पश्चिमाञ्चल अस्पतालको भवन रेट्रो फिटिङ हुने, यस्तो बन्दै छ अस्पताल

पश्चिमाञ्चल अस्पतालको भवन रेट्रो फिटिङ हुने, यस्तो बन्दै छ अस्पताल

Hospital-building-1-

पोखराको ठुलो सरकारी अस्पताल पश्चिमाञ्चल अस्पतालको पुराना भवनलाई रेट्रो फिटिङ गरी पुर्ननिर्माण गर्ने टेण्डर प्रक्रियामा रहँदा अस्पतालको नयाँ भवनको स्केच तयार गरिएको छ । रेट्रो फिटिङपछि अस्पतालको भवन पूर्ण रुपमा नयाँ स्वरुपमा देखिने छन् ।

छ दशक अघि निर्माण गरिएको अस्पतालका भवनहरु तीन वर्ष अघि गएको भूकम्पले जीर्ण बनेका थिए । जीर्ण अवस्थाका भवनलाई नयाँ स्वरुप दिन अस्पताल प्रशासनले रेट्रो फिटिङ गर्ने तयारी गरेको हो । त्यसको लागि स्वास्थ्य मन्त्रालय मार्फत बेलायती संस्था डिएफआईडी (डिपार्टमेन्ट अफ इन्टरनेशनल डेभलपमेन्ट) ले मर्मत सम्भार गरिदिने छ । मन्त्रालयले त्यसको लागि आवश्यक टेण्डर प्रक्रियामा लगिसकेको छ ।

टेण्डरको फाईनल प्रक्रिया भने टुंगिसकेको छैन । तर भवनको नयाँ स्वरुपको स्केच भने शनिबार मात्रै सार्वजनिक गरिएको छ । भएका पुराना भवनलाई मर्मतसँगै दुईवटा भवन नयाँ थपिने छ । विरामी तथा सर्वसाधारणको लागि क्यान्टिन तथा अस्पतालको लाईब्रेरी निर्माण गरिने छ । ६८ करोड अनुमानित गरिएको बजेट बढेर पुग्ने अनुमान समेत गरिएको छ । अस्पतालकै केही कर्मचारीले भने पुरानो भवनलाई रेट्रो फिटिङ भन्दा नयाँ भवन नै निर्माण गर्नुपर्नेमा जोड दिदै आएका छन् ।

डिएफआईडीले भने नयाँ भवनमा नभई पुरानो जीर्ण भवनलाई मर्मत सम्भारमा खर्च गर्ने अस्पताल प्रशासनले उल्लेख गरेको छ । शहरी विकास तथा भवन निर्माण कार्यालयले अस्पतालको आवश्यक स्वीकृति दिएपछि स्वास्थ्य मन्त्रालयले टेण्डर प्रक्रियामा लैजाने तयारी गरेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले बताए । ‘पटक पटक चेकजाँच गरेपछि मात्रै फाईनल रिपोर्ट तयार गरिएको हो ।’

उनले भने–फाईनल रिपोर्ट पेश भएपछि मन्त्रालयले टेण्डरको लागि अगाडि बढाएको छ ।’ं मर्मत सम्भार गर्न नेपाल हेल्थ सेक्टर सर्पोट प्रोग्राम (एनएचएसएसपी)सँग गरिसकिएको छ । मर्मत सम्भार आवश्यक दुई संस्थाबीच सम्झौता भईसकेको छ । अस्पताल भवन मर्मत सम्भारको लागि मन्त्रालयको रेडबुकमा परिसकेको छ । ‘हामीले यहाँबाट केही पनि गर्दैनौ । सबै केन्द्रबाट नै सम्झौता भई काम अगाडि बढेको छ ।’ प्रतिष्ठानका निर्देशक डा. आचार्यले भने ‘जस अपजस सबै केन्द्रले नै लिन्छ । हामीले केवल भवन उपलब्ध गराईदिएका हौं ।’

स्वास्थ्य मन्त्रालय, डिएफआईडी र नेपाल हेल्थ सेक्टर सपोर्ट प्रोगाम नामक संस्थाले ५-७ पटक चेकजाँच गरेपछि मात्रै फाईनल रिपोर्ट तयार गरिएको उनले जानकारी दिए । उनले प्रक्रिया नै ढिलो भएकोले टेण्डर प्रक्रिया पनि ढिलो भएको स्पष्ट पारे । ‘फाईनल रिपोर्ट बुझाईसकेको भए अहिलेसम्म टेण्डर भईसक्थ्यो ।’ उनले भने–‘तर प्रक्रिया ढिलो भएकोले टेण्डर प्रक्रिया भने दुईमहिना भन्दा बढी ढिलो हुन पुग्यो ।’

५ सय शैथ्याको दरबन्दीसहितको अस्पताल भएपनि अहिले केवल ३५१ शैथ्या क्षमतामा मात्रै सञ्चालित छ । रेट्रो फिटिङको लागि आउने बजेटले नयाँ बनाइएको अवस्थामा १ हजार बेड क्षमताको अस्पताल सञ्चालन गर्न सकिने कर्मचारीहरु बताउँछन् ।

‘केन्द्रबाटै सबै काम हुन्छ ।’ उनले भने–‘टेण्डर निकाल्नेदेखि आफै आएर काम उनीहरुले नै गर्छन् ।’ रेट्रो फिटिङले पुरानो भवन नयाँ भवनजस्तै बलियो हुने सम्बन्धीत निकायले भनेको निर्देशक डा.आचार्यको भनाई थियो । २०७२ वैशाख १२ र २९ गते गएको भूकम्पले पुराना भवनलाई कमजोर बनाईदिएको छ ।

अस्पतालकै पुरानो संरचनामा स्वास्थ्य सेवा यथावत छ । २०१२ सालमा स्व.बीरसिंह गुरुङले सोल्जर्स बोर्ड अस्पतालको रुपमा शुरुवात गरे । २०१९ सालमा जिल्ला अस्पतालमा रुपान्तरण भयो । २०३२ सालमा अञ्चल अस्पताको रुपमा परिणत हुन पुग्यो । क्षेत्रीय अस्पतालको रुपमा रुपान्तरण हुदैं १६ जिल्लाको मुख्य अस्पतालको रुपमा परिचित भएको थियो ।

२०७१ सालमा अस्पतालमा पाँचसय बेड क्षमताको स्वीकृति प्राप्त भएको थियो । तर अहिले ३ सय ५१ बेड मात्रै सञ्चालित छ । २०७२ सालमा क्षेत्रीय अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको हो । अस्पताल परिसरमा सुत्केरी तथा शिशुको लागि छुट्टै ब्लक निर्माणाधिन छ ।

  • गन्थन डटकमबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ