विज्ञहरुको सुझाव: लमजुङको सुन्दरबजार नगरपालिकालाई साँच्चिकै ‘सुन्दर’ बनाउन कृषि र पर्यटनको विकासमा लाग्नुस्

विज्ञहरुको सुझाव: लमजुङको सुन्दरबजार नगरपालिकालाई साँच्चिकै ‘सुन्दर’ बनाउन कृषि र पर्यटनको विकासमा लाग्नुस्

interaction sundar bazar mun (3)

श्यामशितल परियार,लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिकालाई सुन्दर बनाउन कृषि र पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा विज्ञहरुले सुझाव दिएका छन् । ‘सुन्दरबजार नगरपालिका र विकास’ विषयक छलफल कार्यक्रममा बोल्दै विज्ञहरुले यस्तो सुझाव दिएका हुन् । सुन्दरबजार नगरपालिकाको गुरुयोजना बनाउनुपूर्व विज्ञहरुको राय लिनका लागि नगरपालिकाले काठमाडौँमा विज्ञसहितको छलफल कार्यक्रम सञ्चालन गरेको हो । नगरपालिकाका अनुसार छलफलमा विशेषगरी जन्मथलो सुन्दरबजार नगरपालिका रहेका काठमाडौँमा बस्दै आएका विभिन्न क्षेत्रका विज्ञहरु सहभागि थिए । लमजुङ र छिमेकी जिल्ला तनहुँका केही विज्ञहरु समेत छलफलमा सरिक भएका थिए ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङले कृषि, ऊर्जा र पर्यटन विकासको उच्च सम्भावना बोकेको जिल्ला लमजुङ रहेको बताए । लमजुङको सुन्दरबजार नगरपालिकामा कृषिको विकास गर्नु जरुरी रहेको उनले बताए ।
‘खेतीयोग्य जमिनलाई जोगाउँदै कृषि उत्पादनमा नगरपालिकाले जोड दिनुपर्छ,’ उनले भने । कृषि विज्ञ सूर्यबहादुर सिंहले सुन्दरबजार नगरपालिका क्षेत्रमा कृषि र पर्यटन विकासको उच्च सम्भावना रहेको उल्लेख गरे ।  ‘यहाँ उर्वभरभूमी जमिन प्रशस्त छन् । सिँचाईका लागि नदीनाला छन् । तर गाउँघरका जग्गा जमिन बाँझै छन् । आशातित रुपमा कृषि क्षेत्रको विकास भएको छैन । यहाँ ऐतिहासिक एवम् धार्मिक क्षेत्रहरु छन् । कृषि र पर्यटनको मात्रै विकास गर्न सके सुखी नगरबासी, समृद्ध सुन्दरबजार नगरपालिका बनाउन सकिन्छ,’ उनले आफ्नो राय राखेका थिए ।

युवालाई गाउँमै राख्न सके मात्रै कृषि विकासको परिकल्पना गर्न सकिने उहाँको धारणा छ । उनका अनुसार सबैभन्दा पहिले बजार खोजी व्यावसायिक कृषि कर्ममा जुट्नु आवश्यक छ । संघ र प्रदेश सरकारको सहयोगले मात्रै कृषि क्षेत्रको विकास गर्न नसकिने हुँदा दातृ निकायको पनि सहयोग भित्र्याएर नगरपालिकाले कृषि र पर्यटनको क्षेत्रमा काम गर्नुपर्ने उनको भनाई छ । पूर्व सचिव सुरेशमान श्रेष्ठले सुन्दरबजार नगरपालिका लोक सँस्कृति, कृषि, शिक्षाका दृष्टिले अग्रणी ठाउँ रहेकाले यहाँ पर्यटन विकास गरी नगरपालिकाको मुहार फेर्न सकिने तर्क राखेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले नगरपालिकाको समृद्धिको आधार नै कृषि रहेको धारणा राखेका छन । बञ्जर रहेका यहाँका उर्वरभूमीलाई हराभरा पार्नु आवश्यक रहेको बताउँदै उनले कृषिमा आधारित उद्योग स्थापनातर्फ पनि नगरपालिकाको ध्यान खिचिनुपर्नेमा उनको जोड छ । कृषि क्षेत्रमा काम गरिरहेका हरिबहादुर केसीले नगरपालिकाले कृषि र वन उत्पादनका क्षेत्रमा लगानी बढाउन सुझाव दिएका छ ।योजनाविद् डा. पूर्णकान्त अधिकारीले कृषि क्षेत्रमा युवाको आकर्षण बढाई यहाँको विकास गर्न सकिने धारणा राखेका थिए ।

पुनर्निर्माण विज्ञ विष्णु अधिकारीले नगरपालिकाले साना उद्योग स्थापनाका लागि उद्योगीलाई सहयोग गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए । नदीले बेरिएको, उर्वरफाँट रहेको, ऐतिहासिक एवम् पर्यटकीय क्षेत्रहरु रहेको बताउँदै सुन्दरबजारको विकासमा आफुले आफ्नो सीप, क्षमता खर्चिने धारणा राखेका छन । प्रतिनिधिसभा सदस्य एवम्् नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले सुन्दरबजार आफैँमा विकासको सम्भावना बोकेको नगरपालिका रहेको बताउँदै यसको श्रीवृद्धिमा आफुले हरदम सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

कार्यक्रममै राष्ट्रियसभा सदस्य ईन्दु कडारिया, जिसस लमजुङका संयोजक लोकराज पाण्डे, पूर्व सांसद डा. भीष्मनाथ अधिकारी, काशिनाथ अधिकारी, भुगोलविद् हरिप्रसाद भट्टराई लगायतले आ–आफ्नै धारणा राखेका थिए । अबको ५० वर्षपछिको सुन्दरबजार नगरपालिकाको खाका अहिल्यै नै कोरी त्यसै मार्गमा हिँड्नु आवश्यक रहेको नगरपालिकाका मेयर जनकराज मिश्रले बताए । विज्ञहरुबाट प्राप्त सुझावलाई सम्पत्तिकै रुपमै ग्रहण गरी अझै सरोकारवालासंग व्यापक छलफल गरी नगरको गुरु योजना बनाईने उनले उल्लेख गरेका थिए ।

विभिन्न कठीनाई भएतापनि सुन्दरबजारलाई सुन्दर बनाउनका लागि विज्ञबाट प्राप्त अमूल्य रायलाई समेट्दै नगर विकासमा जुट्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज गिरीले बताए । कार्यक्रममा जिल्ला समन्य समितिका उपसंयोजक धनकुमारी तामाङ, नगरकी उपप्रमुख ज्ञानु शाह लगायतका नगर कार्यपालिकाका सदस्य, वडाअध्यक्ष, राजनैतिक दलका प्रतिनिधि लगायत सरोकारवालाको बाक्लो सहभागिता रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ