ब्युटीपार्लर हिँडेकी बेहुली गहना लिएर गैंडाकोटबाट फिल्मी शैलीमा बेपत्ता

ब्युटीपार्लर हिँडेकी बेहुली गहना लिएर गैंडाकोटबाट फिल्मी शैलीमा बेपत्ता

gaidakot

गैंडाकोट नगरपालिकामा विवाहको दिन बेहुली गरगहना र नगद लिएर गायब भएकी छन् । शनिबार विवाहको कार्यक्रम हुँदै गर्दा ब्यूटी पार्लर जान्छु भनेर हिँडेकी बेहुली उतैबाट फरार भएपछि बेहुला पक्षले प्रहरीमा उजुरी हालेका छन् ।

दुई महिनादेखि गैंडाकोट–४, लखनचोकको डेरामा एक्लै बस्दै आएकी गोरखा घर बताउने २८ वर्षीया सलिना खनाल ४ लाख रुपैयाँ बराबरको गरगहना र १ लाख नगद लिएर फरार भएको बेहुलाको परिवारले बताएको छ । तर प्रहरीमा भने ३ लाख बराबरको गरगहना र पटक पटक गरी दिइएको करिब १ लाख नगद लिएर सलिना फरार भएको उजुरी प्राप्त भएको इलाका प्रहरी कार्यालय,गैंडाकोटका इन्सपेक्टर लक्ष्मी खनालले जानकारी दिए  । जनआस्थामा समाचार छ ।

परिवारमा कोही पनि नभएको बताउँदै आएकी सलिनाको गोरखामा आफ्नी भाउजू रहेकाले त्यहिँको मन्दिरमा शनिवार विवाह गर्ने आग्रहबमोजिम बेहुला पक्षले तयारी गरेको थियो । बिहान करिब ९ बजे बेहुली पार्लर गएर नफर्केपछि बेहुलापक्षको ओठ तालु सुकेको हो । लामो समयसम्म नफर्केपछि आफूहरूले फोन गरेको तर ‘पार्लरमा छु,अहिले फोन उठाउन मिल्दैन’ भनेकी सलिनाले त्यसपछि मोबाइल अफ गरेको केटा पक्षले बताएको छ । लगत्तै खोजतलास गरे पनि विहेको लागि तयारी गरिरहेकी बेहुली एकाएक गायब भएकी हुन् ।

सलिनाको गैंडाकोट–४ का ईश्वरीप्रसाद अर्यालसँग शनिवा विवाह पक्का गरिएको थियो । आफू र बेहुली खनालबीच एक महिनादेखि निरन्तर कुराकानी भइरहेको बेहुला अर्यालले बताएका छन् । सलिना र कतारमा रहेका ईश्वरीको चिनजान र भेटघाट नजिकैकी छिमेकी दिदीले गराएकी हुन् ।

सलिनाले विवाहको लागि तयार पारिएको सुनका गहनाहरूमध्ये इण्डियन मंगलसूत्र,तिलहरी,नत्थि, झुम्कासहित एक लाख नगद लिएर गएको बताइन्छ । बेहुलीको शनिबारअघिको भनाई उद्धृत गर्दै बेहुलापक्षले भनेको छ ‘सलिनालाई उनको परिवारले हेप्ने गरेको भन्थिन् । त्यसैले परिवारलाई देखाउनको लागि भए पनि गरगहना लगाएर जान्छु भनेपछि आफूहरूले अघिल्लो दिन नै गरगहना उनलाई दिएको हो ।’

तर शनिवारपछि उनका सानो बुबा भन्ने मान्छेले पनि फोन नउठाएको र भाउजू भनिएकी गोरखाकी महिलाले सलिनासँग आफ्नो कुनै नाता नरहेको बताएकी छन् । भाउजूले यतिखेर आफू गोरखाबाट बाग्लुङ पुगेको फोनमा बताएको बेहुलाका एक जना नातेदारले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds