६२ वर्षिय बृद्धा र युवतीलाई बलात्कार गर्ने २ सार्वजनिक, अर्का सामुहिक बलात्कारमा सामेल २ पक्राउ

६२ वर्षिय बृद्धा र युवतीलाई बलात्कार गर्ने २ सार्वजनिक, अर्का सामुहिक बलात्कारमा सामेल २ पक्राउ

balatkari

काठमाडौं । छुट्टाछुट्टै स्थानमा एक वृद्धा र एक किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

मंगलबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पत्रकार सम्मेलन गरी ६२ वर्षीया (एकल वृद्धा) र १८ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा दुई युवालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

फागुन २६ गते राति गन्यापधुरा–२ का ३२ वर्षीय केशव लुहारले सोही ठाउँकी ६२ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ गरी हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । लुहारले मदिरा सेवन गरी धम्काएर बृद्धालाई उनकै घरमा बलात्कार गरेको प्रहरी नायव उपरीक्षक जोशीले जनाए।

यस्तै, फागुन २६ मै बलात्कारको आरोपमा पक्राउ परेका बैतडीको पुरचौंडी नगरपालिका–२ घर भई हाल कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ बस्ने २५ वर्षीय नरेन्द्रबहादुर कुँवरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

कुँवरले कञ्चनपुरको दैजीबाट बझाङको गाडीमा चढाइदिन्छु भनी ना ७ ख १५९० नम्बरको गाडीमा १८ वर्षीया किशोरीलाई डडेल्धुराको जोगबुढा पु¥याई एक होटलमा राखेर बलात्कार गरेको प्रहरीले जनाएको छ।

फेरि सामूहिक बलात्कार, पाँच युवकले युवतीलाई बन्धक बनाएर बलात्कार, २ आरोपी पक्राउ

सप्तरीको एटहरी विष्णुपुर गाउँपालिकामा ३१ वर्षीया महिलाको सामूहिक बलात्कार भएको घटनाको २४ घण्टा नबित्दै जिल्लामा अर्को सामूहिक बलात्कारको घटना भएको छ । जिल्लाको शम्भुनाथ नगरपालिका ३ कचनदाहाकी १८ वर्षीया युवतीलाई आइतबार राति स्थानीय पाँच युवकले गहुँखेतमा लगेर बन्धक बनाई चार घण्टासम्म सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

घटनाका मुख्य २ आरोपीलाई प्रहरीले आइतबार राति नै नियन्त्रणमा लिएको छ । अन्य तीन जनाको खोजी भइरहेको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी दिए ।

छिमेकी घरमा भइरहेको बिहे कार्यक्रममा आमासहितका परिवारका सदस्य गएका बेला बलात्कृत युवती औषधि किन्न घर नजिकैको पसलतर्फ गएका थिइन् । औषधि खरिद गरी फर्कने क्रममा स्थानीय दुई युवकले उनलाई बाटोबाटै मुख थुनेर नियन्त्रणमा लिँदै बस्ती नजिकैको गहुँ खेतमा लगेको पीडित युवतीकी आमाले बताइन् । गहुँ खेतमा लगेर दुबैजना युवकले छोरीलाई निवस्त्र गरी पालैपालो बलात्कार गरेको उनकी आमाले बताइन् ।

‘मलाई निवस्त्र पारी घरछेउकै २ जनाले पालैपालो बलात्कार गरे,’ पीडित युवतीले भनिन्, ‘उनीहरूले बलात्कार गरिसकेपछि फोन गरेर थप ३ जना साथीलाई बोलाए, फोन गरी बोलाएर आएका तीन जनाले पनि मलाई बलात्कार गरे ।’ सुरुमा २ जनाले बलात्कार गरी फोन गरेर अन्यलाई बोलाउन खोज्दा आफूलाई उनीहरूले कुटपिट गरेको उनले बताए । ‘हल्ला गरे ज्यान मारिदिने भन्दै पछि आएका तीन जनाले पनि बलात्कार गरे,’ पीडित युवतीले भनिन् ।

राति ८ बजे औषधि किन्न गएकी ती युवतीलाई मध्यराति १२ बजेसम्म आरोपीहरूले बन्धक बनाएर गहुँ खेतमा बलात्कार गरेको प्रहरीको भनाइ छ । छिमेकीको घरमा बिहेको कार्यक्रममा गीत गाउँदै गरेकी युवतीकी आमालाई अन्य युवतीहरूले तिम्रो छोरीलाई उठाएर गहुँ खेततर्फ लगेको बताएपछि उनी छोरी खोज्न निस्कएकी थिइन् । खोज्दै जाने क्रममा गाउँकै विद्यालयको चौर नजिकैको गहुँ खेतमा पुगेर छोरीको नाम लिएर पटकपटक आवाज दिँदा छोरीले पनि आवाज दिएपछि आफू छोरी भएको स्थानमा पुगेको युवतीकी आमाले बताइन् ।

‘गहुखेतमा छोरी निवस्त्र थिइन्,’ आमाले भनिन्, ‘मेरो सातो गयो तर जसोतसो उठाएर घर ल्याई प्रहरीमा खवर गरें ।’ युवतीलाई बन्धक बनाई पाँच जनाले बलात्कार गरेको घटनाबारे जानकारी पाउनासाथ गएको प्रहरी टोलीले आरोपी पाँच जनामध्ये मुख्य आरोपी दुई जनालाई आइतबार राति नै नियन्त्रणमा लिएको एसपी सिंहले जानकारी दिए । पक्राउ गरिएका दुबै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । अन्य तीन जना आरोपीको खोजीका लागि प्रहरी टोली र सादापोसाकका प्रहरी परिचालन गरिएकोउनले बताए ।

पीडित युवतीलाई आइतबार राति नै स्वास्थ्य परीक्षणका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज ल्याइएको छ । उनी स्वास्थ्य परीक्षणपश्चात सोमबार साझ घर फर्किएकी छन् । युवतीकी आमाका अनुसार युवतीको ढाडमा चोट लागेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ