त्रिभुवन विमानस्थलमा के हो ‘जिरो टु’ र ‘टु जिरो’ ? एयर ट्राफिक जाम नै मुख्य कारण

त्रिभुवन विमानस्थलमा के हो ‘जिरो टु’ र ‘टु जिरो’ ? एयर ट्राफिक जाम नै मुख्य कारण

us-bangla

काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा एउटा मात्रै धावनमार्ग (रनवे) छ । सो रनवेका दुईवटा ‘हेडिङ’ अर्थात मुखहरु छन् । संसारभरिका जुनसुकै एयरपोर्टमा पनि एउटा रनवेका दुईवटा ‘हेडिङ’ हुन्छन् । र, दुबै हेडिङबाट विमान उडान वा अवतरण गर्न सकिन्छ । यसअर्थमा नेपालको विमानस्थलमा पनि दुबैतिरबाट अवतरण गर्न पाइन्छ, एउटा मात्रै मुखबाट अवतरण हुनुपर्छ भन्ने छैन ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको ०२ रनवे हेडिङ कोटेश्वरतर्फको भागमा पर्छ । यसको विपरीत रनवे २० को हेडिङ चाहिँ पशुपति क्षेत्रतर्फ पर्छ । २० हेडिङबाट विमान अवतरण गर्नका लागि उत्तरतर्फ पशुपति क्षेत्रतर्फबाट आउनुपर्ने हुन्छ भने ०२ हेडिङबाट अवतरण गर्दा ललितपुरतिरबाट उपत्यका छिरेको विमान कतै नघुमी सोझै विमानस्थलमा प्रवेश गर्न सक्छ ।

बारा हुँदै ललितपुरतिरबाट उपत्यका छिर्ने अन्तरराष्ट्रिय एयरलाइन्सका विमानहरु प्रायः कोटेश्वरतर्फको ०२ हेडिङबाटै रनवे मा ओर्लिन्छन् र जमिनमा दौडन्छन् । २० बाट आउने विमानहरु उत्तरतर्फको हेडिङबाट रनवेमा दौडन्छन् ।

एयर ट्राफिक कन्ट्रोल रुमसँगको सहमति लिएर कोटेश्वरतर्फको विकल्पमा पशुपति क्षेत्रतर्फको २० हेडिङबाट पनि विमान अवतरण गरिनुलाई अवैधानिक मानिँदैन ।

तर, विदेशबाट आउने जहाजहरु प्रायः कोटेश्वरतिरको ०२ हेडिङबाटै अवतरण हुनुका पछाडि दुईवटा कारण छन् । पहिलो, विमानले घुमिरहनुपर्दैन । र, दोस्रो ०२ हेडिङ रातिका लागि पनि सहज छ । किनभने ०२ हेडिङका लागि ‘इन्टु्रमेन्ट एप्रोच’ जडान गरिएको छ । पशुपतिनाथतिरको २० हेडिङबाट अवतरण गर्दा भने त्यहाँ इन्ट्रुमेन्ट एप्रोच छैन ।

इन्ट्रुमेन्ट एप्रोच हुनुको फाइदा के हो भने रनवेमा बत्तीहरु पर्याप्त रुपमा जडान गरिएका हुन्छन् र राति पनि ल्याण्ड गर्नका लागि सजिलो हुन्छ । अन्यथा, रनवेको जुन मुखबाट अवतरण गरे पनि त्यसलाई अवैधानिक अवतरण भन्न चाहिँ मिल्दैन । त्यसलाई पनि वैधानिक अवतरण नै मानिन्छ ।

युएस बंगला एयरको विमान राति अवतरण भएको नभई दिउँसै भएकाले यसमा ०२ वा २० जहाँबाट अवतरण भए पनि फरक नपर्नुपर्ने विज्ञ बताउँछन् ।

आखिर कोटेश्वरतर्फबाट ओर्लनुपर्ने विमान किन त्यहाँबाट ओर्लिएन र पशुपति क्षेत्रतर्फ लाग्यो ? एयर ट्राफिक कन्ट्रोल रुमसँगको सम्वाद सुन्दा एयर ट्राफिक जामका कारण यस्तो समस्या आएको हो । त्रिभुवन विमानस्थलमा बारम्बार एयर ट्राफिक जामको समस्या हुने गरेको छ । हामीसँग एउटा मात्रै अन्तरराष्ट्रिय एयरपोर्ट हुनुको पीडा नै यही हो ।

युएस बंगला विमानबारे एकजना अनुभवी नेपाली पाइलट अनलाइनखबरसँग भन्छन्- ‘एयर ट्राफिक कन्ट्रोल रुम र चालकसँगको सम्वादमा चालकले ०२ बाट ट्राफिक जाम भएको अवस्थामा पशुपति क्षेत्रतर्फको रनवे २० हेडिङबाट अवतरण गर्न अनुमति मागेको सुनिन्छ । र, त्यहाँबाटै भए पनि अवतरण गर्न पाइने अनुमतिसमेत दिइएको समेत सुनिएको छ । त्यसरी अनुमति पाएको अवस्थामा ०२ वा २० जहाँबाट पनि अवतरण गर्दा पनि फरक पर्दैनथ्यो ।’

तर, ती पाइलटको प्रश्न छ – ‘०२ को साटो २० रनवे प्रयोग गर्नु अवैधानिक होइन । तर, प्रश्न यो छ कि विमानले अवतरणका क्रममा रनवेको सेन्टर भाग किन समातेन र छेउतिर गएर नेपाल वायु सेवाको ह्याङगरमा झण्डै-झण्डै ठोक्किन पुग्यो ?’

उनका अनुसार सो ह्याङगरमा विमान ठोक्किएको भए पार्किङमा रहेका विमानहरुमा ठूलोे क्षति पुग्ने थियो । ती विमान र फ्युलमा आगो लागेको भए त्रिभुवन विमानस्थलमा भयंकर क्षति हुने थियो ।

दुर्घटनाको रहस्य अब ‘ब्ल्याक बक्स’लाई जिम्मा

दुर्घटनापछि सार्वजनिक भएको एयर ट्राफिक कन्ट्रोल रुप र विमान चालकवीचको सम्वादले रनवे ०२ र २० का बारेमा केही खुलासा अवश्यै गरेको छ । तर, पशुपति क्षेत्रतर्फको २० हेडिङ प्रयोग गर्न दिइएको निर्देशनअनुसारै सही, बंगला विमान किन सकुशल अवतरण हुन सकेन ? यसका लागिचाहिँ सो विमानभित्रै रहेका चालकवीच आपसमा भएको सम्वाद नै सुन्नुपर्ने हुन्छ ।

चालकहरु दुर्घटना परे पनि विमानभित्र रहँदा ती चालकले गरेको सम्वाद सीभीआर एवं ब्ल्याक बक्समा सुरक्षित छ । विमान जल्दा वा समुद्रमा डुब्दा पनि ब्ल्याक बक्सभित्रको आवाज सुरक्षित नै रहने गर्छ ।

शायद त्यहाँ रहेको चालकको सम्वाद सुनिसकेपछि अब पत्ता लाग्ने छ कि रनवे २० बाट अवतरण गर्न लाग्दा के समस्या पर्‍यो र युएस बंगला विमानले रनवेको सेन्टर भाग समात्न सकेन बिमानस्थलमा थेच्चारिन पुग्यो र ह्वारह्वारी जल्यो ?

– अनलाइनखबर डटकमबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ