लोमान्थाङमा तीजीको रौनक

लोमान्थाङमा तीजीको रौनक

tiji mela (1)

सुन्दर कुमार थकाली, मुस्ताङ । हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङ बजारमा परम्परागत तीजी मेला सुरु भएको छ । वर्षेनी लोमान्थाङ दरबारकै परिसरमा संञ्चालन गरिने मेला यसवर्ष लोमान्थाङ स्थित महाकरुना शाक्यपा गुम्बा विद्यालयमा सुरु गरिएको हो ।

ऐतिहासिक लोमान्थाङ दरवार भुकम्पले जीर्ण भएको र त्यसको पुननिर्माण हुँदै गरेकाले यसवर्ष गुम्बा विद्यालयमा सारिएको लामोन्थाङबाट सहकर्मी गौतम सुवेदीले जानकारी दिए । पौराणिक धार्मिक कथा अनुसार लामा दोर्जी सुनुको पुनरजन्म संग तीजी पर्व जोडिएको बताईएको छ ।

उपल्लो मुस्ताङको मौलिक संस्कृती र परम्परामा आधारित धार्मिक पर्व तीजी मेलामा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीय समुदायले सयुक्त रुपमा यो पर्व मनाउने चलन छ । ३ दिन सम्म लगातार संञ्चालन हुने तीजी मेला सोमवार सकिने छ । यो पर्व लामा दोर्जी सुनुको पुनर्जन्मसंग जोडिएको उपल्लो मुस्ताङका स्थानीयहरु बताउछन् ।

यो धार्मिक पर्व सदियौकाल देखिको मुस्ताङी राजखलकका बिष्ट समुदाय र ६ गाबिसमा बसोबास गर्ने लोहा र गुरूङ समुदायका मानिसहरुले एउँटै मञ्चमा भेलाभई यो पर्व मनाउने गरेको प्रदेश सभासद ईन्द्रधारा बिष्टले जानकारी दिए ।उनका अनुसार तीजी पर्व १५औ शताब्दी देखि धार्मिक तथा सांस्कृतिक रुपमा बिशेष प्रकारले मनाईदै आएको उल्लेख गरे ।उनले तिजि पर्वको पहिलो दिन स्थानियले मान्दै आएको बुद्धिस धर्म अनुसार बिभिन्न देबी देबताका मुकुट लगाएर फरक—फरक नृत्यहरू प्रस्तुत गरिने जनाए ।

तीजी पर्वमा लगातार ३ दिनसम्म लामाहरुले धार्मिक रुपमा पुजाआजा र लाखे नाच प्रस्तुत गर्ने चलन छ ।सोही क्रममा स्थानीयले बिभिन्न प्रकारका लोकसंस्कृतिक झल्काउने सांस्कृतिक देवी देवताका नृत्यका साथसाथै अन्य गतिबिधि गरेर यो पर्वलाई हर्षउल्लासका साथ मनाउने चलन रहेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए ।उनका अनुसार यो पर्वले उपल्लो मुस्ताङको धार्मिक संस्कृतिलाई विश्वमाझ चिनाएको दावी गर्दे तीजी विश्व चर्चित मेला भएको बताए ।

लोमान्थाङ दरवारमा संञ्चालन हुने तीजी पर्वमा उपल्लो मुस्ताङमा गएका विदेश पर्यटकले समेत रुचिपुर्वक अवलोकनका साथसाथै फोटो खिच्ने गरेको पाईन्छ । यस तीजी मेलामा विभिन्न देवी देउताका नृत्य र पुजापाठ गर्नाले संन्सारिक सुख प्राप्ति हुने, प्राकृतिक प्रकोप र अनिष्ट रोकिने र मानिसको आत्म सुद्धि हुने धार्मिक जनबिश्वास रहिआएको छ । ऐतिहाँसिक मुस्ताङी पूर्व राजा जिग्मे परवल विष्टको संरक्षकत्वमा संञ्चालन हँुदै लामोन्थाङको तीजी मेला राजाको देहवसानपछि विष्ट समुदायले सम्हाल्दै आएका छन् ।

यसपर्वका अवसरमा लोमान्थाङको आन्तरिक तथा बाह्य पर्यटक प्रवर्धनमा महत्वपूर्ण योगदान पु¥याउने धार्मिक बहुचर्चित तीजि पर्वलाई प्रदुषणमुक्त बनाई यहाँ आउने पर्यटकलाई लोभ्याउन धार्मिक तथा सास्कृतिक महत्वका गतिविधि प्रस्तुत गर्ने चलन छ ।

यसका लागि अन्नपूर्ण संरक्षणक्षेत्र कार्यालय, संरक्षण क्षेत्र व्यवस्थापन समिति एक्यापको सक्रियतामा स्थानीय आमा समुह, युवा क्लव र बिभिन्न संघ संस्थाले समन्वय गरेर तीजी पर्वलाई भब्य र सभ्य रुपमा संञ्चालन गर्न सरसफाई तथा वातावरण सुधार अभियानलाई यसपर्ष पनि निरन्तरता दिएका छन् ।

फरक भुगोल,तिब्बतीयन कलात्मक भेषभुषा अनी बिबिध साँस्कृतीक कार्यक्रमलाई नियाल्न तल्लो मुस्ताङ देखी जिल्ला बाहिरका मानिसहरू समेत लोमान्थाङ दरबारमा जाने गरेका छन् । विश्वकै महत्वपुर्ण संम्पदा सुचिमा परेको उपल्लो मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आर्कषण बढ्दै जान थालेको लामान्थाङ गाउँपालिका अध्यक्ष सुवर्ण कुमार विष्टले जानकारी दिए । उनका अनुसार उत्तरी चीन संग जोड्ने कोरला सडक विस्तार तथा स्तरोन्नती भईरहेकाले यातायात सुविधा सहज हुँदै जान थालेको जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ