इमान्दार हुसेन पोखरामा कसरी ठग बनेर भाग्न बाध्य बने ?

सनसनीपूर्ण अर्को ठगी घटनाः

इमान्दार हुसेन पोखरामा कसरी ठग बनेर भाग्न बाध्य बने ?

hussain

२२ वर्ष अघि भारतको कोलकाताबाट पोखरा आएका सेख हुसेन गत १६ गते विभिन्न व्यक्ति र संस्थाको करोड रिन नतिरी फरार भएका छन् । सामान्य मजदुरबाट टायर मिस्त्री हुँदै हुसेनले ४ वर्ष अघि न्यूरोडमा रोयल ट्रेडर्स खोलेर टायल, मार्बल र निर्माण सामग्रीको व्यवसाय थालेका थिए । व्यवसाय राम्रै भएपछि उनले हालै चाउथेमा समेत पसल सञ्चालन गरेका थिए ।

२ छोरा र श्रीमतिसहित बस्दै आएका हुसेन ५ दिन अघि आफ्नै पसलको सटरमा नोटिस टासेर बेपत्ता भएपछि उनलाई रिन दिनेहरु छाँगाबाट खसेझैं भएका छन् । नोटिसमा हुसेनले तिनुपर्ने कूल रिन २ करोड ५२ लाख ९० हजार रुपैयाँ देखिएको छ ।

लामो समयदेखि हुसेनसँग आर्थिक कारोबार गरेकाहरु यतिबेला ३० र ४५ दिने चेक बोकेर बसेका छन् । तर रकम पाउने आश भने उनीहरुमा छैन । हुुसेनले लेखेको नोटिसअनुसार केही पीडितहरु प्रहरी प्रशासनसमक्ष कारवाहीको उजुरी गर्न समेत नसक्ने अवस्थामा छन् । उनले नामै किटेर ढुकुटी र ६० प्रतिशत मिटर ब्याज उल्लेख गरेपछि हुसेनलाई रिन दिनेहरु कानूनी उपचारको बाटो खोज्न असमर्थ भएका हुन् ।

हुसेनले सार्वजनिक गरेको नोटिसमा व्यक्ति र संस्था गरी २६ जनाको नाम उल्लेख गरिएको छ । जसमध्ये स्वर्णश्री सहकारी, शोभा दिदि, धरम दाई, प्रेम दाई, युवराज दाई, भरत गौतम र राजु गुरुङबाट ६० प्रतिसत मिटर ब्याजमा पैसा लिएको जनाइएको छ ।

त्यस्तै, सावित्री दिदिबाट लिएको १० लाख रुपैयाँ ३६ प्रतिसतमा ब्याजमा हो । जसमध्ये धरम दाईले ६० प्रतिसत मिटरमा ब्याजमा नभई चल्तीकै सयकडा ३ रुपैयाँ ब्याजमा १० लाख रुपैयाँ रिन दिएको बताए । उनी पनि चेक लिएर बसेका छन् । यसैगरी, विकास दाई र बाबा हार्डवयरको नाम ‘ढुकुटी खेलाउने’मा उल्लेख गरी त्यहाँबाट हुसेनले १५ र १२ लाख रुपैयाँ लिएका छन् ।

कानूनीरुपमा अवैध मानिने ढुकुटीबारे बाबा हार्डवेयरका सञ्चालक दिलिपराज श्रेष्ठले असहमति जनाए । उनी भन्छन्– ‘हुसेनले सहयोग गर्नुप¥यो भनेपछि अन्य व्यक्तिमार्फत उनलाई सहयोग गरेको हो, उनले नोटिसमा ढुकुटी भनेर उल्लेख गरेको पाएपछि आफै आश्चर्यमा छु । पुरानो चिनजान र व्यवसायीको नाताले हुसेनलाई सहयोग गरेको श्रेष्ठले जनाए । हुसेनसँग जानकारका अनुसार उनी केही वर्ष यता ढुकुटी भने खेल्दै आएका थिए ।

हुसेनको ढुकुटी कारोबारमा हरि र विकासको नाम छ । जसबाट उनले ७ र १५ लाख रुपैयाँ लिएका छन् । नोटिसमा रकम तिर्न जनाइएकामध्ये एक हुन् राजभण्डारी दाई । उनलाई कति तिर्न छ भनी उल्लेख नभएपनि उक्त व्यक्ति हरिकुमार राजभण्डारी हुन् ।

राजभण्डारीसँग चलनचल्तीकै ब्याज अनुसार हुसेनले ७ लाख रुपैयाँ लिएका हुन् । लामो समयसम्म एकअर्कालाई सहयोग गर्दै आएका दुईबीच पछिल्लो समय उक्त रकम लेनदेन भएको हो । हाल राजभण्डारी हुसेनसँग गरेको तमसुक बोकेर हिडेका छन् ।

स्वर्णश्री सहकारीबाट हुसेनले लिएको २० लाख रुपैयाँको ब्याज ६० प्रतिसत हो । उक्त सहकारीमा हुसेनले पहिलेदेखि कारोबार गर्दै आएको थियो । पछिल्लो समय ठूलै रकम आवश्यक परेपछि उनी पुनः सहकारी पुगे ।

२० लाख रुपैयाँ माग गरेपछि सहकारी पैसा जुटाइदिन लागेको थियो । तर हुसेनको व्यवसाय राम्रै सञ्चालन भएपनि २० लाख रुपैयाँ उपलब्ध गराउन नसकिने बताउँदै सहकारीका कर्जा अधिकृ राम गुरुङले अन्य व्यक्ति खोजिदिए ।

गुरुङ भन्छन्, ‘मैले ब्याजमा पैसा लगाउने मान्छे चिनाइदिएको हो, हुसेनको कारोबार नराम्रो पनि थिएन । र, उनले मिटर ब्याजमा पैसा लिएको साक्षी हुँ म ।’

तर सहकारीकै नामबाट ६० प्रतिसत ब्याजमा पैसा लिएको नोटिसप्रति उनलै असहमति जनाए । ‘पैसा दिने मान्छे खोजेर सहयोग गरेको हुँ, उनीहरुबीच के कति प्रतिसतमा कुरा भयो मलाई थाहा भएन तर सहकारीको नामबाट उनलाई २० लाख रुपैयाँ दिइएको छैन’ गुरुङले स्पष्ट पारे ।

हाल स्वर्णश्री र भीजन सहकारीका सञ्चालक हुसेनले उठाउन बाँकी रहेको रकमबाट कर्जा असुलउपर गर्ने ध्याउन्नमा रहेका छन् । स्वर्णश्रीमा हुसेनले तिर्न थप ६ लाख र भीजनमा ८ लाख रुपैयाँ बाँकी छ ।

फरार हुसेनका २ छोरामध्ये जेठो भिट्टु हुसेन नदीपुरस्थित पोखरा कलेज अफ म्यानेजमेन्टका विद्यार्थी हुन् । बीबीए अध्ययनरत भिट्टुले स्नातक तह पुरा नगरी कलेज छाडेका हुन् भने अर्का छोराले सृजना उच्चमाविबाट प्लस टु पास गरेका छन् ।

उनका सहपाठीका अनुसार दाजुभाई नै पढाइमा अब्बल थिए । अझ, जेठो भिट्टु पढाईसँगै प्रविधिमासमेत राम्रो दख्खल राख्थे । उनी प्रायः आफ्नै कोठामा दिनभर बस्थे, जहाँ उनको साथी थियो २ थान कम्प्युटर । भिट्टुलाई नजिकबाट चिन्ने स्रोतका अनुसार उनको संलग्नता बिटक्वाइनमा थियो । उनी दिनभर कम्प्युटरमार्फत बिटक्वाइन कारोबार गर्थे ।

करिब हप्ता दिन अघि भिट्टुले करिब ४५ लाख रुपैयाँ बिटक्वाइन कारोबारमार्फत प्राप्त गरेका थिए । र, उक्त रकम एक स्थानीय व्यापारीको रिन तिर्न खर्चेका थिए । उक्त व्यापारीको चर्काे दबाब खेप्न नसकेपछि सम्पूर्ण रकम उतै बुझाइएको थियो । स्रोत भन्छ, उक्त रकम सबैलाई धेरथोर तिर्न पाएका भए हुसेन भाग्दैनन् थिए । यद्यपि, उनै स्रोतले पनि हुसेनबाट ठूलै रकम उठाउन बाँकी छ ।

त्यसोत हुसेनले करोडौं रुपैयाँ रिन तिर्नमात्र हैन स्थानीय ८० जनासँग २६ लाख बढी रकम लिन पनि छ । जसअन्तरगत सबैभन्दा कम १ हजार ५५० र बढीमा ३ लाख रुपैयाँ रहेको छ । काकाको छोरा भुट्टो अलीसँग केही समय अघिसम्म हुसेनले साझेदारीमा व्यवसाय गरेका थिए । ४ वर्ष अघि हुसेन अलग भएपनि भुट्टोसँगको लेनदेन बाँकी नै थियो ।

अचानक भुट्टो फरार भएपछि हुसेन रिन तिर्नै नसक्ने अवस्थामा पुगेपछि फरार भएका हुन् । न्यूरोड र चाउथेमा रहेको ट्रेडर्सको मूल्य अधिकतम १० लाख रुपैयाँ आंकलन गरिएको छ । ट्रेडर्समा रहेका सामानहरु प्रायः बेकामे छन् ।

हुसेनले आफु फरार भएपनि १ वर्षभित्र सबैको रिन तिर्ने बताएका छन् । नोटिसलाई आधार मान्ने हो भने उनले ब्याज मिनाह गरिदिन अपील गरेका छन् । र, काठमाण्डौंमा रहेका आफन्तमार्फत बिस्तारै रिन तिर्ने उल्लेख गरेका छन् ।

हुसेनलाई लामो समयदेखि आर्थिक सहायता गर्दै आएका एक स्थानीयका अनुसार हुसेन ‘ठग्ने’ नियतका मान्छे होइनन् ।

केहीले उनलाई सडकमै पुग्ने गरी ठगेर आफु मालामाल भए । केहीले हुसेनलाई अप्ठ्यारो परेकोबेला मिटरब्याजमार्फत रिन दिएर झन् उठ्नै नसक्ने बनाए ।

पछिल्लो समय सँधै तनावमा देख्ने गरेको बताउँदै उनले भने ‘घर परिवारकै ज्यान खतरामा पर्ने ठानेर उनी भागेका हुन सक्छन् ।’ उनी भन्छन्, ‘मलाई हुसेन फर्केर आउछ र सबै रिन बिस्तारै तिर्छ भन्ने विश्वास छ ।’

समाधान ‘समय’ का लागि दीपक के श्रेष्ठको कभर स्टोरी साभार गरिएको  । पोखरामा ‘हुसेन लुट’ : मिटर ब्याज र ढुकुटीवालाकै पैसा झ्वाम

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ