तनहुँको भानुमा नरभक्षी चितुवाको त्रास: चितुवा नियन्त्रणमा लिन जंगलमा पासो संगै क्यामरा जडान

तनहुँको भानुमा नरभक्षी चितुवाको त्रास: चितुवा नियन्त्रणमा लिन जंगलमा पासो संगै क्यामरा जडान

Bhanu Chitiwa Camera ra Paso

किरण श्रेष्ठ, तनहुँ । तनहुँको भानु नगरपालिकामा नरभक्षी चितुवाले बालबालिकामाथि आक्रमण गर्ने क्रम दिनप्रतिदिन बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय तनहुँको समन्वयमा नरभक्षी चितुवाको नियन्त्रणका लागि क्यामराबाट ट्रयाप गरिने भएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष काठमाडौँबाट क्यामरा ल्याएर मंगलबार जडान गरिएको तनहुँका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । उनले भने कोषबाट दुई जना प्राविधिकहरुले जङ्गलमा क्यामरा जडान गरेको प्रजिअ शर्माले बताए ।
‘भानु नगरपालिका क्षेत्रमा चितुवाको आक्रमणलाई नियन्त्रण गर्न कदम चालेका छौँ, क्यामरा जडानले चितुवाको नियन्त्रण गर्न सकिन्छ भन्ने अपेक्षा लिएका छौँ,’ शर्माले भने। भानुको तिलान्कोटे जङ्गल, पाउदुरे खोला, घटना भएको नजिक र रिठ्ठाबोट गाउँमा क्यामरा जडान गरिएको छ ।
स्थानीय, सशस्त्र र जनपद प्रहरीको टोली तीन दिनसम्म खोजी गर्दा समेत चितुवालाई नियन्त्रणमा लिन नसकेपछि क्यामराबाट नियन्त्रण गर्ने प्रवन्ध मिलाइएको डिभिजन वन कार्यालयले जनाएको छ । क्यामरा ट्रयापबाट चितुवाको नियन्त्रण गर्न सहज हुने भएपछि क्यामरासँगै लठ्याउने सामग्रीहरु समेत ल्याइएको डिभिजन वन कार्यालय तनहुँका वन डिभिजन अधिकृत केदार बराले जानकारी दिए ।
‘क्यामराको नजिकबाट कुनै पनि जनावर हिडेको भए क्यामराले फोटो लिने र लठ्याउने सामग्रीको माध्यमबाट चितुवाको नियन्त्रण गर्न सकिनेछ,’ बरालले भने ‘यसको माध्यमबाट चितुवालाई समात्न सके चिडियाखानामा लगेर राख्ने प्रवन्ध मिलाइनेछ।’

सर्वसाधारणलाई सावधानी अपनाउन तनहुँ प्रशासनको अपिल

जिल्ला प्रशासन कार्यालय तनहुँले भानु नगरपालिका २, ३ र ४ वडामा चितुवाले आक्रमण गरी मानवीय क्षति पुर्‍याउन थालेपछि आम सर्वसाधारणलाई सावधानी अपनाउन अपिल गरेको छ । सोमबार प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले एक प्रेस विज्ञाप्ति जारी गरी स्थानीयलाई उक्त अपिल गरेका हुन् ।

भानु नगरपालिकाको क्षेत्रमा विगत दश महिनादेखि चितुवाले मानिसलाई आक्रण गरी ज्यानै लिन थालेको छ । यो अवधिमा तीन जान बालबालिकाले ज्यान गुमाएका छन् भने एक बालिका घाइते भएकी छन् ।

चितुवाको आक्रमणकबाट २०७४ साल फागुन १ गते १ जना, २०७५ साल कात्तिक २९ गते १ जना र मंसिर १५ गते शनिबार साँझ १ जनाले ज्यान गुमाएका छन् भने मंसिर १ गते चितुवाकै आक्रमणबाट १ जना बालिका घाइते हुन पुगेकि छन् ।

त्यस्तै, चितुवा आक्रमणबाट मृत्यु भएका २ जना बालबालिकाको परिवारलाई रु १०/१० लाख राहत प्रदान गरिसकिएको छ भने शनिबार चितुवा आक्रमणबाट ज्यान गुमाएका भानु २ ढल्केवरका १० बर्षीय अमृत गुरुङको परिवारलाई तत्काल राहत स्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराइएको र बाँकी ९ लाख ५० हजार रुपैयाँ राहतको लागि सिफारिस गरी पठाइएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी गराएका छन् ।

नरभक्षी चितुवाको आक्रमणबाट भएको मानवीय क्षतिलाई गम्भिर रुपमा लिई विगित देखिनै नेपाल प्रहरी, सशस्त्र प्रहरी, सशस्त्र वन रक्षक, राष्ट्रिय प्रकृति संरक्षण कोषको डार्टिङ प्रविधि सहितको चितवन राष्ट्रिय निकुञ्जको उद्धार टोली, सदर चिडियाखाना जवलाखेलको उद्धार टोली समेतलाई परिचालन गरी नियन्त्रणको लागि विभिन्न प्रयासहरु भैरहेको तर चितुवा नियन्त्रणमा लिन सकिएको छैन ।

त्यस चितुवाको नियन्त्रणको लागि स्थानीय बासिन्दाहरुको सहयोग र परिचालन समेतबाट खोर बनाई प्रत्येक साँझ बाख्रा सहितको पासो थाप्ने प्रयास भैरहेको तनहुँ प्रशासनले जनाएको छ । सामुदायिक वन उपभोक्ता समुहबाट वनक्षेत्रको झाँडी सफा गर्ने, साँझ विहानको समयमा प्रहरी गस्ती परिचालन गर्ने, वन कार्यालय र नगरपालिका मार्फत सचेतना कार्यक्रम गर्ने कार्य भईरहेको बताइएको छ ।

चितुवाको वास्तविक अवस्था थाहा पाउन चितुवनको दिशा र रौं समेतको परिक्षणका लागि पठाउने व्यवस्था मिलाइएको छ । साथै चितुवा नियन्त्रणमा सहयोग पुर्‍याउने व्यक्तिलाई भानु नगरपालिकाबाट उचित पुरस्कारको व्यवस्था समेत गरिने भानु नगरपालिकाका मेयर उदयराज गौलीले बताए ।

चितुवा नियन्त्रण नआएसम्म सुरक्षा फौज र स्थानीय समुदायहरुको परिचालन निरन्तर भइरहने बताइएको छ । चितुवा नियन्त्रणका लागि सबै संयन्त्रको परिचालन गरिएको हुँदा स्थानीय बासिन्दालाई त्रसित, आतंकित नहुन र समस्य समाधानका लागि आवश्यक सहयोग गर्न जिल्ला प्रशासन कार्यालय तनहुँले अपिल गरेको छ ।

यो पनि पढ्नुहोस :

तनहुँ: भानु नगरपालिकाको ढल्केबरमा चितुवाको आक्रमणबाट १० वर्षिय बालकको मृत्यु

तनहुँको भानु नगरपालिकामा चितुवा आतंक: बस्तीमै पसेर मानिसको ज्यान लिने चितुवा नियन्त्रण गर्न प्रहरी परिचालन

चितुवाको आक्रमणबाट तनहुँको जोखानीकी ४ वर्षिया बालिकाको मृत्यु

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ