको थियो । यसमा आधुनिक सूचना प्रणालीका सबै संयन्त्रहरुको परिकल्पना, पार्क, हरियाली र वातावरणमैत्री तथा प्रदूषणरहित सहरको रुपमा ‘लुम्बिनी शान्ति सहर’ लाई अघि सारिएकाले लुम्बिनी शान्ति सहर नै स्मार्ट सिटीको रुपमा विकास हुन सक्छ । सरकारले बुद्ध जन्मस्थल लुम्बिनीलाई ‘स्मार्ट सिटी’ को रुपमा विकास गर्न काम अघि बढाएको छ । सहरी विकास मन्त्रालय अन्तर्गत नयाँ सहर आयोजनाले लुम्बिनी सहित निजगढ र पालुङ्टारलाई समेत स्मार्ट सिटीको रुपमा विकास गर्न परामर्शदाता छनोटका लागि सूचना जारी गरेको छ ।

कहाँबाट सुरु गर्ने ?

स्मार्ट सिटी बहसलाई व्यवहारिकतामा लैजान काम कहाँबाट सुरु गर्ने अन्योलता भने देखिएकै छ । यसबारेमा किशोर थापाको धारणाले केही अधुरो सुरुआत र अन्योलताको नेतृत्व गर्न सक्छ । तत्कालै गर्नसकिने कुराहरुः
– नगर क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट सेवाको विकास गर्ने ।
– प्रत्येक घरपरिवारको इमेल ठेगाना तयार गर्नुका साथै डाटा केन्द्र स्थापनाका कार्य अगाडि बढाउने ।
– वडा कार्यालय र प्रधान कार्यालय जोडिने गरी इन्ट्रानेट सेवा स्थापना गर्ने ।
– एकिकृत सम्पति कर, घर वहाल कर, बिजुली, टेलिफोन, पानीको बिल मोबाइल फोनबाटै तिर्ने व्यवस्था र कुनै गुनासो भए मोबाइलबाटै टिपाउने व्यवस्था गर्नुका साथै सहरलाई क्यासलेस बनाउने ।
– सडक बत्ती, ट्राफिक चिह्न, सिसी टिभिको व्यवस्था गर्ने ।
– लामो दूरीका बसको अनलाइन टिकेटिङको व्यवस्था, विद्युतीय सवारी साधनको प्रर्वद्घन ।
– घरघरमा बिजुलीबाट खाना पकाउने व्यवस्था ।
– ठोस र तरल फोहरको छरितो व्यवस्थापन ।
– नगरपालिकाको छरितो वेभसाइट निर्माण गरी नागरिकलाई आवश्यक जानकारी, नक्सा पास लगायतका कार्य अनलाइन मार्फत सम्पन्न गर्ने, यसो गर्दा नागरिक र कर्मचारी बीच दोहोरो संवाद नहुने हँुदा भष्ट्राचार न्युनीकरण हुनुका साथै सेवा समेत चुस्त र दुरुस्त हुनेछ ।
– सामाजिक सञ्जालका कार्यक्रम मार्फत नगरवासीसँग पदाधिकारीहरुको अन्तरक्रिया गर्ने व्यवस्था ।
– खुला स्थानको विकास र व्यवस्थापन ।
– प्रविधिको प्रयोगका साथै खोज, अनुसन्धानमुलक व्यवहारको विकास ।

स्मार्ट नागरिक, स्मार्ट योजना

स्मार्ट सिटी निर्माणका लागि कुरा होइन काममा जोड दिनु प्राथमिकता हो । यस्का लागि पहिले त हामीले हाम्रो नागरिकहरुलाई नै स्मार्ट बनाउन तर्फ ध्यान दिनु जरुरी छ । हामीले जति प्रविधिका कुरा गरेपनि हाम्रा नागरिकले त्यस्को प्रयोग गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा प्रमुख हो । कुनै अत्याधुनिक प्रविधिको प्रयोगका लागि नागरिकले आफूलाई तयार गर्न सक्नुपर्छ, नत्र त्यस्को प्रयोग नै व्यर्थ हुन सक्छ ।

स्रोतको कमीले होइन सोचको कमीले स्मार्ट सिटी बन्न नदिन पनि सक्छ । तसर्थ स्मार्ट सिटीले कोही कसैको चाहनाले भन्दा पनि नागरिकको स्मार्टनेस सँगै आधार तयार गर्छ । अल्बर्ट आइन्सटाइनले इलेक्ट्रोनिक तरंगको कुरा गर्दा हाँसो–मजाक र असम्भव ठान्ने समाज नै आज एन्ड्रोइड फोन बोक्ने समाजमा रुपान्तरण भइसकेको छ । अत स्मार्ट सिटी सपना होइन यथार्थ बनाउनको लागि आचरण र अध्ययनशिलताको विकास हुनु जरुरी देखिन्छ । स्मार्ट सिटी निर्माणका लागि गोष्ठी, सेमिनारमा सहभागी हुने तर सामान्य घर अगाडि नै फराकिला सडक निर्माणको कुरा उठ्दा विरोधमा आउने नागरिकहरुको सोचले सहर स्मार्ट बन्न सक्दैन ।

स्मार्ट सहर निर्माणको सपना हाम्रो व्यवहारहरुले सार्थक पार्न सक्छन् । स्मार्ट शब्दको धज्जी त्यतिबेला उडेको महसुुस हुन्छ जतिबेला घन्टौ समय खर्चेर आसन ग्रहण गराएर दर्शक दीर्घा जतिनै अतिथि राखेर धेरैको वाककलाले स्मार्ट सिटीको सपना बाड्छन् आयोजकहरु । अब हाम्रो कार्यक्रमहरु प्रविधिको प्रयोग गर्दै अत्यावश्यक बहस गर्दै शैली परिवर्तन गरेर गर्नुले पनि कार्यक्रमहरु छरितो र प्रभावकारी हुने छन् । यस्तै सानो–तिनो परिवर्तनबाटै विस्तारै आधारहरु बन्दै जानेछन् स्मार्ट सिटी निर्माणका लागि ।

हाम्रो योजनाहरु स्मार्ट नबनिञ्जेल सहर स्मार्ट बन्ने बाटोमा अगाडि बढ्नै सक्दैन । सर्वप्रथम राज्यसँग सहर विकासको गुरु योजना तयार हुनु प¥यो । साथै त्यसलाई कार्यान्वयनका लागि स्पष्ट नीति । जमिन चिरा पारेर आवास निर्माणभन्दा सामूहिक आवासमा जोड दिनुपर्छ । स्मार्ट कृषि, स्मार्ट स्वास्थ्य, स्मार्ट शिक्षा, स्मार्ट खानेपानीका लागि योजनाहरु तयार गरी सँगसँगै लैजानुपर्छ । योजनाहरुको कार्य सम्पन्न गर्दा अनुगमन प्रविधिको प्रयोगबाटै गर्दा कमिसनको गोलचक्करबाट मुक्ति मिल्न जान्छ । यिनै परिवेशहरुले तयार पार्नेछन् हाम्रो भूगोल अनुकूलको स्मार्ट सिटी ।

के गर्दैछ महानगरपालिका ?

आम नागरिकको चासोको विषय, महानगरप्रमुखले निर्वाचन ताका भनेको स्मार्ट सिटी निर्माणको कार्य कता पुग्यो ।

तत्कालै हुने र देखिने काम नभएतापनि महानगरपालिका स्मार्ट सिटी निर्माणका लागि कटिवद्ध भएर लागेकै छ । जापानको आइटि भेन्चरसँग अध्ययन सम्झौता गरेर स्मार्ट सिटी हब बनेर स्मार्ट सिटी निर्माणको सम्भाव्यता अध्ययन कार्य सुरुआत भइसकेको छ । सम्भाव्यता अध्ययनको रिपोर्टका आधारमा काम अगाडि बढाउने योजना महानगरपालिकाले अगाडि सारेको छ । यसका अलावा महानगरपालिकाले आफ्नो वेभसाइटका माध्यमबाट सूचना सम्प्रेषण कार्य तिव्र पारिसकेको छ ।

राजश्वमा टोकन प्रणाली महानगरपालिकाले लागु गरिसकेको छ । जनताले घरमै बसेर नक्सा पास गर्न प्रयोग गरिएको इन्ट्रानेट पद्धतिलाई अनलाइन नक्सा पासको लागि छलफल तिव्रता पारिएको छ । पोखरामा भएका सम्पूर्ण व्यवसाय, संघसंस्था, स्थान लगायतको जानकारी गुनासो सुन्नको लागि महानगर मोबाइल एप तयार गर्ने प्रक्रियामा अगाडि बढाएको छ ।

साथै पोखरा मुख्य स्थानमा सूचना पोर्टल राख्ने र व्यावसायीलाई समेत सूचिकृत गर्ने महानगरको तयारीले २/३ महिना भित्रै सार्थक रुप लिने गरी कार्य अगाडि बढिसकेको छ । हरेक वडामा अनलाइन घटना दर्ता कार्य सुरु भइसकेको छ । ड्रेन, फुटपाथ र साइकल लेन सहितका नमुना सडक निर्माण कार्य ३ वर्ष भित्र सम्पन्न गर्ने गरी अगाडि बढिसकेको छ ।

Now, Current Airport

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ