पोखरा : प्रतिनिधिसभा सदस्यको लागि कास्की २ मा भएको उपनिर्वाचनमा २१ जना चुनावी मैदानमा थिए। नेकपाकी विद्या भट्टराई अधिकारीले २४ हजार ३ सय ९४ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले १५ हजार ९ सय ९१ मत मात्रै ल्याउन सके।
नेकपाकी भट्टराई र उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पौडेलले मात्र जम्मा खसेको मतको १० प्रतिशत मत कटाए। निर्वाचन ऐन अनुसार जम्मा खसेको मतको १० प्रतिशत नकटाउने उम्मेदवारको जमानत जफत हुनेछ। यहाँका २१ उम्मेदवारमध्ये १९ जना उम्मेदवारको जमानत जफत भएको छ। यहाँ चर्चामा रहेकी साझा पार्टीकी रजनी केसीले पनि आफ्नो जमानत जोगाउन सकिनन्।
यहाँ १, ४, ५ ल्याउने उम्मेदवार पनि छन्। यहाँ केही उम्मेदवारको भन्दा बदर मत धेरै छ। कास्कीमा ६०० मत बदर भएको निर्वाचन कार्यालयले जानकारी दियो। तेस्रो भएका समाजवादी पार्टीका धर्मराज गुरुङले एक हजार नौसय २२ मत ल्याए। त्यस्तै, राप्रपाका रोमबहादुर भण्डारीले एक हजार एकसय ५३ मत ल्याए। साझाकी रजनी केसीले नौ सय ४२ ल्याइन।
गंगा मल्ल हलो चिन्हकी उम्मेदवारले ९५, हँसिया तारा चुनाव चिन्ह भएका टेकनारायण भण्डारीले ५१, घर चुनाव चिन्हका पूर्ण बहादुर रानाले ३५, कुखुराको भाले चुनाव चिन्हका रियाज गुरुङले १३८ मत ल्याए। त्यसैगरी, करुवा चिन्हका चन्द्रबहादुर रानाभाटले २८, जरायो चिन्हका वीरबहादुर विकले ११, किताब चिन्हका उमनाथ गौतमले एक, कमलजंग कुँवर शंख चिन्हले ६१, विवेकशीलकी जमुना शर्माले ७७ मत, क्यामेरा चिन्हका दीपक रेग्मीले ५, कलम चिन्हका नवराज बास्तोलाले १८, आँप चिन्हका यज्ञप्रसाद पंगेनीले १ मत ल्याए। त्यस्तै, डोजर चिन्हका रनबहादुर दमैले ४, माहुरी चिन्हकी लक्ष्मी कुमारी भूजेलले ४, सुनिल बहादुर कोइराला टेबुल चिन्हले ११ मत र क्रिकेटको ब्याट चुनाव चिन्हका सुनिल भूषालले ४ मत ल्याए।
