स्याङ्जाका दीपेन्द्र साउदीमै थलिए, म्यानपावर र कम्पनी दुवैले हेरेन

स्याङ्जाका दीपेन्द्र साउदीमै थलिए, म्यानपावर र कम्पनी दुवैले हेरेन

dipendra

रञ्जन अधिकारी पोखरा, १५ चैत / साउदी उडेको यही चैत ३ गते बल्ल वर्ष दिन पुग्यो । स्याङ्जा चिलाउनेबास, उखुबारीका दीपेन्द्रराज पौडेल त्यहाँ थला परेकै ३ महिना भईसक्यो । २७ वर्षीय पौडेलले ६ महिनामात्रै राम्ररी काम गरे । सकिनसकी दुई महिना गरे त्यसपछि सकेनन् । ढाँडमा समस्या आएपछि कोठामै थलिएर बसेका छन् । २ लाख रुपैंया नभएर फर्कन सकेनन् ।

बिहे गरेको चार वर्ष मात्रै भयो । घरको आर्थिक अवस्था कमजोर रहेकाले महिनाको ८०० रियल (२१ हजार ६ सय) मात्रै तलबमा अरबको तातो हावामा पसिना चुहाउन उनी राजी भए । यसमा पनि बस्नमात्र सुविधा थियो । खान आफै जोहो गर्नुपथ्र्यो । काठमाण्डौको ए एस इन्टरनेशनल प्रालि म्यानपावरमा एक लाख २० हजार तिरेर साउदी उडे ।

‘म्यानपावरले मलाई पठाएको हेल्परमा हो । तर फलामका भारी काम उठाउने काममा लगायो । हामी काम गर्न नसक्ने भन्दा कम्पनीले कुरै सुनेनन् । काम गर्न बाध्य बनाए ।’ फेसबुकमार्फत हामीसँगको सम्पर्कमा आएका दीपेन्द्रले सन्देश पठाएका छन्– ‘८ घण्टा ड्युटी भनेर पठाएको १० घण्टा गर्न बाध्य बनाईयो । ८० किलोसम्मको फलाम उठाउनुपर्ने काम थियो । त्यसैका कारण हड्डी खिएछ । एकदिन उठ्नै सकिन, बसेको बस्यै भएँ ।’

म्यानपावरले अरेबियन स्पायर भन्ने कम्पनीमा पठाएकोमा कम्पनी उही भएपनि काम फरक गर्न लगाएको उनले दुःखेसो पोखे । म्यानपावरमा १ लाख २० हजार तिरेर आएपनि जम्मा १० हजारको फर्जी बिल दिएको भन्दै उनले म्यानपावरले अहिले वास्ता नगरेको गुनासो गरे ।

‘२ वर्षे करार, ८ घण्टा काम, खाना ३५० साउदी रियल, बस्ने सुविधा छ भनेर पठाएका हुन् ।’ – पोखरेलले भने– ‘बीमा र उपचार कम्पनीद्वारा भनिएको थियो । तर कम्पनीले उपचार गरिदिएन । फर्किदाँको हवाई टिकट कम्पनीले नै भन्ने सम्झौता थियो तर करार अवधि समाप्तभएपछि मात्र भनेकाले त्यो भएन । त्यसैले रोकिएर बसेको छु ।’ म्यानपावरका पिआर अफिसर नारायण भट्टराईको भिजिटिङ कार्डमा रहेको नम्बरमा सम्पर्क गर्न खोज्दा मोबाईल स्विच्ड अफ थियो ।

करार अवधि समाप्त नभएकाले जाने भए १० हजारबाट घटाएर ६ हजार रियल मागेको भन्दै उनले कम्पनीले पनि नछाडेको र फर्कने पैसा पनि नभएकाले कोठामै थलिएर बस्नुपरेको बताए । ‘पैसा एक रुपैंया छैन । ८ महिनामा ९० हजार जति कमाएको पनि उपचारमै सकियो । साउदी जस्तो देशमा आएका साथीहरुसँग पनि सँग हुन्छ र ? उनीहरु ईण्डियन हो । अहिलेसम्म पालेका छन् ।’ पौडेलले भने ।

उनले आफू नेपाल आउन चाहेको तर पैसा नभएकाले सहयोगको याचना गरेका छन् । घरमा पौडेलकी श्रीमती आमा बुबा रहेका छन् । सहयोगका लागि ९८२४१६७६७२ मा सम्पर्क गरी आर्थिक सहयोग गर्न सकिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ


This will close in 2 seconds